२८ पुस २०८२, सोमबार | Mon Jan 12 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

समाचार


२ सय ९६ छात्रालाई भरतपुर महानगरद्वारा साइकल वितरण


२५ कार्तिक २०७७, मंगलबार  

0
Shares

२५ कात्तिक ०७७, चितवन ः भरतपुर महानगरपालिकाले विभिन्न विद्यालयमा पढ्ने गरिब तथा जेहेन्दार छात्रालाई साइकल वितरण गरेको छ । महानगरका वडा नं १७, २४, २५, २६, २७ र २८ का १६२ जनालाई महानगर प्रमुख रेनु दाहालले सोमबार साइकल वितरण गरेकी हुन् ।
भरतपुर महानगरपालिकाले पश्चिम चितवनका १३, १४, २२, २३, २४ वडाका १७ विद्यालयका १ सय ३५ जना विद्यार्थीलाई यसअघि नै साइकल वितरण गरेको थियो । हालसम्म महानगरले २ सय ९६ वटा साइकल वितरण गरेको छ । महानगरले १२ वटा वडाका कुल ३ सय ३० छात्रालाई साइकल वितरण गर्ने योजना बनाएको छ ।
जोखिममा परेका महिलासँग मेयर कार्यक्रमअन्तर्गत विद्यालय शिक्षामा छात्राको शैक्षिक निरन्तरताका लागि लक्षित वर्गका किशोरीलाई साइकल हस्तान्तरण गर्ने महानगरको अघिल्लो आर्थिक वर्षको योजनाअन्तर्गत साइकल हस्तान्तरण गरिएको हो । कोभिडका कारण अघिल्लो आर्थिक वर्षमा साइकल हस्तान्तरण गर्न नसकिएकाले यसपटक साइकल हस्तान्तरण गरिएको महानगर प्रमुख दाहालले बताइन् ।
महानगर प्रमुख दाहालले महानगरका विद्यालयलाई छात्रामैत्री र प्रविधिमैत्री बनाउन लागिपरेको जानकारी दिइन् । महानगरका आधारभूत विद्यालयलाई ल्यापटप वितरण गर्ने तयारी थालेको र सबै विद्यालयमा इन्टरनेटको प्रबन्ध यही वर्षमा गरिने उनको भनाइ छ । महानगरभित्रका सरकारी विद्यालयको शैक्षिकस्तर विकासका लागि भौतिक संरचना विकासमा धमाधम काम भइरहेको उनले बताइन् । एक सय २३ सामुदायिक विद्यालयमध्ये ६० वटा विद्यालयको भौतिक संरचना निर्माण अहिले महानगरले गरिरहेको दाहालले जानकारी दिइन् ।

 

प्रकाशित मिति : २५ कार्तिक २०७७, मंगलबार  १० : २० बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।