२८ पुस २०८२, सोमबार | Mon Jan 12 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

समाचार


बैतडी बस दुर्घटनामा ९ को मृत्यु, तीन जनाको सनाखत


२८ कार्तिक २०७७, शुक्रबार  

0
Shares


२८ कात्तिक ०७७, बैतडी । दशरथचन्द राजमार्गअन्तर्गत बैतडीको पाटन नगरपालिका–८ खोड्पेमा गए राति बस दुर्घटनामा परी मृत्यु भएका नौमध्ये तीन जनाको सनाखत भएको छ । बैतडीको दोगडाकेदार–६ सित्तडका २५ वर्षीय प्रहरी जवान रणबहादुर चन्द, दोगडाकेदार–६ सित्तडकै २७ वर्षीय करनसिंह ऐर र कञ्चनपुरको भीमदत्त नगरपालिका–८ तिलाचौरका १५ वर्षीया किर्तिका कार्कीको सनाखत भएको बैतडीका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक नारायणप्रसाद अधिकारीले जानकारी दिए ।
मृतक चन्द र ऐरको घटनास्थलमै मृत्यु भएको हो भने कार्कीको डडेल्धुरा अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । ऐरको शव बसले च्यापिएकाले निकाल्ने काम भइरहेको प्रहरीले जनाएको छ । अन्य छ मृतकको पहिचान हुन सकेको छैन । उनीहरुको शव परीक्षणका लागि जिल्ला अस्पतालमा राखिएको छ ।
उक्त दुर्घटनामा परी घाइते भएका ३४ मध्ये गम्भीर घाइते सात जनालाई धनगढी रेफर गरिएको छ भने बाँकी २७ जनाको डडेल्धुरा अस्पतालमा उपचार भइरहेको छ । दार्चुलाको गन्नाबाट महेन्द्रनगरका लागि छुटेको पवनदूत यातायातको ना ५ ख ५१४१ नम्बरको बस बिहीबार राति साढे १० बजेतिर दुर्घटनामा परेको हो । सानो घुम्तीबाट बस ६ सय मिटर जति तल खसेको छ । दुर्घटनाको कारण खुल्न सकेको छैन । क्षमताभन्दा बढी यात्रु बोकेको बसका चालक निदाएकाले दुर्घटनामा परेको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुमान छ ।

 

प्रकाशित मिति : २८ कार्तिक २०७७, शुक्रबार  ८ : ५९ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।