काठमाडौँ–तराई मधेस फास्टट्रयाकको भौतिक प्रगति ३८.२६ र वित्तीय प्रगति ३९.८४ प्रतिशत पुगेको छ
काठमाडौँ
ललितपुरको खोकनामा जग्गाबाट फास्टट्रयाक निर्माणको काम सुरु गर्न अझैं बाटो खुल्न नसकेको तथ्य सार्वजनिक भएको छ । नेपाली सेनाको २६२औँ स्थापना दिवसका अवसरमा आज राजधानीमा आयोजित पत्रकार सम्मेलनमा दिइएको जानकारी अनुसार विवाद अझै टुङ्गिदा काम सुरु हुन नसकेको बताइएको छ ।
आयोजना प्रमुख कमलविक्रम शाहले राजधानीबाट तराई जोड्ने छोटो दूरीको उक्त आयोजना सम्पन्न भएपछि तराईबाट काठमाडौँ ल्याउन सामानको ढुवानी लागत घट्ने मात्र नभई मुलुकको समग्र आर्थिक विकासमा कायापलट हुने अपेक्षासहित आयोजना प्रारम्भ गरिएको बताएका छन् । उक्त आयोजना नेपाली सेनाले आगामी २०८३ चैत मसान्तसम्ममा सम्पन्न गर्ने लक्ष्य लिएको छ ।
राष्ट्रिय गौरवका आयोजनामध्ये सर्वाधिक महत्व बोकेको काठमाडौँ–तराई मधेस फास्टट्रयाकको भौतिक प्रगति ३८.२६ र वित्तीय प्रगति ३९.८४ प्रतिशत पुगेको छ ।
नेपाली सेनाको व्यवस्थापनमा अघि बढिरहेको यस आयोजनाको कुल ७०.९७७ किमी दूरीको उक्त आयोजनाअन्तर्गत रहेका सात सुरुङमध्ये दुईवटा ‘ब्रेक थ्रू’ भइसकेका र दुईवटा निर्माणाधीन रहेको जानकारी दिइयो ।
अन्य तीनवटा सुरुङको डिजाइन तथा पूर्वतयारीका कार्य भइरहेको आयोजना प्रमुख शाहले जानकारी दिएका छन् । विभिन्न कारणले उक्त आयोजनाको भौतिक प्रगति अपेक्षाअनुसार नभए पनि लक्ष्यअनुसार कार्य सम्पन्न गर्न कोसिस भइरहेको उनले बताएका छन् ।
यसैबीच मुलुकमा सुरक्षा, रक्षा तथा प्रतिरक्षासम्बन्धी विषयमा अध्ययन गराउने उद्देश्यका साथ निर्माण सुरु गरिएको प्रतिरक्षा विश्वविद्यालयको हालसम्मको भौतिक प्रगति ३०.५२ र वितीय प्रगति २५.७५ प्रतिशत रहेको सो अवसरमा जानकारी दिइयो ।








प्रतिक्रिया