२० मंसिर २०८२, शुक्रबार | Sat Dec 6 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

उपत्यका


धरहराले एक बर्ष नपुग्दै कमायो झण्डै पाँच करोड 



काठमाडौँ
निर्माण सम्पन्नपछि सञ्चालनमा आएको ऐतिहासिक धरहराले एक बर्ष नपुग्दै झण्डै पाँच करोड रुपैयाँ कमाएको छ ।
ऐतहासिक धरहराबाट रु चार करोड  ८३ लाखभन्दा  बढी राजस्व सङ्कलन गरिएको छ ।
गत मङ्सिर ९ गतेदेखि  शुल्कसहित सञ्चालनमा आएको धरहराबाट यही असार २४ गतेसम्ममा रु चार करोड ८३ लाख ६५ हजार ५ सय राजस्व सङ्कलन भएको अन्तरिम धरहरा सञ्चालन तथा व्यवस्थापन एकाइ सुन्धाराका प्रमुख महेश राईले जानकारी दिएका छन् ।
व्यवस्थापन एकाइ सुन्धाराका प्रमुख राईका अनुसार यस अवधिमा दुई लाख ६२ हजार ५५५ जनाले धरहराको अवलोकन गरिएको हो ।  जसमा एक हजार ५४९ जना विदेशी अवलोकनकर्ता रहेका छन् ।  हप्ताको एक दिन बुधबार बन्द हुने बाहेक अन्य दिन दैनिक करिब एक हजार २ सय जनाले धरहरा चढ्ने गरेका छन् ।
“बिहान १०ः३० बजेदेखि साँझ ५ बजेसम्म धरहरा चढ्ने व्यवस्था गरिएको छ । छोटो समयमा नागरिकको उल्लेख्य उपस्थिति देखियो । समय अभावका कारण यहाँ आएका सबैलाई टिकटको व्यवस्था गरी धरहरा अवलोकनको व्यवस्था गर्न सकिएको छैन”, व्यवस्थापन एकाइ प्रमुख राईले भने,“बिहानदेखि साँझसम्म धरहरा चढ्ने व्यवस्था गर्नसक्ने हो भने दैनिक एक हजार ५ सय बढीले धरहरा चढ्ने अनुमान छ ।”
धरहरा चढ्न प्रतिव्यक्ति रु २ सय शुल्क तोकिएको छ । विद्यार्थी, ज्येष्ठ नागरिक, बालबालिका अपाङ्गता भएका व्यक्तिहरूले ५० प्रतिशत छुटमा धरहरा चढ्न पाउने व्यवस्था छ । सार्क राष्ट्रबाट आउने पर्यटकलाई प्रतिव्यक्ति रु ५ सय र सार्कबाहेक राष्ट्रबाट आउने पर्यटकका लागि  प्रतिव्यक्ति रु १ हजार शुल्क तोकिएको छ ।
विशिष्ट संरचना सञ्चालन तथा व्यवस्थापन विकास समिति (गठन) आदेश, २०८१ बमोजिम शुल्क लिई गत मङ्सिर ९ देखि धरहरा सञ्चालनमा आएको हो । त्यसअघि मङ्सिर ६ गते बसेको मन्त्रिपरिषद् बैठकले धरहरा चढ्ने शुल्क स्वीकृत गरेको थियो ।
यहाँ पार्किङ गर्दा चार पाङ्ग्रेका लागि प्रतिघण्टा रु २० र दुई पाङ्ग्रेलाई रु १० तोकिएको छ । धरहरा परिसरमा प्रवेशका लागि रु ५० निर्धारण गरिएको बताइएको छ । धरहरा स्तम्भमा राष्ट्रिय महत्वका विज्ञापन गर्न प्रतिघण्टा रु पाँच हजार तोकिएको छ । यस्तै, व्यावसायिक भिडियो छायाङ्कनका लागि प्रतिघण्टा रु पाँच हजार र फोटोग्राफीका लागि प्रतिघण्टा रु एक हजार तोकिएको छ ।

प्रकाशित मिति : २७ असार २०८२, शुक्रबार  १ : १० बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।