२१ मंसिर २०८२, शनिबार | Sat Dec 6 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मनोरन्जन


चलचित्र फ्लप भएपछि निर्मल शर्माद्वारा ६६ प्रतिशत पारिश्रमिक त्याग



काठमाडौं । अभिनेता तथा हास्यकलाकार निर्मल शर्माले हालै प्रदर्शनमा आएको चलचित्र असफल भएपछि आफूले लिनुपर्ने ६६ प्रतिशत पारिश्रमिक नलिने घोषणा गरेका छन्। ‘गैंडा’ उपनामले चिनिने शर्माले सामाजिक सञ्जालमार्फत एक स्टाटस लेख्दै आफूले पारिश्रमिक त्यागेको सार्वजनिक गरेका हुन्।

फेसबुकमार्फत उनले लेखेका छन्, “म कलाकारिता रुचाउने सामान्य कलाकार, चलचित्र क्षेत्रप्रतिको अगाध प्रेम र निर्माता पहिले सुरक्षित हुनुपर्छ अनि मात्र यो क्षेत्र चलायमान हुन्छ भन्ने मान्यता राख्छु। … सम्झौता पत्र हातमै छ। लिन बाँकी ६६ प्रतिशत पारिश्रमिक नलिने निर्णय गरेँ। मनले मानेन। सेभ प्रड्युसर्स फस्ट।”

शर्माले लामो समयदेखि चलचित्र उद्योगको दिगोपनका लागि ‘पहिले निर्माता जोगाउनुपर्छ’ भन्ने अभियान चलाउँदै आएका छन्। हालै सार्वजनिक स्टाटस पनि त्यही धारणा अनुरूप आएको हो। चलचित्र हिट नहुँदा सारा जोखिम निर्माता र लगानीकर्तामाथि पर्न गएको भन्दै उनले आफ्नो नैतिक जिम्मेवारी स्वीकार गर्दै पारिश्रमिक त्याग गरेको बताएका हुन्।

चलचित्रकर्मीहरूको समर्थन

निर्मल शर्माको यस घोषणापछि चलचित्र क्षेत्रका थुप्रै अग्रज तथा समकालीन व्यक्तित्वहरूले समर्थन जनाएका छन्। अभिनेता तथा निर्माता दीपकराज गिरी, निर्माता रोहित अधिकारी, निर्देशक दीपेन्द्र के. खनाल लगायतले शर्माको निर्णयको प्रशंसा गरेका छन्।

दीपकराज गिरीले टिप्पणी गर्दै लेखेका छन्, “एकदम राम्रो हो। तर यतिका फिल्म असफल हूदाँ त बर्षको १५० फिल्म बन्दैछ, त्यो माथि कलाकारले असफल फिल्मको पैसा यसरी नै फिर्ता दिने हो भने त बर्षको ३०० वटा फिल्म बन्ला नि फेरि।”

चर्चामा कलाकारको पारिश्रमिक

पछिल्लो समय चलचित्र उद्योगमा कलाकारले प्रति फिल्म ५० लाख रुपैयाँभन्दा बढी पारिश्रमिक लिने चर्चा चलिरहेको छ। तर व्यापार कमजोर हुँदा पनि कलाकारले पारिश्रमिक फिर्ता नगर्ने प्रवृत्तिका कारण आलोचना हुँदै आएको थियो। यही पृष्ठभूमिमा निर्मल शर्माको घोषणालाई एउटा सकारात्मक सन्देशको रूपमा हेरिएको छ।

चलचित्र सफल होस् वा असफल, सम्पूर्ण बोझ निर्माता र लगानीकर्ताले व्यहोर्नुपर्ने अवस्था परिवर्तन गर्न, शर्माको पारिश्रमिक त्यागलाई उदाहरणीय निर्णयका रूपमा हेरिएको छ।

 

प्रकाशित मिति : १२ असार २०८२, बिहिबार  ४ : ४७ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।