२० मंसिर २०८२, शुक्रबार | Fri Dec 5 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


राष्ट्रिय सभाको निर्वाचन माघ ११ गते गर्ने सरकारको निर्णय, अन्य निर्णयसहित



काठमाडौं । सरकारले राष्ट्रियसभाको निर्वाचन आगामी माघ ११ गते गर्ने निर्णय गरेको छ। मन्त्रिपरिषद्को बुधबार बसेको बैठकले निर्वाचनको मिति तोक्ने निर्णय गरेको संचार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेलले जानकारी दिए।

२०७६ सालको चुनावबाट निर्वाचित १९ सदस्यको कार्यकाल आगामी फागुनबाट सकिनेछ । १९ जना मध्ये एक जना वामदेव गौतम राष्ट्रपतिबाट मनोनीत सांसद हुन् । बाँकी १८ पदका लागि निर्वाचन हुनेछ ।

राष्ट्रिय सभा सदस्य निर्वाचन ऐनमा पद रिक्त हुनु भन्दा ३५ दिन अगावै निर्वाचन हुनुपर्ने व्यवस्था छ । २० फागुनमा राष्ट्रिय सभा सदस्यको पदावधि सकिन्छ । त्यसको ३५ दिन अगावै निर्वाचन गर्नुपर्ने कानुनी व्यवस्था छ ।

सरकारले सङ्घीय संसद्का पदाधिकारी तथा सदस्यहरूको पारिश्रमिक र सुविधासम्बन्धी ऐन २०७३ को अनुसूची–२ मा हेरफेर गर्ने निर्णय गरेको छ।

यस निर्णयअन्तर्गत सचिवालयको दरबन्दी घटाउने निर्णय भएको हो। मन्त्रिपरिषद्को बैठकले नेपाल र मौरिससबिच भएको दोहोरो कर मुक्ति सम्झौता अन्त्य गर्ने निर्णय पनि गरेको छ। यस्तै छापाखाना र प्रकाशनसम्बन्धी दोस्रो संशोधन नियमावली २०८२ स्वीकृत गर्ने निर्णय भएको छ। यो नियमावली राजपत्रमा प्रकाशित भएपछि अनलाइनको दर्ता र नवीकरण लागू हुनेछ।

यसैगरी कतारको दोहामा आयोजना हुने ’सेकेन्ड वर्ल्ड समिट फर सोसल डेभलपमेन्ट’ कार्यक्रममा सहभागी हुन राष्ट्रपति रामचन्द्र पौडेलको नेतृत्वमा २०८२ कार्तिक १७ देखि २० गतेसम्म हुने औपचारिक भ्रमण स्वीकृत गर्ने निर्णय भएको छ।

प्रकाशित मिति : १३ कार्तिक २०८२, बुधबार  ४ : ०३ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।