१ माघ २०८२, बुधबार | Wed Jan 14 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

समाचार


 हतियारसहित विप्लवका १४ कार्यकर्ता पक्राउ


२९ फाल्गुन २०७६, बिहिबार  

0
Shares

२९ फागुन ०७६, उदयपुर । प्रहरीले उदयपुरको कटारी नगरपालिका–१ स्थित खसीबासको जङ्गलबाट ठूलो परिमाणको हातहतियारसहित नेक्रविक्रम चन्द समूहका १४ जना कार्यकर्तालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी उदयपुर, सशस्त्र प्रहरी र इलाका प्रहरी कार्यालय कटारीको संयुक्त टोलीले आज उनीहरुलाई पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रमुख प्रहरी नायब उपरीक्षक वीरबहादुर बुढामगरका अनुसार बुधबार नै धनुषाको गणेमानचारनाथ नगरपालिका–४ गौरीनाथको १४ वर्षीय बालिका करिना मोक्तानलाई अपरहण गरेर उदयपुर ल्याएको सूचनाको आधारमा आज प्रहरीले सो जङ्गलमा खोजी गर्दा ती १४ जनालाई हातहतियारसहित पक्राउ गरी अपरहणमा परेकी मोक्तानलाई उद्धार गरिएको हो । पक्राउ पर्नेमा २० वर्षीय मुस्कान राई, २८ वर्षीय विवेश खड्का, १६ वर्षीय रिता कार्की, २० वर्षीय विकास राई, १७ वर्षीय आयुष मगर र १८ वर्षीय अविमान तामाङ छन् । यसैगरी २० वर्षीय आशिष लामा, १६ वर्षीय रञ्जना राई, १९ वर्षीय अनिता राई, १९ वर्षीय अनुश्का राउत, १७ वर्षीय सपना राई, ४६ वर्षीय मणीराज राई र १५ वर्षीय आशिष श्रेष्ठ रहेको जिल्ला प्रहरी कार्यालयका प्रमुख बुढामगरले बताउनुभयो । पक्राउ परेका चन्द समूहका कार्यकर्ताबाट तीन थान पेस्तोल, एक थान म्यागेजेन, ११ थान प्रेसरकुकर बम, ११ थान सकेट बम, तीन थान डेटोनेटर, तीन थान खुकुरी बरामद गरिएको प्रहरीले जनाएको छ । पक्राउ गरिएका १४ जनासहित उद्धार गरिएकी बालिकालाई प्रदेश नं २ का प्रहरी प्रमुख प्रधुम्न कार्कीको उपस्थितिमा उदयपुरबाट धनुषालाई बुझाइएको छ । बरामद गरिएका सबै हतियार नेपाली सेनाको टोलीले निष्कृय गरेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २९ फाल्गुन २०७६, बिहिबार  ११ : ५२ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।