
१३ पुस ०७७, काठमाडौं । नेपाल टेलिकम र काठमाडौँ–तराई–मधेश फास्ट ट्रयाकमा आयोजनाबीच अप्टिकल फाइबर बिछ्याउन सम्झौता सम्पन्न भएको छ । नेपाली सेनाको व्यवस्थापनमा निर्माणाधीन फास्ट ट्रयाकमा अप्टिकल फाइबर बिछ्याउने प्रावधानसहित पुस १० गते शुक्रबार एक सहमति भएको टेलिकमले जनाएको छ ।
राजधानीलाई मधेशसँग जोड्ने तुलनात्मकरुपमा निकै छोटो (७२.५ किमी) सडकमा विभिन्न प्याकेजमा चरणगत रुपमा निर्माण हुने फास्ट ट्रयाक आयोजना निर्माणका क्रममा नै अप्टिकल फाइबरसँग सम्बन्धित ठेक्का समावेश गरी आवश्यक संरचना निर्माण गर्दै जाने व्यवस्था सम्झौतामा उल्लेख भएको टेलिकमले जनाएको छ ।
टेलिकमका प्रवक्ता राजेश जोशी फाइबर बिछ्याउन लाग्ने आर्थिक व्ययभार र अप्टिकल फाइबर बिछ्याउने कार्यको प्राविधिक सुपरभिजनलगायत कार्य कम्पनीका तर्फबाट निरन्तर हुने बताउछन् । उनका अनुसार अत्यन्त तीव्र गतिमा निकै ठूलो परिमाणमा डाटा आदानप्रदान गर्न सकिने अप्टिकल फाइबर प्रविधि जडानका लागि जमीन खन्ने, पाइप बिछ्याउने र त्यसमा केवल राख्नेलगायत कार्य हुनेछ ।
दुई पक्षीय सम्झौतामा नेपाल टेलिकमका तर्फबाट कम्पनीका प्रबन्ध निर्देशक डिल्लीराम अधिकारी र फास्ट ट्रयाक आयोजनाका तर्फबाट आयोजना प्रमुख प्राविधिक सहायकरथी विकास पोखरेलले हस्ताक्षर गरेका थिए । आगामी आव २०८०र८१ सम्म निर्माण कार्य सम्पन्न गर्ने लक्ष्यका साथ नेपाली सेनाले फास्ट ट्रयाक निर्माण गरिरहेको छ । ७२.५ किलोमिटर लम्बाइ रहेको उक्त आयोजनामा तीन स्थानमा सुरुङ मार्ग निर्माण, विभिन्न स्थानमा १०.५९ किलोमिटरका पुलहरु निर्माणलगायत काम रहेका छन् ।








प्रतिक्रिया