१३ पुस २०८२, आइतबार | Mon Dec 29 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

समाचार


नेपालबाट लोप भएको छैन धनेश




१२ पुस ०७८, इलाम । अनुसन्धानविना नेपालबाटै लोप भइसकेको भनिएको धनेश भेटिएको छ । काँकडभिट्टाका वाइल्ड लाइफ फोटोग्राफर देवेन खरेलले इलामको सूर्योदय नगरपालिका–१ गोर्खेस्थित सिमधापमा हालै धनेश (हङ्रायो)को फोटो कैद गरेपछि नेपालबाट लोप भइसकेको छैन भन्ने पुष्टि भएको हो ।
नेपालमा नै फोटो कैद हुनुले नेपालबाट धनेश लोप नभएको पुष्टि भएको पंक्षीका खोजकर्ता खरेलले बताए । ‘चराको अध्ययनको क्रममा मैले अहिलेसम्म हासिल गरेको दोस्रो उपलब्धि हो,’ खरेलले भने, ‘जीव विज्ञान तथा पंक्षीको अध्ययन गर्नेहरूको लागि यो ठुलो कुरा हो ।’ खरेलले हङ्रायो भेटिएको क्षेत्रलाई संरक्षण र खोज अनुसन्धानको केन्द्र बनाउन सकिने सुझाव दिए ।
हङ«ायो पहिलो पटक सन् १८२९ मा नेपालमा भेटिएको थियो । त्यसपछि सन १८५० मा नेपालबाटै संकलन गरिएको हङ्रायोको नमुना बेल्जियममा संग्रहित गरिएको बताइन्छ । खरेलले आफूले भेटेको हङ्रायो रैथाने हुनसक्ने बताउँछन् ।
‘उनीहरूको हाउभाउ हेर्दा वासस्थान पनि नजिकै हुनुपर्छ, डुलन्ते भए एकै ठाउँमा धेरैबेर बस्दैन’, उनले भने, ‘स्थानीयले पनि त्यहाँ लप्सीको बोटमा देखेका रहेछन्, हामीले फोटो देखाएपछि स्थानीयले पहिले पनि त्यो चरा त्यहाँ देखेको सुनाए ।’
नेपालमा डेढसय वर्षयता हङ्रायो देखिएको थिएन । लामो समयदेखि नेपालमा नदेखिएपछि सन १९८५ पछि नेपाबाट हङ्रायो हराएको अनुमान गर्न थालिएको थियो । विज्ञहरूको अनुसन्धानविना नै सन् २०२० आइयुसिएनको चरासम्बन्धी डकुमेन्टमा हङ्रायो नेपालबाट लोप भइसकेको उल्लेख गरिएको जैविक विविधताका अध्येता कमल मादेनले बताए ।
‘नेपालमा अनुसन्धानै नगरी हङ्रायोलाई नेपालबाट लोप भएको चराहरूको सूचिमा गणना गर्न थालिएको थियो’, मादेनले भने, ‘नेपाललमानै पहिलो पटक फोटो कैद भएपछि नेपालबाट लोप भएको छैन भन्ने पुष्टि भयो ।’
नेपालमा ८८६ प्रजातिका चराचुरुङ्गी पाइन्छ । नयाँ फेला परेका दुई प्रजातिका चरा सूचीकरणको प्रक्रियामा छन् । ती प्रजातिको सूचीकरण पूरा भएपछि नेपालमा पाइने चराचुरुङ्गीको संख्या ८८८ पुग्नेछ । इलाममा मात्र ४०० भन्दा बढि प्रजातिको चराचुरुङ्गी पाइने गरेको अनुमान छ ।

तस्बिरः देवेन खरेलको फेसबुकबाट साभार

प्रकाशित मिति : १२ पुस २०७८, सोमबार  ११ : ३० बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।