सिरहा
तीन वर्षीया दिवान्सीले फेरि सोधिन्, ‘मम्मी, बाबा खोइ ?’
अमिरिका चौधरी केही बोल्न खोज्छिन्, तर गला भरिएर आउँछ, शब्द निस्कँदैनन् । उनको काखमा छोरी छ, आँखामा टिलपिल आँसु र मोबाइलको उज्यालो पर्दामा मुस्कुराइरहेका विजय चौधरीको तस्बिर ।
बाहिर देशभर चुनावी र्याली र माइकिङको चर्को आवाज गुञ्जिरहेको छ, चोकचोकमा नारा लागिरहेका छन् । तर लहान–१५ को यो सानो घरभित्र, त्यही कोलाहलले सन्नाटालाई चिर्नुको साटो उल्टै बिझाउने बनाइदिएको छ । मानौँ, बाहिरको उत्सवले यहाँको शून्यतालाई झनै गिज्याइरहेको छ ।
आगामी फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचन नजिकिँदै जाँदा गाउँबस्ती चलायमान छ । टोलटोलमा भेला छन्, घरघरमा उम्मेदवारका प्रतिबद्धता । तर अमिरिकाका लागि यी दृश्यहरू उत्सव होइनन्, बरु एउटा पीडादायी पुनरावृत्ति हुन् । हुलमुल र नारा देख्नासाथ उनका मन त्यही दिनतिर फर्किन्छ, जहाँबाट उनको सिउँदोको सिन्दूर र छोरीको भविष्य सधैँका लागि धुमिल भयो ।
लहान–१५ सिमलटोलका २७ वर्षीय विजय चौधरी गत भदौ २३ गते काठमाडौँको नयाँ बानेश्वरमा ‘जेनजी’ आन्दोलनमा सहभागी थिए । सुशासनका पक्षमा र भ्रष्टाचार अन्त्यको माग गर्दै सडकमा उत्रिएका विजयको छातीमा प्रहरीको गोली लाग्यो । आन्दोलनको पहिलो दिन नै प्रहरीले चलाएको गोली विजयको छातीमा लाग्यो । साथीहरूले उहाँलाई तत्काल सिभिल अस्पताल पुर्याए, तर त्यतिन्जेल उनको प्राण गइसकेको थियो ।
घरको कान्छो छोरो, जसको काँधमा आमाबुबाको औषधि र छोरीको भविष्य टिकेको थियो, ऊ कहिल्यै नफर्कने गरी अस्तायो । विजय पाँच वर्षदेखि काठमाडौँमा ‘हाउस वायरिङ’को काम गर्थे । उनको कमाइले घर चल्थ्यो । आमाबुबाको औषधि, घरखर्च, छोरीको भविष्य । शान्त स्वभावका विजय कसैसँग झगडा नगर्ने बानी थियो । गाउँमा सबैलाई सम्झाइबुझाइ गर्छन् । तर अन्याय र अत्याचारविरुद्ध भने चुप नबस्ने बानी थियो । त्यही विद्रोही चेतले उनलाई सडकको आन्दोलनमा पुर्यायो ।
विजयको मृत्युको खबर सुन्नासाथ दाइ अजय चौधरी वैदेशिक रोजगारीबाट फर्किए । तर परिवारले छोराको जिउँदो मुख देख्न पाएन । घटना भएको नौ दिनपछि मात्र सेनाको हेलिकप्टरमार्फत विजयको शव लहान ल्याइयो । घरव्यवहार टार्ने मुख्य सदस्यको शव बुझ्नुको पीडा यो परिवारले अझै भुल्न सकेको छैन ।
विजयकी आमा जलेश्वरी देवी अचेल टोलाएर बस्छिन् । मोबाइलमा छोराको फोटो हेरेर चित्त बुझाउने प्रयास गर्छिन् । काखमा सानी नातिनी लिएर टोलाछिन् । कहिलेकाहीँ त्यही नातिनीले मन बहलाउँछिन्– सहिद विजयले छाडेर गएको अन्तिम चिनो ।
छोरी दिवान्सीले बाबाको नाम लिएर खोज्दा अमिरिका चौधरीको मन बेस्सरी पोल्छ । अवोध बालिकालाई कसरी सम्झाउने भन्ने शब्द उनीसँग छैन । त्यही पनि उहाँ भनिदिन्छिन्, “बाबा काठमाडौँ जानुभएको छ, छिट्टै आउनुहुन्छ ।” तर त्यो झुटो आश्वासनले उनको मन अझ भारी बनाउँछ ।
मम्मीभन्दा बढी बाबासँग लुटपुटिएर बस्ने दिवान्सी अचेल हरेक भीडमा, हरेक आवाजमा बाबालाई खोजिरहेकी हुन्छिन् । चुनावी र्यालीका चर्का नाराले, भीडका दृश्यले विजयकी आमालाई पनि पुरानो पीडा झनै ताजा बनाइदिन्छ । “छोरो बाँचेको भए ऊ पनि अरु जस्तै चुनावमा लाग्थ्यो”, विजयकी आमा जलेश्वरीदेवी भन्छिन्, “उनीहरूलाई देख्दा छोराको झल्को आउँछ, सम्हाल्न गाह्रो हुन्छ ।”
चुनावी अभियान सुरु भएदेखि अमिरिका चौधरीलाई उकुसमुकुस भएको छ । बाहिर राजनीति चलिरहँदा, उन िभित्रभित्रै आफ्नो जीवन सम्हाल्न सङ्घर्ष गरिरहेकी छन् । उनी भन्छिन्, “जे माग राखेर सहिद भए, ती माग पूरा होउन् । जसले मेरो श्रीमान्लाई मार्यो, उसलाई कानुनी कारबाही होस् । नेपाली जनताले फेरि दुःख नपाऊन् । फेरि आन्दोलन नहोस् । कोही सहिद बन्न नपरोस् ।”
नगरपालिकाले उनलाई वडा कार्यालयमा करारको जागिर दिएको छ । त्यसले केही राहत दिएको छ, तर त्यो राहतले विजयको अभाव भरिँदैन । बाहिर चुनावी राजनीति चलिरहेछ, तर यो सहिद परिवार आफ्नै शोकसँग जुधिरहेको छ ।








प्रतिक्रिया