काठमाडौँ
जसरी सानो ‘झिल्को’ ले ठूलो आगलागी निम्त्याउन सक्छ, त्यसरी नै डिजिटल कुलतको सानो लतले व्यक्ति, समाज र परिवारमा गम्भीर असर पार्न सक्छ ।
‘झिल्को’ चलचित्र यही यथार्थमा आधारित छ । निर्देशक यादव भट्टराईले बालबालिकामा बढ्दो डिजिटल कुलतको गम्भीर समस्यालाई चलचित्र ‘झिल्को’मार्फत उजागर गरेका छन् । आजभोलि खाना खानुभन्दा अगाडि मोबाइल चलाउने, अनलाइन गेम खेल्ने र युट्युबमा ‘भिडियो’हरू हेर्ने बानी बालबालिकाका लागि सामान्यजस्तै भइसकेको छ ।
चलचित्रमा यिनै विषयवस्तु र त्यसले पार्ने नकारात्मक असरलाई कलात्मक रूपमा प्रस्तुत गरिएको छ । यस चलचित्रमा आयुषी ढकाल, विशाल पोखरेल, वर्षा सिवाकोटी र सुनिल पोखरेलजस्ता कलाकारले सशक्त अभिनय गरेका छन्, जसले कथालाई जीवन्त बनाएको छ ।
अभिभावकहरूले पनि बालबालिकाको मोबाइल प्रयोगलाई सामान्य ठानेर बेवास्ता गर्दा भविष्यमा यसले कस्तो गम्भीर रूप लिन सक्छ भन्ने कुरा ‘झिल्को’ चलचित्रले चित्रण गरेको छ । चलचित्रमा एक पत्रकारको सुखी र खुसी परिवारको कथा छ, जहाँ उनको श्रीमती र छोरी छिन् । तर, यही सुखी परिवारमा डिजिटल कुलतको सानो ‘झिल्को’ कसरी सल्किन्छ र त्यसले कस्तो असर पुर्याउँछ भन्ने कुरालाई चलचित्रमा मार्मिक ढङ्गले प्रस्तुत गरिएको छ । यसले समयमै सचेत नभए परिवारमा आउन सक्ने सम्भावित खतरालाई उजागर गर्छ ।
“अहिले मैले आफूलाई डिजिटल कुलतबाट केही भए पनि बाहिर ल्याउन सकेको जस्तो लागेको छ । म आफैँले पनि पछिल्लो समय दैनिकीमा परिवर्तन ल्याएको छु”, अभिनेता पोखरेलले भने ।
अभिनयको सुरू समयमा अभिनेता पोखरेलले ‘जीवनचक्र’ जस्तो स्वास्थ्य विषयमा आधारित टेलिशृङ्खलामा काम गरे का थिए ।
कोभिड–१९ का कारण भएको बन्दबन्दीमा बालबालिकाले प्रविधिको सहायताले कक्षा लिए । ‘अनलाइन क्लास’का कारण धेरै बालबालिकासम्म मोबाइल पुग्यो । तर, त्यसबाट फिर्ता ल्याउन वा मोबाइलको लत छुटाउन अभिभावकले ध्यान दिएनन् । जसकारण त्यो विस्तारै लतमा परिणत भएको बुझाई अभिनेता पोखरेलले सुनाए ।
मिडिया फर कल्चर प्रालिको निर्माणमा तयार भएको चलचित्र ‘झिल्को’ वैशाख १९ गतेबाट देशभर प्रदर्शन भइरहेको छ । उक्त चलचित्रमा निर्देशक भट्टराईसँगै अरूणदेव जोशी र देव व्रतले कथा लेखनको काम गरेका छन् ।
नेपाली समाजका गम्भीर समस्यालाई केन्द्रमा राखेर निर्देशक यादव भट्टराईले यसअगाडि ‘झोला’ र ‘भोर’ चलचित्र तयार गरिसकेका छन् । नेपाली समाजमा एक समय विद्यमान अमानवीय सति प्रथालाई केन्द्रमा राखेर तयार भएको ‘झोला’ र मधेस क्षेत्रको सामाजिक यथार्थमा आधारित कथामा तयार गरिएको ‘भोर’ले निर्देशक भट्टराईलाई फरक निर्देशकका रूपमा चित्रण गरिसकेको छ ।








प्रतिक्रिया