काठमाडौं
पछिल्लो पुस्ताका चर्चित अभिनेता हुन् विजय बराल । पूर्ण बहादुरको सारंगीबाट चलचित्र क्षेत्रमा चम्केका अभिनेता बराल लामो समयदेखि अभिनेता दयाहाङ राईसँग सहायकको भूमिकामा देखिदै आएका थिए ।
यही तिहारको भाईटिकाबाट प्रर्दशनको तयारीमा रहेको चलचित्र ‘वरिष्ठ बलराम’मा अभिनेता विजय बराल र दयाहाङ राई आमुन्ने सामुन्ने हुँदेछन् । उनीहरुबीच मुटभेड भएको दृश्य भर्खरै सार्वजनिक भएको टिजरमा देखिएको छ ।
दलबल सहित अघि बढेका विजय बराल र दयाहाङ राई जम्काभेट भएको टिजरमा देखिन्छ ।
निर्माण पक्षले एकसाथ दुईवटा पोस्टर समेत सार्वजनिक गरेको छ।
एउटा पोस्टरमा भने दयाहाङ र विजय मात्रै छन् । रातो सुट र सर्ट–पाइन्टमा ठाँटिएका छन्, दयाहाङ । हातमा मोबाइल बोकेका उनी क्रुद्ध देखिएका छन् । विजय भने निरास देखिएका छन् ।
दोस्रो पोस्टरमा दयाहाङ र विजय दुवै सोचमग्न छन् । यो पोस्टरमा समृद्धि अर्याल, माओत्से गुरुङ, भोलाराज सापकोटा, पशुपति राई र प्रदीप कुमार चौधरी फिचर्ड छन् । उनीहरूलाई क्यारेक्टरमा देख्न सकिन्छ ।
पोस्ट प्रोडक्सनमा रहेको यो चलचित्र ‘वरिष्ठ बलराम’ मा दयाहाङ राई, विजय बराल, समृद्धि अर्याल, पशुपति राई, माओत्से गुरुङ, प्रदीप चौधरीलगायत कलाकारको अभिनय छ ।
यो चलचित्र सुरेन्द्र पौडेलको चौथो निर्देशकीय सिनेमा हो । दृश्य सम्पादक समेत रहेका पौडेलले यसअघि ‘आभाष’, ‘क्रृ’ र ‘बाबरी’ निर्देशन गरेका छन् ।
वृषभ सिद्धि इन्टरटेनमेन्टको प्रस्तुतिमा आन्भी फिल्मसको सहकार्य रहेको चलचित्रमा आशिष एच तामाङ र श्रीराज कार्की निर्माताका रूपमा छन् । कार्यकारी निर्मातामा प्रदीप जि धामी र पुस्कर बि घिमिरे छन् ।
‘वरिष्ठ बलराम’ कात्तिक ६ गते भाइटीकामा रिलिज हुँदैछ ।








प्रतिक्रिया