२१ मंसिर २०८२, शनिबार | Sat Dec 6 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मनोरन्जन


क्रिस्चियन प्रचार गीतमा कलाकार सुरवीर पण्डितले माफि मागे, भने,‘हामीलाई अज्ञानी सम्झेर क्षमा दिनुस्’



काठमाडौं । वरिष्ठ कलाकार सुरवीर पण्डितले एक क्रिस्चियन प्रचार गीतमा गरेको अभिनयलाई लिएर क्षमायाचना गरेका छन् । अबदेखि आफ्नै धर्मसंस्कार र संस्कृतिको जगेर्नामा लाग्ने र देशले गर्व सक्ने काम गर्ने उनको प्रतिबद्धता छ ।

हालै सुरवीर र अर्का वरिष्ठ कलाकार रामचन्द्र अधिकारीले अभिनय गरेको एउटा क्रिस्चियन प्रचार गीतलाई लिएर विवाद उत्पन्न भएको थियो । यो गीतको भिडिओ धार्मिक विद्वेष फैलाउने खालको भएको भन्दै यसमा अभिनय गरेकाप्रति कतिपयले सुरवीर र रामचन्द्रमाथि गालीगलौज गरिरहेका थिए ।

मेरी बास्सैको सुटिङ स्थलबाट एउटा भिडिओ सन्देश जारी गर्दै सुरवीरले माफी मागेका हुन् । आफूसँगै रामचन्द्रलाई पनि क्षमा दिन उनको आग्रह छ ।

क्षमायाचना सन्देश यस्तो छः

आदरणीय आमाबुवा, दाजुभाइ, दिदीबहिनी सम्पूर्णमा मेरो कोटी कोटी प्रणाम । केही दिन अगाडि मैले दुईवटा क्रिस्चियन गीत खेलेको थिएँ । हाम्रा अग्रजले भन्नुहुन्थ्यो, कलाकार बन्न चाहन्छौ भने तिमीले यो गर्दिनँ, त्यो गर्दिन भनेर भन्नु हुँदैन, जे अगाडि आउँछ त्यसलाई नै प्रसाद सम्झेर ग्रहण गर्नुपर्छ । त्यही अनुसार अगाडि बढियो । क्रिस्चियन गीत गरियो, तर त्यसबाट धेरै गुरुबा, गुरुआमा, गुरु–पुरोहित, बुवाआमा, दाजुभाइ दिदीबहिनीले मन दुखाउनुभएको छ ।

हाम्रो उद्देश्य कसैको पनि मन दुखाउने थिएन । सिर्फ कलाकारिता गर्नु थियो । म एकदमै हृदयदेखि क्षमा चाहन्छु । आउँदो दिनमा हजुरहरूको आशीर्वाद लिएर हजुरहरूले भनेजस्तै हाम्रो धर्मसंस्कार, संस्कृतिको जगेर्ना गर्दै देशले गर्व गर्न सक्ने काम गर्न सकुँ ।

हजुरहरूले मलाई आशीर्वाद दिनुहोला । काजी सा’ब (रामचन्द्र अधिकारी) पाँचथरमा सुटिङमा हुनुहुन्छ । उहाँलाई पनि क्षमा गरिदिनुहोला है हजुर । यो हामीलाई अज्ञानी सम्झेर क्षमा गरिदिनु होला हजुर । अब हामी यस्तो गर्दैनौँ । जस होस । धेरै धेरै धन्यवाद ।

प्रकाशित मिति : २८ बैशाख २०८२, आइतबार  १२ : ०३ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।