काठमाडौं । दैलेखको चामुण्डा बिन्द्रासैनी नगरपालिका-८ मा तीजको नाच हेर्न गएकी १२ वर्षीया बालिका बलात्कृत भएकी छिन्। साउन २२ गते साँझ तीजको नाच हेर्न गएकी बालिकामाथि बलात्कार गरेको अभियोगमा प्रहरीले २ युवालाई पक्राउ गरेको छ।
तिजको नाच हेरेर फर्किँदै गर्दा गाउँकै दुई युवाले लखेटी–लखेटी करणी गरेको घटना सार्वजनिक भएपछि प्रहरीले चामुण्डाबिन्द्रासैनी–८ का २३ वर्षीय गोविन्दबहादुर शाही र २५ वर्षीय खगेन्द्र भण्डारीलाई पक्राउ गरेको छ।
साथीहरू भाग्न सफल भएपनि ती बालिकालाई ढुंगाले हानेर घाइते बनाइ सामूहिक बलात्कार गरी बेहोस अवस्थामा छाडिएको प्रहरीले बताएको छ। प्रहरीका अनुसार साउन २२ गते राति उनीहरू सँगै तीजको नाच हेरिरहेका थिए। नाच हेरेर एकै उमेरका ४/५ जना किशोरीको समूह घर फर्किँदै थियो। त्यही समयमा गोविन्द र खगेन्द्रले उनीहरूलाई पिछा गरेका थिए। पिछा गरेको थाहा पाएपछि किशोरीहरू भागे। त्यहीमध्येकी एक किशोरी भाग्ने क्रममा लडेपछि गोविन्द र खगेन्द्रले उनलाई पालैपालो बलात्कार गरेको दैलेख प्रहरीले जनाएको छ।
पीडितको दाहिने हात मर्किएको र गुप्ताङ्गमा चोट लागेको चिकित्सकले जनाएका छन्। दैलेख अस्पतालमा उपचाररत् ती बालिकाको अवस्था सामान्य बन्दै गएको प्रहरीको भनाइ छ।
पीडित परिवारको जाहेरीका आधारमा दुवै युवकलाई नियन्त्रणमा लिइएको र जबरजस्ती करणी अभियोगमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।








प्रतिक्रिया