ललितखबर
पश्चिम नेपालमा एउटा अनौठो प्रथा छ, देउकी । वालिकालाई मन्दिरमा भाकल गरेर चढाउने चलन नै देउकी हो । केही बर्षअघिसम्म खुलमखुल्ला चलनमा रहेको यो प्रथा पछिल्लो समय निर्मूल भएको भनिए पनि लुकीछिपी ठाँउ ठाँउमा प्रचलनमा रहेको बताइन्छ ।
यस्तै कुप्रथाको कथालाई बुनेर निर्देशक ओम प्रतिकले आफ्नै निर्देशनमा चलचित्र ‘मोहर’ बनाएका छन् । पछिल्लो शुक्रबारबाट देशभरका चलचित्र भवनहरुमा यो चलचित्र प्रर्दशन सुरु भएको छ ।
निर्देशकीय पक्ष
निर्देशक ओम प्रतिकको निर्देशन भन्दा पनि कथा सशक्त बनाउन मेहनत गरेका छन् । उनको कथा भन्ने शैली भने पुरानो लाग्छ तर सामान्य रुपमा कथा उठान गरेर एकपछि अर्को रहस्य खोल्दै जाँदा चलचित्र रमाइलो लाग्छ ।
निर्देशकको क्षमता दृश्य साक्षरताको स्तरबाट मापन गर्नु पर्ने हुन्छ । चलचित्र डिरेक्टर मिडियममा निर्माण गरिन्छ । चलचित्रभित्र संगीत, पार्शंसंगीत (विजिएम) द्वन्द्व,क्यामेरा एंगललगायत पोष्ट प्रोडक्सन निर्देशकको दृष्टिकोण झल्केको हुन्छ । तर निर्देशक प्रतिकको पुरानो निर्देशकीय शैली झल्किन्छ ।
सवल पक्ष
नेपाली चलचित्र क्षेत्रमा सधै हिरो र हिरोइनको चर्चा गरिन्छ । कतिपय चलचित्रमा निर्देशकको मेहनतको पनि चर्चा गरेको पाइन्छ । तर चलचित्रको कथा, पटकथा र संवादबारे खासै चासो हुन्न । जव चलचित्र पर्दामा पुग्छ अनि चलचित्रको कथा र पटकथा राम्रो नराम्रो भएको बारे चासो राखिन्छ ।
मोहरमा राम्रो केही छ भने त्यो कथा पटकथा र संवाद नै हो । निर्देशक प्रतिकले चलचित्रको कथा लेख्न मेहनत गरेका छन् । चलचित्रको संवादले ठाँउ ठाँउमा दर्शकको मन छुन सफल छ । नेपाली माटोका संस्कृतीसँगै हुर्केको कुप्रथाको मौलिक कथालाई सिनेम्याट्रिक दृष्किोणबाट पर्दामा ल्याइएको छ । जसबाट दर्शकले चलचित्रभित्र मौलिक स्वाद पाउछन् ।
कथामा ओम प्रतिकले रोचक घुम्तिहरु श्रृजना गरेर दर्शकको रुचि बढाएका छन् । सामान्य रुपमा कथालाई अघि बढाउदै थुप्रै रहस्यहरु एकपछि अर्को गर्दै खुलाइएको छ । यसै कारण दर्शकलाई हलमा बसेर हेर्न रचि जगाँउछ ।
कमजोरी
चलचित्र कलाकारहरुको अभिनयमा कारण कमजोर बनेको छ । पल शाहको अभिनय चलचित्रमा सामान्य छ । वेनिशाको पनि दमदार प्रस्तुती छ भन्न सकिने ठाँउ छैन । नीति शाहले अघिल्ला चलचित्रभन्दा अभिनयमा केही सुधार गरे पनि साखै बलियो अभिनय गर्न सकिरहेकी छैनन् ।
कविराज गहतराज र रामजी लामिछानेले वेनिशा,पल नीतिलाई राम्रोसँग नचाउन सकेका छैनन् । कुमार महर्जनको एक्सनमा नयाँ केही छैन । सबै पुराना एक्सन स्टेपहरु देखिन्छ ।
प्रविधि
चलचित्र मोहरमा निर्माण पक्षले उच्च प्रविधि प्रयोग गरेको पाइदैन ।
पलले आफूलाई फरक देखाउन न अभिनयशैली फेरेका छन् । न त अमृत मरहठ्ठाले भेषभूसामार्फत उनलाई नयाँ रुप नै दिएका छन् । समिर मियाको भिएफएक्सको कही कतै प्रभाव अनुभव गर्न पाइन्न । रेनिस फागोले फुटेजमा सामान्य रंग भरेका छन् । दिपेन बस्यालको क्यामेरा,भुपेन्द्र अधिकारीको सम्पादन पनि सामान्य देखिन्छ ।
चलचित्रको पार्श संगीतको खास प्रभाव छैन ।

पल शाह ‘चन्द्र’
चलचित्रमा पल शाह हिरो शैलीलाई पछ्याएका छन् । उनले आफ्नो अभिनय शिल्पमा फरक बनाउन मेहनत गरेका छैनन । सबै चलचित्रमा उस्तै पात्रमा देखिनु र संवादशैली उस्तै हुनुका कारण पल शाहको क्षमता देखिदैन । ट्रेलर सार्वजनिक भएपछि अभिनेता पल शाह दोहोरो भूमिकामा रहेको धेरैको आशंका थियो । तर उनको सस्पेन्स क्यारेक्टरमा देखिनु चलचित्रका लागि सुखद पक्ष देखिन्छ । पलले नृत्य र द्वन्द्वका दृश्यमा भने मेहनत गरेको भान हुन्छ ।

नीति शाह ‘सिन्दुरी’
छोटो तर विशेष किसिमको भूमिकामा सिन्दुरी पात्रको रुपमा नीति शाहको अभिनय खुलेको छैन । उनी चरित्रमा डुव्नै नसकेको अनुभव हुन्छ । हरेक चरित्रमा उस्तै हाँसो र भाउभाउले उनको कलात्मक क्षमता देखिन्न । चलचित्र हेरिरहदा लाग्छ नीति शाह नक्कली बनेर अभिनय गरिरहेकी छिन् । दुःखका दृश्यहरुमा उनको अभिनय कत्ति पनि सुवाएको छैन । यद्यपी पहिलेका चलचित्रभन्दा तुलनात्मक सुधार देखिन्छ । चलचित्रमा सशक्त भूमिकाका कारण अभिनय गौण बनाएको छ ।

बेनिशा हमाल ‘यशोदा’
रहस्यमय इन्ट्रीसँगै बलियो भूमिकामा रहेकी अभिनेत्री वेनिशा हमालको अभिनयमा पनि दम छैन । चलचित्रमा पात्रमा डुव्यु र चरित्रमा भिज्नु उनका लागि चुनौती रहेको पर्दामा प्रष्ट देखिन्छ । छायांकल स्थलमा जानुअघि बेनिशाले ‘यशोदा’ पात्रको अध्ययन र अभिनय शिल्पको लागि धेरै मेहनत गर्ने ठाँउ बाँकी राखेकी छिन् । वेनिशा हमालले पश्चिमेली लवजमा बोलेको पटक्कै सुवाएको छैन । उनले चलचित्रमा धेरै तयारी गरेको अनुभव हुन्न ।

मिथिला शर्मा
दुरुस्तै हजुरआमाको भूमिकामा रहेकी मिथिला शर्माको अभिनयले चलचित्रलाई झन् राम्रो बनाएको छ । चलचित्रभित्र रहस्य र अन्यौलमा रहेको सम्बन्धले दर्शकलाई कौतुहल बढाउन सहयोग नै गरेको छ । कलाकार शर्माको अनुहार र भुषभुषाले सम्भ्रान्त परिवारकी हजुरआमाजस्तै बन्न सहयोग गरेको छ ।
वालकलाकारको रुपमा चलचित्रमा सारा शर्मा‘सिन्धु’को अवोध बालिकाको टिठलाग्दो अभिनय सुन्दर लाग्छ । रविन्द्र झाको अभिनय अलि ओभर एक्टिङ झैं लाग्छ । सधै चलचित्रभित्र महिला खलपात्रको रुपमा देखिने अर्जुनजंग शाही र अन्धविश्वासमा रमलिएकी कुप्रथाकी जड बनेर लक्ष्मी गिरी देखिएकी छिन् । चलचित्रभित्र उनको निर्दयी र दुष्ट स्वभावले रोमाञ्चक बनाउन सहयोग गरेको छ । खल पात्रमा अर्जुन जंग शाहीको प्रस्तुती बलियो छ ।
अन्तमा,
जब–जब पल शाहको चलचित्र प्रर्दशन हुन्छ उनी सम्बन्धित विभिन्न कृयाकलापलाई उछालेर आलोचना गरेको पाइन्छ । अभिनेता शाहको अभिनय र क्षमताको विषयमा चर्चा नै हुँदैन ।
बलियो कथा अभिनय शिल्पमा केही सुधारका कारण पल शाहले चलचित्रमा केही नयाँ काम गरेको आभास दिलाएका छन् । निर्देशक ओम प्रतिकले मौलिक सुन्दर कथा ल्याएर चलचित्र पस्केका त छन् तर अझैं बलियो कास्टिङ नहुँदा चलचित्रलाई औसतभन्दा माथि लैजान सकेका छैनन । चलचित्रलाई मौलिक श्रृजनाकाृ जगमा उभ्याएर मिठो कलात्मक दृष्टिकोणबाट उत्तिकै राम्रो अभिनय चलचित्र मोहरमा पस्कन सकिएको छैन ।








प्रतिक्रिया