काठमाडौं । गायिकाद्वय एलिना चौहान र कला लम्सालबीच केही समयअघि सेलाएको विवाद फेरि चर्किएको छ। दुवै पक्षले एकअर्काप्रति कडा टिप्पणी गरेपछि यो विषय सामाजिक सञ्जालमा पुनः चर्चामा आएको हो।
केही दिनअघि कला लम्सालले एक पोडकास्ट कार्यक्रममा बोल्दै नाम नलिइकन एक चर्चित सेलिब्रिटीले आफ्नो सिक्री लगाएर अन्तर्वार्तामा आफ्नै विषयमा नकारात्मक कुरा गरेको दाबी गरेकी थिइन्। उनले उक्त घटनाले आफू अचम्मित र हाँसो उठेको बताएकी थिइन्। उनको यो अभिव्यक्ति सामाजिक सञ्जाल, विशेषगरी टिकटकमा भाइरल भएपछि एलिना चौहानमाथि ट्रोल सुरु भएको थियो।
एलिनाका समर्थकहरूले भने कला लम्सालले चर्चामा आउनका लागि एलिनाको संकेत गरेको आरोप लगाए। त्यसपछि एलिना चौहानले टिकटकमार्फत प्रतिक्रिया जनाउँदै एउटा भिडियो क्लिप सार्वजनिक गरिन्। उक्त क्लिपमा कला लम्साल एक अन्तर्वार्ताका क्रममा ‘अफलाइन’ भन्दै एलिनासँग सम्बन्धित कुरा मोड्न आग्रह गरेको देखिन्छ। पछि हटाइएको भनिएको उक्त क्लिप एलिनाका समर्थकमार्फत एलिनासम्म पुगेको र उनले सार्वजनिक गरेकी हुन्।
एलिनाले भिडियोमार्फत कलाको नियत आफ्नो नाम लिएर चर्चामा आउन खोजेको दाबी गरिन्। उनले आफूले जानाजानी कसैको नाम प्रयोग नगरेको र पहिले पनि यस्ता प्रयासलाई बेवास्ता गरेको बताइन्। तर फेरि अर्को पोडकास्टमा सिक्रीको विषय उठाइएपछि प्रतिक्रिया दिन बाध्य भएको उनको भनाइ छ।
एलिनाले उक्त सिक्री आफूले लगाएको स्वीकार गर्दै त्यसको पृष्ठभूमि पनि स्पष्ट पारेकी छन्। उनका अनुसार अमेरिकामा हुँदा कलाले लुगा नमिलेको भन्दै सिक्री अस्थायी रूपमा लगाइदिन आग्रह गरेकी थिइन्। पछि हतारमा नेपाल फर्किँदा माग्न बिर्सिएको र आफूले नेपाल आएपछि फिर्ता दिने कुरा भएको उनले बताइन्।
अन्तर्वार्तामा जाँदा ध्यान नपुगेको कारण सिक्री लगाएको भन्दै आफूलाई चोर जस्तो बनाइएकोमा एलिनाले आपत्ति जनाएकी छन्। उनले आफ्नो क्षमतामाथि प्रश्न उठाउनु अनुचित भएको भन्दै कडा शब्दमा प्रतिक्रिया जनाएकी हुन्।
यसै क्रममा एलिनाले कला लम्सालको अमेरिका बसाइ र फर्काइसँग सम्बन्धित विषयमा पनि आरोप लगाएकी छन्।







प्रतिक्रिया