२८ पुस २०८२, सोमबार | Mon Jan 12 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

समाचार


कोरोना अस्पतालमा स्वास्थ्यकर्मी पाउन मुस्किल


२ मंसिर २०७७, मंगलबार  

0
Shares

फाइल तस्विर

२ मंसिर ०७७, पर्वत । पर्वतका स्थानीय तहले कोरोना सङ्क्रमितको उपचारका लागि स्थापना गरेका कारोना अस्पतालमा स्वास्थ्यकर्मी पाउन हम्मेहम्मे परेको छ । पैयुँ र महासिला गाउँपालिकाले चिकित्सकीय सेवासहित अस्पताल सञ्चालन गरेको छ भने अन्य स्थानीय तहमा अस्पताल बने पनि कर्मचारी व्यवस्थापन हुनसकेको छैनन् ।
नजिकै सुविधा सम्पन्न अस्पताल नभएका स्थानीय तहलाई अस्थायी कोरोना अस्पताल बनाउन सङ्घीय सरकारले बजेट विनियोजन गरेर पठाएको थियो । कुश्मा नगरपालिका बाहेक अन्य ६ स्थानीय तहमा अस्पताल बनाउन केन्द्रको निर्देशन छ । पैयुँ गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नेत्रप्रसाद पौडेलले पैयुँ गाउँपालिकाले चिकित्सकसहित नर्स र कार्यालय सहयोगीसहित कोरोना अस्पतालमा उपचार सेवा शुरु गरेको जानकारी दिए । पौडेलले अस्थायी कोरोना अस्पतालमा चार जना सङ्क्रमितको उपचार भइरहेको जानकारी दिएका छन् ।
महाशिला गाउँपालिकाले प्राथमिक स्वास्थ्य केन्द्र लुखुका डाक्टर र नर्स करारमा लिएर सेवा सञ्चालन गरेको छ । बिहादी गाउँपालिकामा अस्पताल निर्माणको काम भइरहेको छ भने स्वास्थ्यकर्मीका लागि दरखास्त आह्वान भए पनि डाक्टरको दरबन्दीमा दरखास्त पेश गरेका छैनन् । नर्स र कार्यालय सहयोगी मात्रै भर्ना गरिएको गाउँपालिकाका अध्यक्ष कमलप्रसाद भुसालले बताएका छन् । उनले अन्य कर्मचारी व्यवस्थापन हुन नसक्दा सेवा सञ्चालन नभएको जानकारी दिए ।
कोरोना अस्थायी अस्पताल बनाएर सङ्क्रमितको उपचार गर्न भन्दै सङ्घीय सरकारले प्रत्येक स्थानीय तहलाई रु १०÷१० लाख बजेट समेत पठाइसकेको छ । फलेवास नगरपालिकाले स्वास्थ्यकर्मी नपाएपछि सेवा करारमा लिने योजना बनाएको प्रमुख प्रशासकीय अधिकृत मुक्तिराम रिजालले जानकारी दिए ।
पाँच शैया क्षमताको अस्पतालका लागि मेडिकल अफिसर (डाक्टर)सहित दुई जना नर्स र एक जना कार्यालय सहयोगीको माग गरिएको छ । तीन महिनासम्म अस्थायी कामकाज गर्न डाक्टर आउन नमानेका कारण अस्पताल बनेर पनि सेवा शुरु हुन नसकेको मोदी गाउँपालिकाका उपाध्यक्ष सेती महतले बताए ।
अधिकाँश स्थानीय तहमा नर्स र कार्यालय सहयोगीमा धेरैको आवेदन परेको छ तर डाक्टर पाउन हम्मे हम्मे परेको छ । स्थानीय तहपिच्छे अस्पताल बनाउनुभन्दा भएका अस्पताललाई उपकरण र चिकित्सकको व्यवस्था गरिदिएको भए अहिलेको समस्या नआउने पर्वत अस्पताल विकास समितिका अध्यक्ष गोविन्द पहाडीले बताए । उनले नजिकैको अस्पतालबाट करारमा कर्मचारी लिएर सेवा गर्न सकिने सुझाव दिए ।
कोरोना सङ्क्रमितको उपचारका लागि स्थानीय तहलाई अस्पताल बनाउन भनिए पनि जनशक्तिको व्यवस्थापनमै समस्या झेल्नुपर्दा कोरोना सङ्क्रमितको गाउँघरमै उपचार गर्न खोजिएको प्रयास सफल हुनसकेको छैन ।

 

प्रकाशित मिति : २ मंसिर २०७७, मंगलबार  ६ : ४७ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।