१७ पुस २०८२, बिहिबार | Thu Jan 1 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

समाचार


भक्तपुरमा सांसद विकास कोषको योजना अनुगमन




१३ साउन ०७८, भक्तपुर । जिल्ला समन्वय समिति भक्तपुरले भक्तपुर नगरपालिकाभित्र भएका विभिन्न विकास आयोजनाको स्थलगत अनुगमन गरेको छ । जिसस प्रमुख नवराज गेलालको नेतृत्वमा उपप्रमुख सरिता कुँवर, जिल्ला समन्वय अधिकारी जगन्नाथ लामिछानेसहितको टोलीले मङ्गलबार नगरपालिकाभित्र सङ्घीय तथा वाग्मती प्रदेश सरकारको बजेटबाट भएको भौतिक पूर्वाधार निर्माणको स्थलगत अनुगमन गरेको हो ।
सङ्घीय सांसद प्रेम सुवाल र वाग्मती प्रदेशसभा सदस्य सुरेन्द्रराज गोसाईँमार्फत आएको केन्द्र र प्रदेश सरकारको बजेटबाट आव २०७७÷७८ मा भएका नौवटा योजनाको टोलीले अनुगमन गरेको हो । विसं २०७२ को महाभूकम्पले भत्किएको भक्तपुर नगरपालिका २ स्थित शारदा माध्यमिक विद्यालयको सङ्घको रु २५ लाख र प्रदेशको रु ४० लाखको लागतमा भइरहेको भवन निर्माणको टोलीले अनुगमन गरेको छ ।

टोलीले सङ्घीय सरकारकै रु २५ लाखको बजेटमा निर्माणको अन्तिम चरणमा पुगेको १०० वर्ष पुरानो लन्चा फल्चा (बाटो छेउको पाटी) को अनुगमन गरेको छ । भदौसम्ममा निर्माण सम्पन्न हुने पाटी ३० वर्ष अगाडि भत्किएर जीर्ण भएपछि यो ठाउँको नाम नै भत्केको पाटी रहन गएको उपभोक्ता समितिका अध्यक्ष कृष्णनारायण पुमरीले जानकारी दिए । टोलीले वाग्मती प्रदेशको रु १० लाखको लागतमा निर्माण सम्पन्न भक्तपुर नगरपालिका १ स्थित गणेश माविको हल, नःपली पुलबाट नःपली चोकसम्मको ग्याबियन पर्खाल र सडक कालोपत्रको अनुगमन गरेको छ । साथै टोलीले प्रदेशकै रु ४० लाखको बजेटमा भक्तपुर नगरपालिका २ शहीद स्मृति बाल उद्यानको निर्माण अन्तिम चरणमा पुगेको र रु ३० लाखको लागतमा वडा नं ४ स्थित राममन्दिर काउण्टरबाट मूदीप पछाडिसम्मको सडक ट्र्याक निर्माणको अनुगमन गरेको छ ।
टोलीले प्रदेशको रु ५० लाखको बजेटमा निर्माण सम्पन्न भएको भक्तपुर नगरपालिका ८ स्थित लिवाली आवास क्षेत्रको सडकपेटीको स्तरोन्नति र रु २० लाखको बजेटमा लिवाली बालविकास स्कूल परिसरको उत्तरतर्फको खुला क्षेत्रमा ढुङ्गा छपाइ र उद्यान निर्माणको अनुगमन गरेको छ । जिसस सदस्य उमेश श्रेष्ठ, शकुन्तला श्रेष्ठ, गीता देउजा, कमला पोखरेल, बाबुकाजी श्रेष्ठ, श्रीराम ब्याञ्जु, गीता बिसुंखे, भक्तपुर नगरपालिकाका प्रशासकीय अधिकृत दामोदर सुवाल, योजना इञ्जीनियर श्रीकृष्ण न्याइच्याइसहितको टोलीले स्थलगत अनुगमन गरेको हो ।
जिसस प्रमुख गेलालले अनुगमनका क्रममा प्रभावकारी रूपमा काम भएको पाइएको बताउँदै अनुगमनमा गुणस्तरीय काम भए÷नभएको, कुन–कुन योजना सम्पन्न भए, कुन–कुन योजना सम्पन्न बाँकी छन्, सबै योजना कहिलेसम्म सकिन्छ त्यसको जानकारी लिएको बताए । जिसस समन्वय अधिकारी लामिछानेले अनुगमनका क्रममा काम प्रभावकारी भए पनि कार्यस्थलमा योजनाको विवरणसहितको बोर्ड नराखिएको बताए । उनले उपभोक्ता समितिका अध्यक्षहरुलाई तत्काल सबै योजनामा बजेट, मितिसहित वितरण भएको बोर्ड राख्न आग्रह गरे ।

भक्तपुर नगरपालिकाका प्रशासकीय अधिकृत सुवालले सबै योजना ठेक्का नलगाई उपभोक्ता समितिमार्फत गराएकाले समितिमार्फत काम गर्दा थोरै बजेटमा धेरै काम भएको बताए । प्रदेशसभा सदस्य गोसाईँमार्फत आएको थप बजेटमध्ये रु १० लाखको लागतमा भक्तपुर नगरपालिका ८ स्थित भीम आदर्श आधारभूत विद्यालयको प्लाष्टर र भ¥याङ छोप्ने कार्य, रु १२ लाख ३० हजारको लागतमा समाज सुधार माविको शौचालय निर्माण तथा प्लाष्टर गर्ने कार्य, रु १० लाखको लागतमा भक्तपुर नगरपालिका ७ स्थित चण्डेश्वरी आधारभूत विद्यालयको पर्खाल निर्माण, रु १० लाखकै लागतमा समाजसेवा इन्स्टिच्युटमा झ्यालखापा र प्लाष्टर गर्ने कार्य भइरहेको छ ।
रु २० लाखको बजेटमा भक्तपुर नगरपालिका ६ स्थित प्रभात माविको पर्खाल, ढल निकास र शौचालय निर्माण, रु २० लाखको बजेटमा वडा नं २ स्थित वासु माविको पर्खाल निर्माणकार्य भइरहेको भक्तपुर नगरपालिका प्रशासकीय अधिकृत सुवालले जानकारी दिए ।

 

प्रकाशित मिति : १३ श्रावण २०७८, बुधबार  ११ : ११ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।