३ पुस २०८२, बिहिबार | Thu Dec 18 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मनोरन्जन


‘नाकछोङ’ ट्रेलर : परम्परा र पुस्ताबीचको गहिरो संघर्ष



काठमाडौं । राई समुदायमा प्रचलित परम्परागत कुलको बिजुवा अर्थात् नाकछोङको कथामा आधारित फिल्म ‘नाकछोङ’को ट्रेलर सार्वजनिक गरिएको छ। पिताको निधनपछि उनको इच्छाअनुसार ‘आत्मा’ बाटो लगाउने सन्दर्भबाट सुरु हुने कथाले एक छोराले परिवार, समाज र समयसँग गर्नुपर्ने गहिरो आन्तरिक तथा सामाजिक संघर्षलाई चित्रण गरेको ट्रेलरमा देखिन्छ।

फिल्मको लेखन तथा निर्देशन किरण राईले गरेका हुन् भने निर्माता ज्योतिराज राई रहेका छन्। निर्माता राईका अनुसार फिल्मले राई समुदायमा परापूर्वकालदेखि पुस्तौंपुस्ता चलिआएको सांस्कृतिक चेतना, आत्मिक अनुशासन र कुल परम्परालाई सिनेम्याट्रिक भाषामा पुनर्जीवित गर्ने प्रयास गरेको छ।

‘नाकछोङ कुनै काल्पनिक पात्र होइन, बरु पुस्तौंदेखिका विश्वास, विधि, संस्कार र सामूहिक चेतनाको सजीव प्रतिनिधि हो,’ निर्माता राईले भने, ‘आफ्नै समुदायले समेत बिर्सन थालेका यी परम्परा इतिहासको ओझेलमा पर्ने खतरा रहेकाले फिल्मले यसलाई संवेदनशील रूपमा प्रस्तुत गरेको छ।’

फिल्ममा भुवनसिंह राई, यासेली योङहाङ, सागर केरुङ, शुष्मा सुब्बा गुरुङ, पूर्ण लिम्बू, सारा राई, ताया हाङ राई, दिनेश कोइराला, उदय सुब्बा कुरुङ्वाङ, अनुशा राई, सरोज राई, जेशन राई र तुलशा लिम्बुलगायत कलाकारको अभिनय रहेको छ। छायांकन बाबु श्रेष्ठले गरेका छन् भने संगीत दिनेश काजी वान्तवा र अनिल कोई राईको रहेको छ। फिल्मको सार्वजनिक प्रदर्शन मिति हालसम्म तय नभए पनि यो युकेका विभिन्न शहरहरूमा प्रिमियर भइसकेको छ।

प्रकाशित मिति : २ पुस २०८२, बुधबार  २ : १९ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।