३ चैत्र २०८२, मंगलबार | Tue Mar 17 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मनोरन्जन


आमाको नामबाट नागरिकता पाउने व्यवस्था लागू भएपछि रेखा थापाले गृहमन्त्रीलाई दिइन् धन्यवाद



काठमाडौं । नायिका रेखा थापाले आमाको नामबाट नागरिकता पाउने कानुनी मार्ग खुलेकोमा गृहमन्त्री रमेश लेखकलाई धन्यवाद दिएकी छिन्। गृहमन्त्री निवासमै पुगेकी थापाले यो निर्णय महिला अधिकार र समानताको दिशामा ऐतिहासिक उपलब्धि भएको बताउँदै गृह मन्त्रालयको प्रयासको खुलेर प्रशंसा गरेकी हुन्।

थापाले सामाजिक सञ्जालमार्फत भनिन्, “अब आमाको नामबाटै नागरिकता लिन सकिने व्यवस्था गरिएको छ, जुन नेपाली महिलाका लागि ऐतिहासिक उपलब्धि हो। नेपाल सरकार र गृहमन्त्री लेखकको यो निर्णय नागरिकता नपाएका हजारौं नेपालीका लागि आशाको किरण बनेको छ।”

रेखाले विगतमा बाबुको नाम नहुँदा नागरिकता नपाउने परिपाटीले धेरै नेपालीको अधिकार कुण्ठित भएको उल्लेख गरिन्। “आमाले जन्म दिइ पालनपोषण गरे पनि नागरिकता लिन बाबुको नाम अनिवार्य पर्ने व्यवस्था अन्यायपूर्ण थियो,” उनले भनिन्।

हालै गृह मन्त्रालयले जारी गरेको नयाँ कार्यविधिमार्फत आमाको नामबाट पनि वंशज प्रमाणित गरी नागरिकता दिन सकिने व्यवस्था लागू भएको छ। यसले विशेषतः एकल महिला, वैवाहिक विवादमा परेका परिवार र अभिभावकविहीन अवस्थामा रहेका नागरिकलाई राहत दिनेछ।

रेखा थापाले यस निर्णयलाई नारी सशक्तिकरणको दिशामा महत्वपूर्ण कदम भन्दै यसलाई संस्थागत गर्नुपर्नेमा जोड दिएकी छिन्।

 

प्रकाशित मिति : १७ असार २०८२, मंगलबार  ३ : ०० बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।