काठमाडौं । दुर्गा पक्षअन्तर्गत आश्विन शुक्ल सप्तमीका दिन मनाइने फूलपाती पर्व आज देशभर शास्त्रीय विधिअनुसार नवपत्रिका भित्र्याएर मनाइँदैछ। घटस्थापनादेखि वैदिक विधिपूर्वक पूजा गरिएको दशैं घर वा पूजा कोठामा शुभ साइतको प्रतीकका रूपमा उखु, हलेदो, केराको बोट, धानको बाला, बेलपत्र, दारिम, जयन्ती, अशोकको फूल र मानवृक्ष भित्र्याउने प्रचलन रहिआएको छ।
नेपाल पञ्चाङ्ग निर्णायक समितिका अनुसार फूलपातीलाई नववटी देवीको प्रतीक मानिन्छ र शक्तिको आराधनासहित पूजाआजा गर्ने वैदिक परम्परा रहेको छ। समितिले फूलपातीको शुभ साइत बिहान ७:१७ मा श्री तुलजाभवानी यात्रा र स्थिरासन ९:२३ मा रहेको जानकारी दिएको छ।
धर्मशास्त्रविद्हरूका अनुसार केरामा ब्रह्मायणी, दारिममा रक्तदन्तिका, धानमा लक्ष्मी, हलेदोमा दुर्गा, मानवृक्षमा चामुण्डा, उखुमा कालिका, बेलपत्रमा शिवा, अशोकमा शोकरहिता र जयन्तीमा कात्तिकी देवीको आह्वान गरी पूजा गरिन्छ। यी देवी नवदुर्गाका पार्षद् मानिने भएकाले फूलपाती भित्र्याएपछि नौवटै देवीको पूजा आराधना गर्ने परम्परा छ।
गोरखाबाट राजधानीसम्मको विशेष यात्रा
हनुमानढोका दरबारको दशैंघरमा गोरखाबाट ल्याइएको फूलपाती भित्र्याउने परम्परा आज पनि जीवित छ। गोरखाबाट धादिङको जीवनपुरसम्म दशैंघरका पूजारीसहित मगर जातिका छ जना ल्याउने र त्यसपछि जीवनपुरदेखि काठमाडौंको जमलसम्म ब्राह्मण जातिका छ जना पुजारीद्वारा ल्याइने प्रथा रहिआएको छ।
जमलबाट हनुमानढोकासम्म फूलपाती ल्याउने क्रममा निजामती सेवाका उच्च पदस्थ अधिकारी, गुर्जुका पल्टन, ब्याण्डबाजा, पञ्चेबाजा र विभिन्न सांस्कृतिक कार्यक्रमसहित लावालस्कर प्रर्दशन गर्ने गरिन्छ।
दशैंको चहलपहल सुरु
फूलपातीसँगै दशैंको चहलपहल अझै बढेको छ। आजैदेखि सरकारी कार्यालयहरू पनि बन्द हुने भएकाले विभिन्न पेशा–व्यवसायमा संलग्न मानिसहरू सपरिवार टीका थाप्न आ–आफ्नो घर फर्कने क्रम तीव्र बनेको छ। ग्रामीण भेगमा लिङ्गे पिङ, जाँते पिङ र रोटे पिङले दशैंको रौनकता थपिदिएको छ।
बडादशैंको टीका साइत
नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अनुसार यस वर्ष बडादशैंको टीकाको साइत असोज १६ गते बिहान ९:२३ मा रहेको छ। समितिले दिएको विवरणअनुसार असोज १३ गते फूलपाती, असोज १४ गते महाष्टमी तथा कालरात्रि, असोज १५ गते महानवमी र असोज १६ गते टीका र जमरा ग्रहण गर्ने शुभ साइत तोकिएको छ।








प्रतिक्रिया