
७ जेठ०७७ नयाँदिल्ली (रासस÷एएनआइ) : भारतमा दैनिक कोरोना संक्रमितको खंख्यामा उल्येख्य कमी आएको छ । भारतीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयका अनुसार गएको २४ घण्टामा दुई लाख ५९ हजार ५९१ जना नयाँ संक्रमित देखिएका छन् भने तीन लाख ५७ हजार २९५ जना संक्रमणमुक्त पनि भएका छन् ।
भारतमा अझै पनि ३० लाख २७ हजार ९२५ जनामा सक्रिय संक्रमण छ । भारतमा कोरोना देखिएयता २ करोड ६० लाख ३१ हजार ९९१ जना जम्मा संक्रमित भेटिएका र त्यसमध्ये २ करोड २७ लाख १२ हजार ७३५ जना संक्रमणमुक्त भएका छन् ।
भारतमा गत जनवरी १६ बाट कोरोना भाइरसविरुद्धको खोप अभियान शुरु गरेको थियो । यो समयबाट हालसम्म १९ करोड १८ लाख ७९ हजार डोज खोप लगाइएको छ ।
भारतमा कोरोनाभाइरस महामारीको संक्रमणबाट मृत्यु हुनेको दैनिक संख्यामा कमी आउन सकेको छैन । विगत २४ घण्टामा थप चार हजार २०९ जनाको मृत्यु भएको जनाएको छ ।
यो सहित भारतमा कोरोनाको संक्रमणबाट २ लाख ९१ हजार ३३१ जनाको मृत्यु भएको छ । भारतमा बढी घातक मानिएको कोरोनाको दोस्रो लहर शुरु भएयता दैनिक चार हजारको हाराहारीमा संक्रमितको मृत्यु भइरहेको छ ।
भारतीय भेरिएन्ट निकै घातक रहेको र बिरामीलाई तत्कालै अक्सिजन दिनुपर्ने देखिएको छ । विज्ञहरुको भनाईमा भारत सरकारले सार्वजनिक गरेको विवरण भन्दा बढी संख्यामा कोरोना संक्रमितको मृत्यु भएको छ ।
यद्यपी यसको प्रष्ट विवरण प्राप्त भइसकेको छैन । भारतमा पछिल्ला केही दिनदेखि कोरोनाबाट संक्रमितको संख्या भने घटेको छ ।







प्रतिक्रिया