काठमाडौं
चर्चित निर्देशक कृषा चौलागाईको निर्देशनमा निर्माणको तयारीमा रहेको चलचित्र ‘जहाजैमा’मा जापानीज अभिनेत्री रजेल इचिमियाले काम गर्ने पक्का भएको छ ।
केही समयअघि जापान पुगेर निर्देशक चौलागाईले चलचित्रमा काम गर्ने तथ्य सबै सामु सार्वजनिक गरेकी थिइन् । कृषाले जापान पुगेको समयमा रजेलसँगको तस्वीर शेयर गरेपनि उनको बिषयमा केही पनि उल्लेख गरेकी थिइनन् ।
सार्वजनिक पोष्टरमा सफा हिउँले भरिएको दृश्य, पारदर्शी छातामुनी उभिएकी रजेलको शालिनता र सुन्दरता झल्किएको छ ।
निर्देशक चौलागाइले यसपटक फिल्ममा जापानकी नायिकालाई नेपाली कथामा मिसाउनु चुनौतीपुर्ण भएपनि रोचक हुने बताइन् । यो चलचित्रलाई यूएनए प्रोडक्सनको व्यानरमा उज्ज्वल गुरागाँइले निर्माण गर्दैछन् । चलचित्रले नेपाल–जापानको सम्बन्ध, प्रेम, सपना र संघर्षको कथा भन्ने उज्ज्वलको भनाई छ ।
चलचित्रमा जापानीज अभिनेत्री हुने पक्का भएपनि अभिनेता कुन देशका हुनेछन् भन्ने खुलाइएको छैन । निर्देशक चौलागाइले हाल अभिनेता फाइनल गर्ने प्रक्रियामा नै आफूहरु रहेको बताइन् ।
रजेल जापनमा सक्रिय रुपमा काम गरिरहेकी अभिनेत्री तथा मोडल हुन् । उनलाई नेपाली चलचित्रमा भित्राउनु आफैमा नयाँपन हो । यसले नेपाली चलचित्रको अन्तरराष्ट्रिय छविलाई थप बलियो बनाउने विश्वास गरिएको छ ।
यो चलचित्रलाई सन् २०२६ मा प्रर्दशन गर्ने निर्माण पक्षको तयारी छ ।








प्रतिक्रिया