१९ पुस २०८२, शनिबार | Sat Jan 3 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

समाचार


भूकम्पपछि छ वर्षमा बन्यो छ लाख ३८ हजार घर



फाइल तस्विर

पूर्णप्रसाद मिश्र
११ वैशाख ०७७, काठमाडौं । विस २०७२ वैशाख १२ गतेको गोरखा भूकम्पले भत्किएका करिब १० लाख घरमध्ये छ लाख ३८ हजार ५ सय ४० घर पुनःनिर्माण भएका छन् ।
छ वर्षअघिको भूकम्पले भत्किएर आठ लाख ११ हजार ७ सय ५४ घर धनीले पुनःनिर्माणका लागि राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको लाभग्राही सूचीमा समावेश भएर सम्झौता गरेका छन् । हालसम्म आठ लाख १० हजार ६ सय ३५ लाभग्राहीले पहिलो किस्ताको रु ५० हजार बुझेका छन् । सात लाख चार हजार ४ सय ६७ लाभग्राहीले दोस्रो किस्ता वापत् रु एकलाख लिएका छन् । घर सम्पन्न गरेर छ लाख ३८ हजार ५ सय ४० लाभग्राहीले तेस्रो किस्ताको रु एक लाख ५० हजार लिएका छन् ।
चालु आर्थिक वर्षभित्र निजी आवास पुनःनिर्माणका मूलभूत काम सम्पन्न गर्ने प्राधिकरणको लक्ष्य छ । गोरखा भूकम्पको छैटौँ स्मृति दिवसका अवसरमा प्राधिकरणले शुक्रबार राजधानीमा आयोजना गरेको पत्रकार सम्मेलनमा प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले निजी आवास पुनःनिर्माणका क्रममा छ लाख ३४ हजार ९ सय ७३ गुनासा आएकामा ती सबैको सम्बोधन गरिएको बताएका छन् । प्राधिकरणबाट भएको गुनासो सुनुवाईमा पनि चित्त नबुझेमा जिल्ला तहमै पुनरावेदन दर्ता गरी पुनरावेदन समितिमार्फत समस्या समाधान गर्ने व्यवस्था मिलाइएको उनले बताएका छन् ।
जोखिम एवं विपन्न वर्गका लाभग्राहीहरुको घर पुनःनिर्माणमा प्राधिकरणले करिब ९ सय घुम्ती डकर्मी र २ सय ५४ सामाजिक परिचालक परिचालनसहित विशेष अभियान अघि बढाएको छ । साझेदार संस्थालाई पनि यस कार्यमा परिचालन गरिएको छ । व्यापक अभियानका साथ जोखिम वर्गका लाभग्राहीको घर पुनःनिर्माण भइरहेको जनाइएको छ । भूकम्पपछि २ सय ९९ वटा असुरक्षित स्थानमा रहेका चार हजार ७ सय २० लाभग्राहीलाई सुरक्षित आवासका लागि जग्गा व्यवस्था मिलाइएको छ । १२ हजार ७ सय ८८ भूमिहीन लाभग्राहीलाई जग्गा व्यवस्थापनसहित घर निर्माण गर्ने वातावरण सिर्जना गरिएको प्रमुख कार्यकारी अधिकृत ज्ञवालीले बताए ।
भूकम्पले क्षतिग्रस्त ४ सय ९३ सम्पदा पुनःनिर्माण
क्षतिगस्त ९सय २० सम्पदामध्ये ४ सय ९३ पुनःनिर्माण सम्पन्न भएको छ । २ सय ८८ सम्पदा पुनःनिर्माण भइरहेका छन् । रानीपोखरी पुनःनिर्माण सम्पन्न भइसकेको छ । धरहरा वैशाख ११ गते ११ बजे प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्ने कार्यक्रम रहेको प्राधिकरणले जनाएको छ ।
राष्ट्रको मुख्य प्रशासनिक भवन, सिंहदरबारको उत्तर, दक्षिण र पूर्वी भाग प्रबलीकरण भई गत फागुन ३ गते उद्घाटन भएको छ । फागुनदेखि नै प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय सिंहदरबारको मूल भवनबाट नै सञ्चालन शुरु भएको छ । केशरमहल, बबरमहल, बालमन्दिर, नारायणहिटी सङ्ग्रहालय क्षेत्रमा रहेको रणोद्दीप दरबारलगायतका पुरातात्विक महत्वका दरबारको जीर्णोद्धार जारी छ ।
बृहत्तर रानीपोखरी–टुँडिखेल–रत्नपार्क–खुल्लामञ्च–भृकुटीमण्डप–रङ्गशाला–लोकतान्त्रिक सङ्ग्रहालय, नारायणहिटी सङ्ग्रहालय, गोरखा एवं नुवाकोट दरबार क्षेत्र एवं उपत्यकाका सातवटै पुरातात्विक सम्पदाको गुरुयोजना स्वीकृतिको चरणमा रहेको पत्रकार सम्मेलनमा जानकारी गराइएको छ । भूकम्पले क्षति भई मर्मत गर्नुपर्ने ४ सय २ गुम्बामध्ये २ सय ९४ वटा सम्पन्न भएका छन् । पुनःनिर्माण गर्नुपर्ने ८ सय ९५ मध्ये १ सय वर्षभन्दा पुराना र दुई हजार वर्ग फिटभन्दा बढी ‘प्लिन्थ एरिया’ भएका २६४ वटा गुम्बामध्ये ३६ र १ सय वर्षभन्दा कम र दुई हजार वर्ग फिटभन्दा मुनिका ६ सय ३१ गुम्बामध्ये १ सय १ को पुनःनिर्माण अघि बढेको छ ।
क्षतिग्रस्त ८३ प्रतिशत विद्यालय पुनःनिर्माण
भूकम्पबाट क्षतिग्रस्त कूल सात हजार ५ सय ५३ विद्यालयमध्ये ८३ प्रतिशत विद्यालयको पुनर्निर्माण सम्पन्न भएको छ । हाल बाँकी १७ प्रतिशत विद्यालय पुनःनिर्माण भइरहेको छ । विद्यालयको पुनःनिर्माण यसै आर्थिक वर्षभित्र सम्पन्न गर्ने लक्ष्य छ । भूकम्पले क्षतिग्रस्त कूल एक हजार १ सय ९७ स्वास्थ्य संस्थामध्ये ६ सय ९८ को पुनःनिर्माण सम्पन्न भएको छ । २९६ स्वास्थ्य संस्थाको पुनर्निर्माण जारी छ । क्षति पुगेका कूल ४ सय१५ सरकारी भवनमध्ये ९० प्रतिशतको पुनःनिर्माण सम्पन्न भएको छ । प्राधिकरणअन्तर्गत निर्माण भइरहेका सुरक्षा निकायका २ सय १६ वटा संरचनामध्ये २ सय १४ को पुनर्निर्माण सम्पन्न भइसकेको छ । विभिन्न जिल्लामा भूकम्पले असर गरेका ७ सय ६२ किमी सडक पुनर्निर्माण गर्नुपर्नेमा ५ सय २५ किमी सडक बनेको छ । बाँकी सडकको पुनःनिर्माण यसै आवभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको छ ।
गतवर्ष कोरोनाबाट बच्न बन्दाबन्दी जारी गरिएपछि कार्यसम्पादनमा अवरोध उत्पन्न भएकाले सरकारले प्राधिकरणको कार्यावधि २०७८ पुससम्म एक वर्ष थप गरेको छ । थपिएको एक वर्षमध्ये २०७८ असार मसान्तसम्मको अवधिमा प्राधिकरणले नियमित काम गर्नेछ । २०७८ साउन १ गतेदेखि २०७८ पुस १० गतेसम्म रानीपोखरी, धरहरा, सिंहदरबारको पश्चिम खण्ड र नारायणहिटी संग्रहालयभित्रको रणोद्दिपको दरबार पुनर्निर्माणबाहेक सबै योजना तथा कार्यक्रम सम्बन्धित मन्त्रालय वा निकायमा हस्तान्तरण गर्ने कार्ययोजना तयार भएको छ ।
दाता सम्मेलनमा प्रतिबद्धता व्यक्त भएको रु ४ सय १० अर्ब मध्ये ६७ अर्ब राहत तथा उद्धारमा खर्च भएको छ । भारतीय एक्जिम बैंकतर्फको रु ४९ अर्ब नेपाल सरकारतर्फ स्रोतान्तर भएको छ । वास्तविक प्रतिबद्धता रकम जम्मा रु २ सय ९४ अर्ब मात्र रहेको प्राधिकरणले जनाएको छ । यसमध्ये रु २४३ अर्बका लागि सम्झौता भई स्रोत सुनिश्चितता भएको छ । गैरसरकारी संस्थासँग करिव रु ९० अर्ब परिचालनका लागि सम्झौता भई करिव रु ७२ अर्ब परिचालन भएको छ । नेपालको पुनःनिमाणमा दातृ निकायबाट प्रतिबद्धता भएको शतप्रतिशत रकम परिचालन हुने सुनिश्चित भएको प्रमुख कार्यकारी अधिकृत ज्ञवालीले बताएका छन् ।
भूकम्पपछिको पुनःनिर्माण तथा पुनःस्थापनामा नेपालले प्राप्त गरेको उपलब्धिलाई विश्व समुदायले विभिन्न अवसर र मञ्चमा प्रशंसा गरेको प्राधिकरणको भनाइ छ । अनुभव र सिकाइ अन्य मुलुकका निम्ति पनि अनुकरणीय हुने विश्वासले नेपाल सरकारद्वारा प्रस्तावित सगरमाथा संवादको सन्दर्भ पारेर आगामी सन् २०२१ को नोभेम्वरको अन्तिम साता वा डिसेम्वरको पहिलो साता भित्र अन्तर्राष्ट्रिय सम्मेलन आयोजना गर्ने तयारी प्राधिकरणले गरेको छं ।
विसं २०७२ वैशाख १२ गते मध्याह्न ११ः५६ बजे गोरखाको बारपाक केन्द्रबिन्दु भएको ७.६ रेक्टर स्कलको भूकम्पले आठ हजार ९सय ७९ जनाको निधन भएको थियो । २२ हजार ३ सय ९ जना घाइते भएका थिए । रासस

 

प्रकाशित मिति : ११ बैशाख २०७८, शनिबार  ६ : ५६ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।