१३ माघ २०८२, सोमबार | Mon Jan 26 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मनोरन्जन


सफल अभिनेता विजय बराल अब गायक



 

रंगमञ्च र चलचित्रको पर्दामा आफ्नो जीवन्त अभिनयका कारण दर्शकको मन जित्न सफल अभिनेता विजय बरालको नाम अब गायकको रुपमा समेत चिनिने भएको छ । अभिनेता विजयले ’विधिको शासन’ बोलको गीत मार्फत गायनमा डेब्यु गरेका हुन् ।
एनले गाएको गीतमा वर्तमान राजनीतिक व्यवस्था र विसंगति विरुद्धको एउटा बलियो ’ध्वनि’ का रूपमा आएको छ ।

शौरभ कार्कीको शब्द रचना र प्रशान्त शिवाकोटीको संगीत रहेको यस गीतले देशको समसामयिक राजनीतिक अवस्थालाई चित्रण गरेको छ । विशेषगरी, भदौ २३ र २४ गते काठमाडौंमा भएको ’जेनजी’ आन्दोलन र त्यसले उठाएका मुद्दाहरूलाई गीतको मूल मर्म बनाइएको छ ।

देश विकास र समृद्धिका लागि व्यक्ति विशेषको सनक र मनमौजी शैलीभन्दा पनि पद्धति र विधिको शासन अनिवार्य हुने सन्देश गीतले दिएको छ । २०४० सालको जनआन्दोलनदेखि २०६२÷६३ को परिवर्तन हुँदै पछिल्लो समयका युवा विद्रोहसम्मका भावनालाई गीतमा समेटिएको छ ।

आफ्नो पहिलो गायन अनुभवबारे विजय बराल भन्छन्, “मैले गाएको यो पहिलो गीत हो । वास्तवमा म गायक होइन, तर साथीहरूले यस विषयमा तपाईंको स्वर सुहाउँछ, गाउनुपर्छ भनेर हौसला दिनुभयो । साथीहरूको विश्वासलाई आत्मसाथ गर्दै एउटा प्रयास गरेको हुँ ।“

उनले अगाडि थपे, “यो गीत कसैको व्यक्तिगत विरोध वा समर्थनमा होइन । यो त केवल सत्ता र प्रणालीलाई गरिएको एउटा सटायर (व्यङ्ग्य) र खबरदारी हो । देशमा कसरी सुनौला सपनाहरू खरानी भइरहेका छन् र फेरि आशाको दियो कसरी बाल्न सकिन्छ भन्ने यसको मुख्य उद्देश्य हो ।“

गीतको अडियो जत्तिकै यसको भिडियो पनि शक्तिशाली बनाइएको छ । मनिष राउतको कन्सेप्टमा तयार पारिएको भिडियोमा नेपालका विभिन्न राजनीतिक क्रान्तिका वास्तविक तस्बिर र फुटेजहरू प्रयोग गरिएको छ ।

२०४० सालका आन्दोलनकारीदेखि २०६२÷६३ को दोस्रो जनआन्दोलन र हालैको जेनजी आन्दोलनमा प्रहरीको दमन र युवाहरूको आक्रोशलाई भिडियोमा दुरुस्त उतारिएको छ । यसले गीतलाई एउटा सांगीतिक सिर्जना मात्र नभएर ऐतिहासिक ’डकुमेन्ट्री’ जस्तो ओजनदार बनाएको छ ।

नेपाली चलचित्र क्षेत्रका स्थापित कलाकारहरू सामाजिक र राजनीतिक मुद्दामा खुलेर लाग्ने क्रम बढ्दो छ । विजय बरालको यो कदमले पनि कलाकारहरू केवल पर्दाका पात्र मात्र नभई समाजका सचेत नागरिक पनि हुन् भन्ने पुष्टि गरेको छ । ’विधिको शासन’ ले सुशासन र विकासको पर्खाइमा रहेका आम नेपालीको आवाजलाई प्रतिनिधित्व गर्ने अपेक्षा गरिएको छ ।

भदौ २४ को आन्दोलनमा घाइते भएका र सहादत प्राप्त गरेका व्यक्तिहरूको सम्मान र बाँकी रहेका मागहरू सम्बोधन हुनुपर्ने कुरामा गीतले जोड दिएको छ ।

अभिनेता बरालको कामको कुरा गर्दा उनी हालै ब्लकबस्टर निर्देशक सरोज पौडेलको चलचित्र ‘सिन्दुरे जात्रा’मा अनुबन्ध भएका छन् । यसमा विजयको जोडीमा अभिनेत्री अञ्जना बराइली फाइनल भएकी छन् । यी दुवै कलाकारको निर्देशक पौडेलसँग यो दोस्रो सहकार्य हो ।

यसअघि उनीहरूले सरोज पौडेलकै निर्देशनमा बनेको चलचित्र ‘पूर्णबहादुरको सारङ्गी’ मा काम गरेका थिए । जुन नेपाली चलचित्र इतिहासकै सर्वाधिक कमाउने चलचित्र बनेको छ ।

 

प्रकाशित मिति : १३ माघ २०८२, सोमबार  ११ : २७ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।