२१ मंसिर २०८२, शनिबार | Sun Dec 7 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मनोरन्जन


धरानमा चलचित्र’ ऊनको स्वीटर’ साँझमा र्‍याली



धरान
बिहीबार साँझ धरानमा साङ्गीतिक कार्यक्रम ’ऊनको स्वीटर साँझ’ सम्पन्न भएको छ ।
कार्यक्रमको लागि पाँचथरको फिदिम देखि धरान सम्मको २०० कि.मि. बाटोमा मोटरसाइकल र्‍यालीमार्फत दर्शकहरू सहभागी भए ।
धरान रङ्गशालामा आयोजित कार्यक्रममा ६ हजारभन्दा बढी दर्शकहरूको उपस्थिति रहेको आयोजकले जानकारी दिएको छ ।

कार्यक्रममा धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ, उपमेयर आइन्द्र विक्रम बेघा लगायत विशिष्ट व्यक्तित्वहरूको समेत उपस्थिति भए भने चलचित्रका प्रमुख कलाकारहरू विपिन कार्की, मिरुना मगर, विल्सन विक्रम राई, परीक्षा लिम्बू, एलेक्स पारस, निर्देशक नवीन चौहान, गायक सुजन चापागाईँ, गायिका तथा सङ्गीतकार झुमा लिम्बू, र गीतकार युवराज काफ्लेलाई नगरप्रमुख साम्पाङले स्वागत तथा सम्मान गरे ।

कार्यक्रममा चर्चित गायक सुजन चापागाईँ र उनको ‘द इन्फिनिटी ब्यान्ड’ले “लजाएर एक्लै किन”, “तिमी बिना तिमी हुनु”, “फूलथुङ्गे रानी”, “आँसुको भारी”, “गाला पुक्क”, “तीनपाते”, “मखमली” लगायतका चर्चित गीतहरू प्रस्तुत गरे । गायिका झुमा लिम्बूसँगको “काफ्ले” गीतले दर्शकहरूलाई विशेष रूपमा आकर्षित गर्‍यो ।

यस कार्यक्रममार्फत सङ्कलित मुनाफा धरान उपमहानगरपालिकाको श्रम संस्कृति अभियानलाई आर्थिक सहयोग स्वरूप हस्तान्तरण गरिने चलचित्रका निर्देशक नवीन चौहानले बताए । यसअघि पोखरा र काठमाडौंमा पनि ’ऊनको स्वीटर’ साँझको आयोजना गरिएको थियो ।

निर्देशक चौहानको पहिलो फिचर चलचित्र ‘ऊनको स्वीटर’ वैशाख २६ गतेदेखि विश्वव्यापी प्रदर्शनमा आउँदैछ ।
यसअघि ‘घुमी घुमी’, ‘देखेर तिमीलाई – तीनपाते’, ‘फूलथुङ्गे रानी’, ‘चन्द्रमा’ जस्ता साङ्गीतिक चलचित्रहरू निर्देशन गरेका चौहानले यस चलचित्रको लेखन पनि गरेका हुन् । चलचित्रको छायाङ्कन पाँचथर र नेपाल–भारत सिमाना फालेलुङमा गरिएको हो ।

आर्टमाण्डू प्रा.लि.ले निर्माण गरेको यस चलचित्रमा विपिन कार्की, मिरुना मगर, सुनिल पोखरेल, माओत्से गुरुङ, विल्सन विक्रम राई, प्रेम सुब्बा, एलेक्स पारस, परीक्षा लिम्बू, सुरज तमु, शारदा देवी सिलवाल, भावना खपाङ्गी मगरलगायत कलाकारहरूको अभिनय रहेको छ ।

सङ्गीततर्फ, सुजन चापागाईँ र झुमा लिम्बुले सङ्गीत निर्देशन गरेका छन् । यस चलचित्रका “फूल”, “मखमली”, र “काफ्ले” जस्ता गीतहरू तथा हालै सार्वजनिक ट्रेलर सामाजिक सञ्जालमा निकै लोकप्रिय भएका छन् ।

 

प्रकाशित मिति : १९ बैशाख २०८२, शुक्रबार  २ : २८ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।