२३ मंसिर २०८२, सोमबार | Mon Dec 8 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मनोरन्जन


‘मायावी’ समिक्षा : पुरानै शैली पछ्याएको एउटा कमजोर चलचित्र



चापागाँउ
अभिनेता पल शाहका फ्यानहरुका लागि खुशीको खबर– बुधबारबाट उनको चलचित्र ‘मायावी’ प्रर्दशन सुरु भएको छ । त्रिकोणात्मक प्रेमकथामा आधारित चलचित्रमा अभिनेता शाहसँगै दिपिका प्रसाईंले अभिनय गरेकी छिन् ।
जयराम धामी अथात् जोय(पल शाह) साइकल चढेर डुल्छ । मन्दिरमा भजन गाउँछ । सानो पसलमा चिया बेच्ने अनि बाटोघाटोमा युवतीहरुलाई चुम्बन गर्दै हिड्ने जोय जव धनी डाक्टर युवती आर्यासँग भेट हुन्छ चलचित्रको कथा अघि बढ्छ ।
सवल पक्ष
पोखरा र वरपरका सुन्दर दृश्यहरुले चलचित्रको वजन थपेको छ । चलचित्रमा कमेडीलाई मसलाको रुपमा पस्किएको छ । जसले दर्शकलाई मनोरञ्जन दिएको छ । गीतहरुले कथा भन्न सहयोग गरेका छन् । भव्य सेटमा खिचिएका गीत र कविराज गहतराजको कोरियोग्राफीले दर्शकलाई गज्जवको मनोरञ्जन दिन सफल छ ।
दुर्वल पक्ष
चलचित्रको मेरुदण्ड कथासार हो । अभिनयशैली र प्रस्तुती अभिन्न अंग हुन् । तर चलचित्र मायावीका सबै पक्ष त्रृटीरहित छैनन् । निर्देशक दिवाकर भट्टराईले लेखेको कथा लर्बराएको छ । चलचित्रले के देखाउन खोजेको प्रष्ट छैन । पात्रहरुलाई चलचित्रमा सशक्त रुपमा उभ्याइएको छैन । पात्रहरुलाई दरिलो रुपमा बोक्ने कलाकारहरु भेटिन्न । पात्रहरुको चरित्रचित्रण पनि कमजोर छ ।

‘मायावी’ अभिनेता पल शाहको करियरको एउटा कमजोर चलचित्रको रुपमा दरिएको छ

पल शाह ‘जोय’ र दिपिका प्रसाई ‘आर्या’को वरिपरि चलचित्र घुमेको छ । जवकी उनीहरुकै अभिनयशिल्प कमजोर छ । बाँकी कलाकारहरुको भूमिका छोटो छोटो छ । उनीहरुले क्षमता देखाउने ठाँउ नै पाएका छैनन् । ठाँउ ठाँउमा कलाकारहरुले अभिनय गरिदिएको जस्तो भान छ ।
चलचित्र निर्देशकको मिडियम हो । चलचित्र बोकेर हिड्ने निर्देशक दिवाकर भट्टराईले नै हो । चलचित्रको निर्देशकीय पक्ष कमजोर छ ।
चलचित्रभर गीत हावी छ । तर प्रभावकारी छैन । धेरै ठाँउमा खाली ठाँउ भर्ने नियतले गीत राखेको महसुस हुन्छ । थोरै गीत मात्रै कथा भन्न सहयोगी छन् ।

कतिपय दृश्यहरुमा निर्देशकले पुरानो फिल्मी शैली पछ्याएको पाइन्छ । दुर्घटना हुँदा हिरोएन आईपुग्नु, हिरोएन पछ्याउदै हिरो अस्पताल धाउनुजस्ता सिनले चलचित्रमा पुरानो पाराको स्वाद भेटिन्छ ।
धेरै ठाँउमा संवाद हावी छ । चलचित्रको दृश्यभाषा पनि कमजोर छ । हेरेर, सुनेर र अनुभव गरेर चलचित्रमा डुव्न सकिन्न ।
चलचित्रमा स्क्रिनप्ले कमजोर छ । चलचित्र नौलो अनुभव गर्ने विषयबस्तु हो । तर मायावी हेरिरहँदा नौलो अनुभव हुन्न । टुक्रा टुक्रा सिनहरु जोडेर बनाएको एउटा सामान्न चलचित्र जस्तो लाग्छ ।
चलचित्रमा धेरै गीत छन् । गीतले दर्शकको ध्यान तान्न पनि सकेका छैनन् ।


चलचित्रको काष्टिङमै कमजोरी भएको अनुभव हुन्छ । मोटी हिरोएन दिपिका र दुव्लो हिरो पल शाह पर्दामा दिदीभाई जस्ता देखिन्छन् । करिष्मा र सुशील सिटौलाको जोडी पनि जमेको छैन । न त केमेष्ट्रि मिलेको छ ।
ठाँउ ठाँउमा दोहोरो अर्थलाग्ने संवाद छन् । चलचित्र चलाउन यस्तो संवादको सहारा लिएको भन्ने लाग्छ । चलचित्रमा थुप्रै भावुक दृश्य छन् । तर यी दृश्यले मन छुँदैन । आँशु झर्दैन ।
चलचित्रको अन्त्य दर्शकले कल्पना गरेभन्दा फरक छ । तर व्यावहारिक जीवनमा यस्ता घटना हुनै सक्दैन । यो अर्थमा चलचित्रको अन्त्य वाइयात छ । चलचित्र हेरिरहँदा कतिपय सिनहरुमा दर्शक सहमत हुन सक्दैनन् ।
चलचित्रभित्र ठाँउ ठाँउमा धेरै दृश्य छन् जुन बुझ्न कठीन हुन्छ । उदाहरणका लागि जोय आर्याका घरमा किन बस्न जान्छ?, किन विवाह मण्डपमा जोय ? यसलाई प्रष्ट रुपमा देखाइएको छैन ।
धेरै ठाँउमा चलचित्र हेर्दा अल्छी लाग्छ । मोवाइलमा आँखा डुलाउन मन लाग्छ । घडी हेर्न मन लाग्छ । ‘कति समय वित्यो’ भनेर ।


पल शाह
अभिनेता पल शाहले पुरानै अभिनयशैली पछ्याएका छन् । उनको संवाद, जीउडाल र हाउभाउले नयाँपनको अनुभव हुन्न । पल शाहको विषेश क्षमता चलचित्रमा देखिन्न ।
‘मायावी’ अभिनेता पल शाहको करियरको एउटा कमजोर चलचित्रको रुपमा दरिएको छ ।


दिपिका प्रसाई
मुख्य पात्रको रुपमा देखिएकी अभिनेत्री दिपिकाको अभिनय उल्येखनीय लाग्दैन । उनको मोटो शरिरले सुन्दरी हिरोएनको परिचय लुकाइदिएको भान हुन्छ । अभिनयशैली पनि पुरानै देखिन्छ ।


राजाराम पौडेल
रमाइलो भूमिकामा देखिएका राजाराम पौडेलले भने दर्शकको मन भुलाएका छन् । उनले ठाँउ ठाँउमा हँसाएका छन् ।
चलचित्रमा आयुष महर्जनको अभिनय ठिकै लाग्छ । उनको लुक्स र संवादशैली भने लाम्रो छ । कलाकारहरु लक्ष्मी गिरी र रवि डंगोलले पनि ठाँउ ठाँउमा रमाइलो पाराले हँसाएका छन् । प्रशान्त ताम्रकार ,सुशील सिटौला, करिष्मा श्रेष्ठलगायतको अभिनय औसत छ ।
प्रविधि
राजुविक्रम थापा सिनेमेट्रोग्राफी दमदार छ । चलचित्रभित्र पोखरालगायतको एरियल भ्यु सुन्दर ढंगबाट खिचिएको छ । हरेक सिनमा प्रकाश संयोजन पनि गज्जव छ । रिकेश गुरुङको पार्शसंगीत पनि मिठो सुनिन्छ । मनोरञ्जन श्रेष्ठको रंग संयोजनमा खोट लगाउने ठाँउ भेटिन्न । कविराज गहतराजको कोरियोग्राफी राम्रो छ ।
अन्तमा,
कमजोर कथाबस्तु, औसत पटकथा संवाद, सामान्य अभिनय र गलत काष्टका कारण चलचित्र मायावी औसत चलचित्रभन्दा माथि उठेको छैन । निर्देशक दिवाकर भट्टाईको पर्दामा कथा भन्ने शैली पुरानै पछ्याएका छन् । हलिउड र बलिउड चलचित्रको प्रभाव रहेको नेपाली सिनेमा बजारमा फेरि ‘मायावी’ परम्परागत चलचित्रकै रुपमा आएको छ ।
रजतपटमा अर्को एउटा चलचित्र मात्रै थपिएको छ । मायावीले चलचित्र क्षेत्रको गुणात्मक विकासका लागि कुनै योगदान गर्ने ठाँउ राखेको छैन ।
मायावीका लागि बलियो कथा, प्रष्ट भिजन र उत्कृष्ट कलाकारको कलात्मक प्रस्तुती जरुरी थियो । पटकथा र संवाद बलियो बनाउन पर्याप्त समय खर्चन आवश्यक थियो । दर्शकका लागि राम्रो चलचित्र निर्माण गर्न ठूलो बजेट, महँगा नाम चलेका कलाकार र हल्लाखल्ला होइन उत्कृष्ट कथाबस्तु, कलात्मक दृष्टिकोण र उत्कृष्ट कलाकार आवश्यक थियो ।

 

प्रकाशित मिति : १६ फाल्गुन २०८१, शुक्रबार  ८ : ४१ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।