५ आश्विन २०८१, शनिबार | Sun Sep 22 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


बस चले पनि यात्रु छैनन्


१७ आश्विन २०७७, शनिबार  

0
Shares

प्याङ्गगाँउ बसपार्क र प्याङ्गगाँउ खलो(पछााडि) । तस्विरहरु ः ललितपुर खबर

१७ असोज ०७७, काठमाडौं । कोरोनाका कारण झण्डै ६ महिना बन्द रहेको सार्वजनिक यातायात खुला भएपनि यात्रु नहुँदा यातायात व्यवसायीहरु समस्यामा परेका छन् ।
विश्वव्यापी रुपमा फैलिएको नोवेल कोरोना भाइरसका कारण चैत १० देखि बन्द रहेको लामो दूरीका सार्वजनिक यातायात सरकारले असोज १ देखि खुला गर्ने निर्णय गरेपनि यात्रु नहुँदा व्यवसायी समस्यामा परेका हुन् ।
कोरोना सङ्क्रमण हुनुभन्दा पहिले पूर्वाञ्चल क्षेत्रमा प्रत्येक दिन ४ सय ५० सार्वजनिक सवारी साधन ओहोरदोहोर हुँदै आएपनि अहिले यात्रु नहुँदा दैनिक १५० सवारी साधन एक सिटमा एक यात्रु राखेर ओहोरदोहोर गर्न बाध्य छन् । काठमाडौँबाट पूर्वका ताप्लेजुङ, सङ्खुवासभा, भोजपुर, धनकुटा, सुनसरी, झापा, मोरङ, तेह्रथुम, उदयपुर, सिरहा र सप्तरी जाने ५४ बस कम्पनी मिलेर बनेको पूर्वाञ्चल यातायात व्यवसायी समन्वय प्रालिले यात्रु नभएकाले आलोपालो बस सञ्चालन गर्दै आएको छ ।
प्रालिका सचिव रुद्रबहादुर कार्की सार्वजनिक यातायातमा राहतको प्याकेज नल्याउँदा व्यवसायीहरु मर्कामा परेको बताउछन् । “लकडाउनका कारण ६ महिना थन्किएर बसेका सवारी साधन मर्मत सम्भार गर्न लाखौँ खर्च लागेपनि यात्रु नहुँदा समस्यामा परेका छौँ”,उनले भने । सार्वजनिक यातायात खुलेसँगै बैँक तथा वित्तीय संस्थाले किस्ताको लागि ताकेता गर्न थालेपछि व्यवसायी थप मर्कामा परेको उनको भनाइ छ ।
मुलुकको राष्ट्रिय बसपार्कका रुपमा रहेको गोँगबुस्थित नयाँ बसपार्कबाट थोरै मात्रामा सवारी साधन बाहिरीने गरेका छन् । कोरोनाको सङ्क्रमण हुनुभन्दा पहिले प्रत्येक दिन ६ सयदेखि ७ सय हाराहारीमा सार्वजनिक यातायात उपत्यका बाहिरीने गरेपनि अहिले प्रत्येक दिन २ सयदेखि २सय ५० सार्वजनिक यातायात बाहिरीने गरेका छन् ।
नयाँ बसपार्क सञ्चालन गरेको ल्होत्से बहुउदेश्यीय प्रालिका महाप्रबन्धक सुनिल कुँवर नयाँ बसपार्कमा यात्रुको चाप कम हुँदै गएको बताउछन् । “विगतका वर्षमा दशैँको एक महिनाअगाडि नै नयाँ बसपार्कमा भीड लाग्ने गरे पनि अहिले कोरोनाका कारण यात्रुको चाप छैन”, उनले भने ।
नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका महासचिव सरोज सिटौला आन्तरिक उडानमा क्षमता बराबर यात्रु बोक्न पाउने र सार्वजनिक यातायातमा ५० प्रतिशत भाडा बढी लिएर यात्रु बोक्न पाउने गरी सरकारले गरेको विभेदकारी निर्णयका कारण सार्वजनिक यातायातमा यात्रु नभएको बताउछन् । “सार्वजनिक यातायातको भाडाभन्दा थोरै महङ्गो शुल्क तिरेपछि जहाजमा गन्तव्यस्थलसम्म जान पाउने भएपछि सार्वजनिक यातायातमा यात्रुको संख्या घटेकोे हो”, उनले भने । सरकारले सडकमा गुड्ने सार्वजनिक सवारी साधनलाई वेवास्ता गरेको उनको भनाइ छ ।
यस्तै, कोरोना र लकडाउनको असर पर्यटक बसमा समेत परेको छ । कोरोनाका कारण विदेशी पर्यटक नेपाल भ्रमणका लागि नआउँदा पर्यटक बस व्यवसाय पनि सङ्कटमा परेको छ । टुरिष्ट बस एशोसियशन अफ नेपाल (टिवान)का महासचिव दिपेन्द्र अधिकारी कोरोना अगाडि प्रत्येक दिन १ सय हाराहारीमा काठमाडौँदेखि पोखरा, चितवन, लुम्बिनी र जनकपुर पर्यटक बस चल्ने भए पनि अहिले मुस्किलले तीन÷चारवटा बसमात्र चलेको बताउछन् ।
“कोरोना अगाडि दैनिक दुई÷तीनहजार स्वदेशी तथा विदेशी पर्यटक पर्यटकीय बसमा आवतजावत गर्ने गरेपनि अहिले जम्मा १ सय जना यात्रु मुस्किलले आवतजावत गर्छन”, उनले भने । विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) र नेपाल सरकार स्वास्थ्य मन्त्रालयले तय गरेको स्वास्थ्य मापदण्डअनुसार बस सञ्चालन गर्दासमेत यात्रु नभएको उनको भनाइ छ ।

प्रकाशित मिति : १७ आश्विन २०७७, शनिबार  ९ : ४० बजे