२० मंसिर २०८२, शुक्रबार | Sat Dec 6 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मनोरन्जन


अभिनेत्री मनिषा कोइरालालाई बेलायतमा सम्मान



बेलायत
अभिनेत्री मनिषा कोइराला बेलायती संसद्को माथिल्लो सदन ‘हाउस अफ लड्र्स’मा आयोजित एक समारोहमा सम्मानित भएकी छिन् । महिला सशक्तीकरणका विषयमा चलचित्र र अन्य माध्यमबाट निर्वाह गरेको महत्त्वपूर्ण भूमिकाका लागि कोइराला सम्मानित भएकी हुन् ।

सो सम्मान प्रदान गर्दै हाउस अफ लर्डस्का सदस्य लर्डस् रेमि रेन्जर सिविईले चलचित्रको माध्यमबाट महिलाहरुको सशक्तीकरण र महिला स्वास्थ्य, पुर्नजीवन र क्यान्सर पीडितहरुको सहयोगमा निर्वाह गरेको भूमिकाका लागि सम्मान प्रदान गरिएको बताइन् ।

सम्मानित भएपछि कोइरालाले खुसी व्यक्त गर्दै महिला सशक्तीकरणमा काम गर्न प्रेरणा मिलेको धारणा राखेकी छिन् । महिलाको सशक्तीकरणबारे गरिमामय स्थलमा उपस्थित भएर बोल्ने अवसर दिएकोमा र दक्षिण एशियाली महिलाको अवस्थाबारे सुनेर साथ दिएकोमा कोइरालाले धन्यवाद दिइन् । “यो क्षण म जीवनभर सम्झिरहने छु”, अभिनेत्री कोइरालाले भनिन्, “यो साँच्चिकै सौभाग्यको कुरा हो, म परम्परा, नेतृत्व र प्रगतिको ठाउँ हाउस अफ लड्र्समा उभिरहेको छु र दक्षिण एसियामा महिला सशक्तीकरणको विषयमा बोल्न पाउँदा खुसी छु ।”

बङ्गलादेश, भारत, पाकिस्तान र नेपाललगायतका ग्रामीण भेगमा अनेक कष्ट सहेर बाचिँरहेका महिलाहरु पीडित नभइ योद्धा भएको उनको भनाइ छ ।
दक्षिण एशियाभर नेपालका पहाडदेखि ढाकाका सडक र भारत, पाकिस्तानको ग्रामीण केन्द्रविन्दुसम्म महिलाहरूले विशाल चुनौतीको सामना गरिरहेको उनले उल्लेख गरिन् । शिक्षामा सीमित पहुँच, लैङ्गिक पूर्वाग्रह, बालविवाह, स्वास्थ्य सेवाको अभाव र आर्थिक निर्भरता अझै धेरैका लागि वास्तविकता भएको स्मरण गरेकी छिन् ।

आयोजक पानस गोर्खा रेष्टुरेन्टका सञ्चालक तथा खाद्य अभियन्ता सुजन कटवाल एमबिईले हाउस अफ लर्डस्मा सम्मानित हुने कोइराला सम्भवतः प्रथम नेपाली महिला भएको जानकारी दिएका छन् । दक्षिण एसियालगायत विश्वभरका महिलाको सशक्तीकरणमा उनले पुर्‍याउनु भएको योगदानलाई सम्मानित गर्ने यो कार्यक्रममा आयोजकको भूमिका निर्वाह गर्न पाएकोमा खुसी उनले खुशी व्यक्त गरे ।

कार्यक्रममा बेलायती सांसद, पूर्व सांसदहरु तथा दक्षिण एसियामा महिला सशक्तीकरणका क्षेत्रमा सक्रिय महिला सहभागी थिए ।

प्रकाशित मिति : ८ श्रावण २०८२, बुधबार  ९ : ३९ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।