नेपाली चलचित्र क्षेत्रमै सर्वाधिक बक्सअफिस कलेक्सन गरेर रेकर्ड बनाएको चलचित्र‘पूर्ण बहादुरको सारङ्गी’का निर्देशक सरोज पौडेलको निर्देशनमा अहिले चलचित्र ‘कोशेढुंगा’ छायाँकन भइरहेको छ ।
च्यासलस्थित सेटमा करिब एक हप्ता छायांकन गरेर स्याङ्जा पुगेको निर्माण समूहले चलचित्रको सम्पादन समेत सेटमै द्रुत गतिमा गरिरहेको छ ।
स्याङ्जाको स्थानीय तह, वडा र पालिकाबाट पाएको सहयोगले छायांकन सहज र प्रभावकारी भइरहेको चलचित्रका निर्माता बताउछन् ।
बहुचर्चित निर्देशक पौडेलको निर्देशनमा छायाँकन भइरहेको पछिल्लो चलचित्र ‘कोशेढुंगा’ कस्तो बन्ला भन्ने चासो चलचित्रकर्मीदेखि दर्शकसम्मलाई छ ।
चलचित्रका कार्यकारी निर्माता दिनेश खड्काले चलचित्रको कथा र छायांकनमा भइरहेको मेहनतले दर्शक निराश नहुनेमा आफू ढुक्क रहेको बताउछन् ।
“अहिले जुन हिसाबले काम भइरहेको छ यसबाट हामीले सोचेभन्दा राम्रो भइरहेको छ । ” खड्काले भने, “चलचित्रको अनलाइन सम्पादनको काम सेट मै भइरहेको छ, जसमा सबै कलाकार र प्रविधिकहरुको मेहेनत देख्दा दर्शकलाई केही खास हुनेछ भन्ने हामी सेटबाटै भन्न सक्छौँ ।”
पौडेलको निर्देशनमा बनेको “पूर्ण बहादुरको सारङ्गीले नेपाली बक्सअफिसमा करिब ४७ करोडको ऐतिहासिक व्यापार गरेको थियो । निर्देशक पौडेल भन्छन्, “दर्शकको माया र अपेक्षालाई बुझेर कोशेढुंगामा पनि त्यसअनुसारको मेहनत गरिरहेका छौँ । हामी कुनै पनि हालतमा दर्शकलाई निराश बनाउने छैनौं ।”
कार्यकारी निर्माता खड्काका अनुसार अबको एक सातामा सम्पूर्ण छायांकन सकिनेछ ।
स्याङ्जाको आधिखोला, त्रिवेणी र सिरुवारी क्षेत्रमा ‘कोशेढुंगा’को करिब एक महिनादेखि छायाकंन भइरहेको छ ।
नरदेवी फिल्मसको प्रस्तुति रहेको चलचित्र ‘कोशेढुंगा’मा अभिनेत्री सुरक्षा पन्त, आर्यन सिक्देल, ऋचा शर्मा, नीति शाह, प्रवीण खतिवडा, सरोज खनाल, विशाल पहाडी, लोकमणि सापकोटा, हिउवाला गौतम, सिर्जना अधिकारी, शेखर चापागाई, दिनेश काफ्ले, सिरु विष्ट, स्नेहा जोशी, सुबलमणि सापकोटा, सविता रेग्मीलगायतको अभिनय रहनेछ ।
चलचित्रको निर्मातामा प्रेविल कँडेल र किशोर अनुराग छन् । कार्यकारी निर्माता दिनेश खड्का हुन्
निर्माण टोलीले ‘कोशेढुंगा’लाई वि.सं. २०८२ मा प्रदर्शन गर्ने लक्ष्य राखेको छ । यद्यपि औपचारिक रिलिज मिति भने घोषणा गरिएको छैन ।








प्रतिक्रिया