१७ पुस २०८२, बिहिबार | Thu Jan 1 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

समाचार


दुई पांग्रे सवारी साधन दुर्घटनाको उच्च जोखिममा




१ भदौ ०७८,तनहुँ । तनहुँमा गत बर्ष ९० स्थानमा सडक दुर्घटना भयो । २०७७÷७८ मा भएको सडक दुर्घटनामा १ सय ३० सवारी दुर्घटनामा परे । दुर्घटनामा धेरै दुई पांग्रे सवारी पर्ने गरेको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालयकाअनुसार ६६ मोटरसाइकल र स्कुटर दुर्घटनामा परेका हुन् । १८ ट्रक÷ट्यांकर, जिप÷कार १७, ट्याक्टर १७, बस ५, माईक्रोबस चार र एउटा ट्रिपर दुर्घटनामा परेको छ ।
सवारी दुर्घटनामा परी एक बर्षको अवधिमा ४८ जनाले ज्यान गुमाएका छन् । ३७ पुरुष, ८ महिला र ३ बालकले ज्यान गुमाएका हुन् । ७६ जना गम्भीर घाईते र ५१ जना सामान्य घाईते भएको प्रहरीले जनाएको छ ।
२०७६÷७७ मा ४४ जनाको सडक दुर्घटनाले प्राण खोसेको थियो । २०७५÷७६ मा ६० जनाको मृत्यु भएको ट्रफिक प्रहरीको तथ्याङ्कमा उल्लेख छ । यो तीन बर्षको अवधिमा १ सय ५२ जनाले सडक दुर्घटनामा ज्यान गुमाए । तीन बर्षे सडक दुर्घटनाको तथ्याङ्कलाई केलाउँदा धेरै दुर्घटना दुई पांग्रे सवारीको हुने गरेको छ । एक सय ६८ मोटरसाईकल र स्कुटर दुर्घटनामा परेका थिए । जबकि तीन बर्षमा ३ सय ८९ सवारी दुर्घटना भएका थिए ।
सडकको भौगोलिक बनावट र खाल्डाखुल्डी धेरै हुँदा दुई पांग्रे सवारी बढी दुर्घटनामा पर्ने ट्राफिक कार्यालय तनहुँका प्रमुख प्रहरी नायव निरीक्षक डोलेन्द्रबहादुर हमाल बताउँछन् । उनी भन्छन्, ‘दुई पांग्रे सवारीको संख्या पनि धेरै छ, व्यक्तिपिच्छे नै । टिनएजरले बढी लापरवाही गरेर चलाउँछन् । ओभरस्पिड गर्ने, स्पिडमा प्रतिष्पर्धा गर्ने । यी कारण पनि मोटरसाईकल स्कुटर बढी दुर्घटनामा पर्ने गरेका हुन् ।’
दुर्घटना कम गराउन ‘चालकसँग एक मिनेट’ अभियान चलाइरहेको हमालले जानकारी दिए । चालकलाई घरबाट समयमै यात्रामा निस्कन, विस्तारै चलाउन, हेलमेट लगाउन, लागु पदार्थ तथा मादक पदार्थ सेवन नगरी सवारी चलाउन सचेत गराउने उनले बताए ।
जिल्लामा बढी जसो दुर्घटना पृथ्वी राजमार्गममा हुन्छ । कोत्रे, गाछेपानी, अकला, गुणादी, कमलबारी, नाहाल, विमलनगर, पावरहाउस पृथ्वीराजमार्गमा बढी दुर्घटना हुने स्थान हुन् । वर्षौ पुरानो खाल्डाखुल्डी भएको सडकमा धेरै सवारी गुड्ने र जथाभावी ओभरट्याक गरेर हुइँकाउँदा दुर्घटना बढेको प्रहरीको भनाइ छ । पछिल्लो समय ग्रामिण सडकमा पनि दुर्घटना बढेको छ ।
दुर्घटनामा मात्रै होइन सवारी नियम अटेरी गर्नेमा पनि दुई पांग्रे सवारी अग्रस्थानमा छन् । २०७७÷७८ मा ६ हजार ६ सय ६ सय ४६ मोटरसाईकल स्कुटर कारबाहीमा परेका छन् । कारबाहीमा परेका दुई पांग्रे सवारी साधनबाट ४६ लाख ७९ हजार ५ सय रुपैयाँ राजस्व संकलन गरेको प्रहरीले जनाएको छ ।
एक बर्षको अवधिमा २० हजार सवारीलाई कारबाही गरिएको थियो । एक करोड ३१ लाख २३ हजार पाँच सय रुपैयाँ राजस्व संकलन भएको छ । ५ हजार ७ सय ४५ ट्रक टिपर, १ हजार ८ सय १८ बस, ४ हजार ७३ कार÷जिप, १ हजार ५ सय ८७ ट्याक्टर र १ सय ३१ अन्य सवारी कारबाहीमा परेका हुन् ।
आर्थिक बर्ष २०७६÷७७ मा २१ हजार १ सय ५० सवारीलाई कारबाही गर्दा १ करोड ३४ लाख ५१ हजार रुपैयाँ राजस्व संकलन भएको थियो । २०७५÷७६ मा १ करोड ६६ लाख ९४ हजार ५ सय रुपैयाँ राजस्व संकलन भएको थियो । त्यो समय २६ हजार ६ सय ४६ सवारीलाई कारबाही गरिएको थियो ।

प्रकाशित मिति : १ भाद्र २०७८, मंगलबार  २ : ३० बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।