काभ्रेपलाञ्चोक
शनिबारको वर्षापछि रोशी खोलाको बाढीका कारण अवरुद्ध बीपी राजमार्ग दुई दिनपछि खुलेको छ । रोशी खोलामा अस्थायी डाइभर्सन बनाइ आज दिउँसो ३ बजेदेखि आवागमन गराइएको डिभिजन सडक कार्यालय भक्तपुरले जनाएको छ ।
आइतबार दिनभर डाइभर्सनको काम गरे पनि आइतबार अपराह्नको वर्षाले केही स्थानको डाइभर्सनमा पुनःक्षति पु¥याएपछि आइतबार साँझ आगावमन सञ्चालन गर्न नसकिएको कार्यालयका प्रमुख प्रमुख सिनियर डिभिजनल इञ्जिनियर सुमन योगेशले बताएका छन् । उनका अनुसार आज बिहानदेखि पुनः डाइभर्सन बनाइ दिउँसो ३ बजेदेखि आवागमन नियमित गराइएको हो ।
वर्षाले राजमार्गअन्तर्गत काभ्रेपलाञ्चोकको रोशी क्षेत्रमा करिब चार किलोमिटर डाइभर्सन बगाएको थियो । कार्यालयका अनुसार उक्त क्षेत्रको आठ स्थानको बाट डाइभर्सन बनाइ आवागमन गराइएको हो । आइतबार नै सात स्थानको डाइभर्सन बनाएपछि चारसयबेंसी भन्ने स्थानमा डाइभर्सन बनाउने क्रममा बर्षा भएपछि थप काम रोकाइएको थियो ।
शनिबार दिउँसो वर्षा सुरु भए लगत्तै जोखिमलाई मध्यनजर गर्दै जिल्लास्थित सुरक्षा निकायले उक्त राजमार्गमा ३ः३० बजेदेखि आवागमन बन्द गराएको थियो । जिल्ला प्रहरी कार्यालय धुलिखेलले उक्त राजमार्गअन्तर्गत काभे्रपलाञ्चोकको नमोबुद्धस्थित कटुञ्जेदेखि रोशीको मङ्गलटार सडकखण्ड वर्षाका कारण रोशी खोलामा ठूलो बाढी आएकाले सम्भावित जोखिम नहोस् भन्ने हेतुले बन्द गराएको हो ।
गत चैत तेस्रो साता पनि सोही क्षेत्रको विभिन्न स्थानको चार किमी बगाएपछि पुनःअस्थायी डाइभर्सन निर्माण गरिएको थियो । गत सालको बाढीपहिरोले रागमार्गको चौकीडाँडा, रोशी तथा सिन्धुलीको नेपालथोक क्षेत्रमा १८ किमी सडक बगाएपछि खोलामै डाइभर्सन निर्माण गरी आवागमन भइरहेको थियो । हाल उक्त क्षेत्रमा स्थायी सडक निर्माण भइरहेको कार्यालयले जनाएको छ ।
राजमार्ग अवरुद्ध भएपछि सवारीसाधनलाई राजमार्गको प्रवेशमार्ग धुलिखेल तथा काभ्रेभन्ज्याङ र मङ्गलटार तथा सिन्धुलीको नेपालथोकमा ‘होल्ड’ गराइएको थियो । कतिपय साना सवारीसाधनलाई तेमाल गाउँपालिका हुँदै वैकल्पिक मार्गबाट नमोबुद्ध नगरको भकुण्डेसम्म ल्याइएको थियो ।








प्रतिक्रिया