
१ भदौ ०७८,सुर्खेत । दैलेखको दुल्लु नगरपालिका ३ का रमेश खड्का ७ कक्षामा अध्ययनरत छन् । उनलाई अनलाइन कक्षा भनेको के हो भन्नेसम्म थाहा छैन । कोरोना महामारीले विद्यालय बन्द भएपछि उनको कापी किताब र झोला जहाँको त्यहीँ छ । घर खर्च चलाउन र विद्यालय खुलेपछि कापी कलम जुटाउन दैलेखबाट सुर्खेत झरेर बुलबुलेमा फलफुल बेच्दै आएका छन् । यता फलफुल बेच्दा उता विद्यालय बिर्सँदै छन् । लामो समय विद्यालय बन्द रहँदा रमेशमा पढ्ने रुची पनि कम हुँदै गएको छ । बुबुलेमा आप, केरा लगायतका फलफुल बेच्दै उनको समय बित्छ ।
त्यस्तै ठाटीकाँध ३ विशालाकी मनिषा भण्डारी पनि कोरोनाका कारण परीक्षा नदिएरै उपल्लो कक्षा १० मा पुगिन् । विद्यालय बन्द हुँदा घरमै बसोवास छ । उनको पनि दैनिकी प्राय चुलोमा खाना बनाउनमै बित्छ । बाँकी समय गाइभैँसीलाई घाँसपात बनाउनमै ठिक्क हुन्छ । ‘विद्यालय जाउँ त बन्द छ । अनलाइन कक्षा पढौं त इन्टनेटको सुविधा छैन । विहान साँझको समय खाना बनाउँदै र दिउँसोको समय गाईभैँसीलाई घाँसपातमै ठिक्क छ,’ मनिषा भन्छिन् ।
सुर्खेतको पञ्चपुर नगरपालिका २ का निर्मला थापा पनि तीन कक्षामा अध्यनरत विद्यार्थी हुन् । कोरोनाका कारण विद्यालय नगएको महिनौ भइसक्यो । विद्यालय बन्द भएदेखि अनलाइन कक्षा पढ्नु सपना जस्तै छ उनलाई । गाउँमा नेटको पहुँच नभएका कारण अनलाइन कक्षा छैन । अनलाइन क्लास पढ्नु त परको कुरा, अनलाइन कलासबारे आधारभूत जानकारी पनि छैन । विद्यालय बन्द भयो । त्यहीँ दिनबाट निर्मलाले किताब समाएकी छैनन् । उमेरले नौ वर्ष पुगेका उनको दैनिकी ढुंगा माटोको घर बनाउँदै दिन बित्छ । ‘घरमा सिकाउने÷सम्झाउने कोही छैनन्,’ उनले भनिन्, ‘विद्यालयको मुहार नदेखेको पनि लामो समय भइसक्यो, विद्यालय खुलेको भए साथीभाइसँग रमाइलो गर्दै विद्यालय पढ्न जाने मन हुन्छ । घरमा पढ्न मन लाग्दैन ।’
सुर्खेतको वीरेन्द्रनगरमा बस्दै आएकी दैलेख भैरवी गाउँपालिकाकी ममता थापा ६ कक्षामा पढ्छिन् । उनले अहिले अनलाइन कक्षा पढिरहेकी छन् । अनलाइन कलास पढे पनि प्रत्यक्ष रुपमा कक्षामा पढेजस्तो नहुने उनको अनुभव छ ।
‘अनलाइन कलास पढ्दा केही समय बुझेजस्तो हुन्छ पछि विर्सिन्छु,’ उनले भनिन्, ‘अनलाइन कलासमा बस्दा बस्दै दिक्क लाग्छ । आँखा दुख्छ । टाउकोसमेत दुख्छ । कक्षामा पढेजस्तो हुँदैन ।’
दुर्गममा छैन अनलाइन कक्षाको पहुँच
नेपालजस्तो विकासोन्मुख देशमा इन्टरनेट तथा बिजुलीको सुविधा गाउँ–गाउँसम्म समान रूपमा पुग्न सकेको छैन । दुर्गमका विद्यार्थी अनलाइन कलासको पहुँच बाहिर छन् । प्रविधिको पहुँच भएका विद्यालयमा अनलाइन कक्षा संचालन भए पनि इन्टनेटको पहुँचबाहिरका विद्यार्थी वञ्चित छन् ।
अनलाइन कक्षाको दीर्घकालिन असर
अनलाइन कक्षाले केही समयको लागि राम्रो गरे पनि दीर्घकालिन रुपमा असर गर्ने कृष्ण माध्यामिक विद्यालय ठाटीकाँधका शिक्षक सुरेन्द्र थापा बताउँछन् ।
‘भौतिक रूपमा कक्षाकोठामा उपस्थित भई शिक्षक विद्यार्थीबीचको अन्तक्रियाबाट सम्पन्न हुनुपर्ने शिक्षण सिकाइ क्रियाकलापको परिपुरक अनलाइन शिक्षण विधि हुन नसके पनि वर्तमान सङ्कटपूर्ण अवस्थाको सबैभन्दा भरपर्दो र प्रभावकारी विधि भने अनलाइन कक्षा हो । तर यसले दीर्घकालिन रुपमा असर गर्नसक्छ,’ उनले भने ।
नेपालमा २५ प्रतिशत जनसंख्या अझै पनि गरिबीको रेखामुनि रहेको र ६३ प्रतिशत जनसंख्यामा इन्टरनेटको सामान्य पहुँच पुगे पनि त्यसको गुणस्तर छैन ।
वर्तमान परिस्थितिमा सबैभन्दा राम्रो विकल्पका रूपमा अनलाइन पद्धति रहे प्रनि प्रविधिसँग अनुकूल हुने किसिमको शिक्षण विधि, आवश्यक किसिमको अनुगमन नियन्त्रणको व्यवस्था तथा विद्यार्थीमैत्री वातावरणको अभावले विद्यालय तहको अनलाइन शिक्षा पूर्ण प्रभावकारी हुननसकेको शिक्षकहरु बताउँछन् ।
कुलतमा फस्ने चिन्ता
पहिले विद्यालयमा नियमित रुपमा गएर शिक्षा हासिल गर्ने विद्यार्थी अहिले कोही घरायसी काम र विभिन्न कुलतमा फस्दै गएकोमा अभिभावकलाई पिरोलिरहेको छ ।
‘इन्टनेट भएको ठाउँमा अनलाइन कक्षा पढेका छन्, तर हामी दुर्गममा बसेका छोराछोरीले कहिले अनलाइन कक्षा पढ्न पाउँलान्,’ दैलेख ठाटीकाँधका रातो सुजीले दुखेसो पोखे, ‘पहिले नियमित रुपमा विद्यालय जाने मेरो छोरा अहिले नत किताब हेर्छ नत भनेको नै मान्छ । जति सम्झाउँदा पनि मान्दैन । पढ् भन्दा विद्यालय खुल्दैनन् किन पढ्ने भन्छ ।’
‘दिनभरी साथीहरुसँग बरालिएर हिड्छ, पढ न बाबु भन्दा कोरानाले गर्दा नपढे पनि पास भइहाल्छु चिन्ता नगर्नु बुबा भन्छ,’ उनले सुनाए । रातो सुजी र उनका छोरा एक प्रतिनिधि पात्र मात्र हुन् । विद्यालय बन्दले दुर्गमका विद्याथीहरुको दिनचर्या यसरी नै व्यतित भइरहेको छ ।







प्रतिक्रिया