२१ मंसिर २०८२, शनिबार | Sat Dec 6 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

उपत्यका


भक्तपुरमा वन मिचेर प्लटिंग गरेको भन्दै स्थानीयले मागे गुहार



 

भक्तपुर

भक्तपुरको सूर्यविनायक ९ कांक्राबारीमा वन मिचेर प्लटिंग सुरु गरेको भन्दै स्थानीयले विभिन्न निकायमा गुहार मागेका छन् ।
यस क्षेत्रमा क्षेत्रमा झण्डै तीन दर्जन डोजरहरु दिनरात चलाएर सार्वजनिक सम्पती मासेको भन्दै उनीहरुमाथि कारबाही नभएको भन्दै स्थानीयले विरोध गरेका हुन् ।

सूर्यविनायक नगरपालिका वडा नं ९ (साविक नंखेल गाविस वडा नं. ४ क र ख) काँक्रा बनस्थित घिसिङ डाँडामा रहेको निक भुजिकिक हाउजिङ् कम्पनीले सञ्चालन गरिरहेको छ ।

बनको क्षेत्र अतिक्रमण गरेर काम भइरहेको महिनौ विते पनि कसैले वास्ता नगरेको उनीहरुको दुखेसो छ ।

स्थानीय जनताले प्रयोग गर्दै आएको खानेपानीको मूल तथा पानी, पर्धेर, कोलो, बाटो पुर्नुका साथै खानेपानीको पाइपलाइन समेत क्षतविक्षत गरेर स्थानीयलाई खानेपानीबाट बञ्चित गरेको उनीहरुले बताए ।

उक्त कम्पनीले डोजर चलाउँदा परम्परादेखि रहँदै आएको खोल्साखोल्सी समेत पुरिएर पानीको निकास समेत थुनिएको हुँदा वर्षामा आउने भेल बाढीले स्थानीयको घरबारी समेत बगाउने खतरा बढ्दो छ । घिसिङ् टोलमा आयोजना सञ्चलान गर्दा घिसिङ् टोलभन्दा मुनि रहेको लामाटोल अति जोखिममा पर्न गएको छ ।

आयोजनाले स्थानीय जनताको सहमति विना जबरजस्ती व्यक्तिको जग्गा समेत खनेर व्यक्तिको बसोबास रहेको घरसमेत स्थानान्तरण गर्न बाध्य पारेको जनाइएको छ ।

वन क्षेत्रको जैविक विविधता, पर्यावरण र स्थानीय जनताको जीवनमा समेत गम्भीर असर पर्ने गरी सरकारी र सामुदायिक वन क्षेत्र अतिक्रमण गरेर निक भुजिकिक हाउजिङ कम्पनीले प्लटिङ्ग आयोजना सञ्चालन गरेको हुँदा सो आयोजना तत्काल रोक्का गरी वन–जंगल संरक्षण गर्न उनीहरुको माग रहेको छ ।

प्लटिङ्ग गरेर प्राकृतिक पर्यावरण बिगार्ने काममा संलग्न हाउजिङ् कम्पनीका डिल्ली बराइली, प्रविण कुस्मा र जग्गाधनी भनिने सुधिरकुमार अधिकारी र यसै स्थानका शंकर तामाङ र हाउजिङ्ग कम्पनीसँगको अवैध प्रतिवद्धतामा वन–जंगल अतिक्रमण गर्न सहमति दिने सबैलाई कारवाही गर्न उनीहरुले जिल्ला प्रशामशन कार्यालय भक्तपुर, जिल्ला वन, सूर्यविनायक नगरपालिका, वडा कार्यालयसमेतलाई ज्ञापनपत्र बुझाएका छन् ।

स्थानीयले प्लटिङ्ग रोक्न संघर्ष समिति पनि गठन गरेका छन् ।

संघर्ष समितिको अध्यक्षमा स्थानीय प्रेमबहादुर तामाङ रहेका छन् । उपाध्यक्षमा एकराज तामाङ, सचिवमा सुनिल तामाङ दोङ्ग रहेका छन् । सदस्यहरुमा बाबुराम लामा, बुद्ध लामा, शंकर लामा, ज्ञानबहादुर लामा, देवबहादुर तामाङ (लो), केशव तामाङ, सानो तामाङलगायतका रहेका छन् ।

प्लटिङ्ग स्थल अरनिको राजमार्ग अन्तर्गत भक्तपुरको साँंगा झोलुंगे पुलबाट सिधै पहाड माथिको जंगैलैजंगलको बाटो भएर दस १२ किलोमिटर माथि पर्दछ । यहाँंको पूरै क्षेत्र जंगलै जंगल रहेका छन् । साथै फाटफुट घरहरु पनि छन् ।
सरोकारवालाहरुले वेवास्ता गरेपछि उनीहरु आफैं आन्दोलनको तयारीमा जुटेका छन् । यहाँ तामांग वस्ती रहेको छ ।

 

प्रकाशित मिति : १६ बैशाख २०८२, मंगलबार  १० : ३६ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।