१६ पुस २०८२, बुधबार | Wed Dec 31 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

समाचार


मेलाम्ची क्षेत्रमा बगिरहेको छ हेलम्बुको पहाड



१९ भदौ ०७८,हेलम्बु । चरक्क चर्किने घाम पहाडका केही थुम्कालाई छेल पारेर बसेको कुहिरो, यही पहाडको बीचबाट बग्दै गरेको मेलम्ची खोला । जब कुहिरो बाक्लिन्छ अनि मुटु काँप्न थाल्छ हेलम्बुवासीको । यसरी प्रकृतिसँगै डराएर रात काट्न बाध्य छन् उनीहरु ।
शनिबार भने दिनभर सिन्धुपाल्चोकको हेलम्बु क्षेत्रको मौसम सफा थियो । त्यसैले मेलम्ची खोलाका दायाँबायाँ किनारा चियाउन सकियो जहाँबाट बाढी र पहिरालो छियाछिया पारेका तटीय बस्ती र अलिक परका गाउँ स्पष्ट देखिन्थ्यो । माथिबाट चियाउँदा लाग्थ्यो खोला किनारबाट सयौँ मिटर माथिसम्म पहाड थिल्थिलो परेको छ । अहिले पनि अर्थात् बिना वर्षा नै पनि ठाउँठाउँका पहाडबाट गेग्य्रान खसिरहेको छ । जङ्गलबीचका सेतो कमेरे माटोका धर्साहरु त्यही हेलम्बुको पहाड चुहिएर बनेका छन् । यसरी हेर्दा लाग्छ अहिले पनि बगिरहेको छ हेलम्बुको पहाड । अनि प्रकृतिले उत्पन्न गरेको त्रासमै बाँचिरहेका छन् यहाँका बासिन्दा ।
कतिपय स्थानमा चोइटिएका पहाडबाट सुक्खा पहिरो खस्दै थियो भने कतै खस्न ठिक्क परेका ढुङ्गा माटोका ढिक्का थिए । खोला किनारको तल्ला तहमा माथिबाट बगाएको बाढीले थुपारेर ठूलो बगर बनाएको छ । खोलाले किनाराका बगर छेउछाउ कटान गर्ने क्रम पनि जारी नै थियो । हेलम्बुको माथिल्लो स्थानमा कलकल बगेको सङ्लो पानी तल्लो तहमा आइपुग्दा बाढीमा परिणत हुने क्रम अझै रोकिएको छैन ।
“थोरै पानी पर्दा जुनसुकै बेला तल्लो तटीय क्षेत्र जोखिममा छ, भत्किएको पहाड १० प्रतिशत पनि खसेको छैन, अझै धेरै खस्न बाँकी छ, त्यसैले मेलम्ची र हेलम्बुवासी जोखिममै दिन काट्न बाध्य छन्”, हेलम्बु गाउँपालिकाका अध्यक्ष निमा ग्याल्जेन शेर्पाले भने । यसो बाहिरबाट हेर्दा नै मक्किएझैँ देखिएका पहाड खसेर बाढीको उदण्ड रुप देखाउन सक्ने जोखिम अझै छ । त्यसैले सानो पानी पर्दा नै तल्लो तटीय क्षेत्रका बासिन्दालाई रातमा निद्रा लाग्दैन ।
माथिल्लो तहमा गेगर बग्ने क्रम नरोकिए पनि मेलम्ची बजारलगायत नदी आसपासमा पुरिएका घर खोतल्ने र पुरानै अवस्थामा फर्काउने प्रयास पनि भइरहेका थिए । मेलम्ची नगरपालिका ११ की मैया दुलालको घर पनि अन्य छिमेकीको झैँ दुई तला पुरिएको थियो । एक्जाभेटर लगाएपछि अहिले घरको भुइँतला फेला पारेकी छिन । मजदुर लगाएर घर खोतल्दै गरेकी उहाँलाई पनि अझै मेलम्ची आउने डर हटेको छैन ।
कतिपय घर खोलाभित्रै पुरिएका छन् भने कति घर बगाएका छन् । अनि कति घरको चार तलासम्म बगर भरिएको उहाँले सुनाउनुभयो । त्यसको माथिल्लो क्षेत्र हेलम्बुका ठाउँठाउँका खोला किनारसमेत तहसनहस भएपछि विस्थापितहरु अस्थायी टहरामा बसिरहेका छन् । उनीहरु स्थायी बसोबासको माग गरिरहेका छ्न ।

शनिबार हेलिकप्टरबाट देखिएको मेलम्ची खोलाको दृश्य । तस्वीर : नारायण ढुङगाना\रासस

गएको असार १ र १६ गते आएको भीषण वर्षापछिको बाढीले त्यस्तै पीडा भोगिरहेको बस्ती हो हेलम्बु गाउँपालिका–२ को गणेशेबगर । नामको बगरलाई साँच्चिकै बगरमा परिणत भएपछि यहाँका ४५ परिवारका घर खेतमा खोला हिँडेको छ । केही घर खोलामा पल्टिएर बसेको छ । केही बगरभित्र पुरिएको छ केही घरको त निशाना नै नामेट छ । पीडित स्थानीयवासी भने त्यही भग्नावशेषमा हिँडेको खोलो टुलुटुलु हेरेर बसेका छन् । उनीहरुका पक्की घरबाट खोला हिँडेको छ तर उनीहरु भने केहीमाथि अस्थायी टहरामा बसिरहेका छन् ।
“अब हामी कतिञ्जेल अस्थायी टहरामा बस्ने, हामीलाई स्थायी बसोबासको व्यवस्था मिलाइदिनुप¥यो”, आज गृहमन्त्री बालकृष्ण खाँणसामु बाढीपीडित राम तामाङले अनुनय गरे । उनले समूहमा मिलेर खाना खाने गरे पनि दैनिक जीवनयापनमा ठूलो समस्या परेको दुखेसो पोखे । गृहमन्त्री खाँणले अवश्यक व्यवस्थापनका लागि सरकार गम्भीर रहेको र छिट्टै निकास पाउने आश्वासन दिएर फर्केका छन् । उनले विपद् व्यवस्थापनमा लागेका सङ्घसंस्थालाई तत्काल गर्नुपर्ने कामका विषयमा योजना तयार पारेर काम गर्नसमेत निर्देशन दिएका छन् । “सबैभन्दा पहिलो कुरा बाटो, पुल, राहत, उद्धार, गाँस र बासस्थानलगायत हो, त्यसलाई कसरी हुन्छ सम्भव गर्नुप¥यो, राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रमुख अनिल पोखरेललाई गृहमन्त्री खाँणले भने ।
हवाई तथा स्थलगत निरीक्षण अध्ययनपछि गृहमन्त्री खाँणले त्यस क्षेत्रमा कमलो भूबनोटका कारण लेदो आएर तहसनहस पारेको बताउँदै तत्कालका लागि अत्यावश्यक ठाउँमा कजवे, झोलुङ्गे पुल बनाइहाल्नुपर्ने आवश्यकता औँल्याए ।
“कतिपय ठाउँमा बस्ती बस्न नसक्ने छ, त्यहाँका मानिसलाई नयाँ घर नै बनाउनुपर्छ”, उनले भने “सिन्धुपाल्चोकलाई बाढी पहिरो र भूकम्पले विपद् निम्त्याइरहनु दुःखद् छ ।” दीर्घकालीन समाधानका लागि माथिदेखि नै चेकड्यामको आवश्यकता महसुस गर्नुभएका गृहमन्त्री खाँणले पुनःनिर्माण प्रारम्भ गर्न छुट्टै कार्ययोजनासहित काम गर्नुपर्नेमा जोड दिएका छन ।
बस्तीतर्फ धार सोझ्याउँदै छन् कोसी र कमला
पहाड र हिमाली क्षेत्र पहिराले ठूलो जोखिम छ । हेलम्बु, मेलम्चीलगात धेरै पहाडी र हिमाली क्षेत्र माथिबाट आएको पहिरो र त्यसपछिको बाढीले तहसनहस बनाइरहेका बेला तराईमा डुबानका साथै ठूला नदीले धार परिवर्तन गर्न खोज्नु अर्काे चुनौतीको विषय बनेको छ ।

यसपालि पनि सुनसरीको चतराघाटको सिमानामा पर्ने उदयपुरको बेलका नगरपालिका ८ डुम्रीबोटमा झण्डै डेढ किलोमिटर क्षेत्र सप्तकोसीले कटान गरिसकेको छ । “केही अघिको बाढीले त्यस क्षेत्रमा १०० मिटरभित्र पसिसकेको छ भने अब २० मिटर मात्रै काट्न पाएको भए नदीको धार नै परिवर्तन हुन्थ्यो”, स्थानीय राजकुमार चौधरीले भने ।
त्यस क्षेत्रबाट विसं २०३४ अघि सप्तकोसी हिँडेको थियो । पछि धार परिवर्तन भएर सप्तकोसी मोडियो । सुनसरी मोरङ सिँचाइ आयोजनाका प्रमुख भिलानन्द यादव भन्नुहुन्छ, “अहिले नदीले त्यही पुरानो बाटो खोज्दै छ, बेलैमा ध्यान पुगेन भने यहाँबाट नदी छिर्दा, त्यसभन्दा तल्लो तहका धेरै बस्ती बग्नेछ ।”
यस क्षेत्रमा आज स्थलगत अवलोकन गरेपछि गृहमन्त्री खाँणले जलवायु परिवर्तनका कारण नदीले धार परिवर्तन गरिरहेको उल्लेख गर्दै, पहिलो कोसीले पूर्व क्षेत्रमा कटान गरेकामा पछिल्लो समयमा पश्चिम क्षेत्रमा धार परिवर्तन गर्न खोजिरहरको छ भने । उनले कोसी बाढी डुबानबाट जनतालाई कसरी सुरक्षित बनाउने भन्नेमै सरकारको ध्यान रहेको बताए । त्यहाँ कटान भएमा तल्लो तहका बस्तीका ३०० बढी घरलाई प्रभावित पारिहाल्छ ।
यता कमला नदीले पनि धनुषा र सिरहाको धेरै क्षेत्रमा असर गरिहेको छ । कटान गरेर ठाउँठाउँमा धार परिवर्तन गर्न खोजिरहरको छ । धनुषाको सबैला नगरपालिका–१३ किरतपुरमा मात्रै एक हजार १०० मिटर बाढीले कटान गरेको छ ।
सप्तरी क्षेत्रमा चारवटा र धनुषापट्टि तीनवटा एक्जाभेटर प्रयोग गरेर नदी खोल्ने र खोला फर्काउने काम गरिएको थियो । त्यही बेला सुरक्षाकर्मी र स्थानीयवासी मिलेर हजारौँ बोरामा बालुवा भरी नदी कटान नियन्त्रण गरेका थिए । त्यसकारण साउनको पहिलो हप्ता आएको बाढी बस्तीमा पस्न नपाएको कमला नदी नियन्त्रण आयोजनाका प्रमुख एकराज भट्टराई बताउछन् । त्यहाँबाट नदी पसेमा भने सबैला नगरपालिकाको तीन र मदन नगरपालिकाको पाँचवटा वडा, शहिदनगर नगरपालिका, जनकनन्दनी गाउँपालिकाका विभिन्न वडा तथा भारतको जयनगरसमेतलाई असर गर्ने पनि उनले सुनाए । त्यसले कम्तीमा २७ हजार घरधुरीका एक लाख बढी मानिसलाई प्रभावित बनाउने अनुमान गरिएको छ ।
१९ भदौं ०७८, सिन्धुपाल्चोक । अहिले अस्थायी तटबन्धका लागि करिब रु साढे २ करोड खर्च भएको छ । यहाँ स्थायी तटबन्धका लागि भने रु ४० करोड माथि लाग्ने अनुमान गरिएको छ । यस क्षेत्रमा पनि गृहमन्त्री खाँणले स्थलगत निरीक्षण तथा अनुगमन गरी जानकारी लिनुभएको थियो ।
“साझा प्रयत्नले ठूलो दुर्घटना हुनबाट जोगिएछ, अब यसलाई स्थायी तटबन्ध बनाउनुपर्छ, त्यसप्रति सरकार गम्भीर छ”, स्थानीयवासीको मागप्रति मन्त्री खाँणले आश्वासन दिँदै भने । सानोतिनो प्रयासले हुन्न गम्भीरतावूर्पक कदम चाल्नुपर्ने देखिएको पनि उनले बताए । उनसँगै आज हवाई तथा स्थलगत निरीक्षणमा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा विश्वनाथ पौडेल, हेलम्बु गाउँपालिकका अध्यक्ष निमा ग्याल्जेन शेर्पा, पूर्वमन्त्री मोहनबहादुर बस्नेत, प्रतिनिधिसभाका सदस्य शेरबहादुर तामाङ, प्रदेश सांसद युवराज दुलाल र निमा लामा, गृहसचिव टेकनारायण पाण्डे, सडक विभागका महानिर्देशक अर्जुन थापा, सिँचाइ विभागका उपमहानिर्देशक प्रदीप थापा, राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत अनिल पोखरेललगायतको सहभागिता थियो ।

प्रकाशित मिति : १९ भाद्र २०७८, शनिबार  ९ : ५६ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।