
२० पुस ०७८, भक्तपुर । भक्तपुरमा १८ वर्ष उमेर पुगेका मतदाताको सङ्ख्या एक लाख ८६ हजार ९ सय १ रहेको छ । जिल्ला निर्वाचन कार्यालयले नगरपालिकास्तरमा आयोजना गरेको एकमहिने फोटोसहितको मतदाता नामावली सङ्कलन अभियानअन्तर्गत दुई हजार ५ सय ३० नयाँ मतदाताले नाम दर्ता गराएका छन् ।
कार्यालयका सूचना अधिकारी भीमबहादुर विसीका अनुसार भक्तपुर नगरपालिकामा ५७ हजार ३ सय ८३, सूर्यविनायक नगरपालिकामा ४६ हजार २ सय ९५, मध्यपुर थिमि नगरपालिकामा ४१ हजार २ सय ९६ र चाँगुनारायण नगरपालिकामा ४१ हजार ९ सय २७ मतदाता सङ्ख्या पुगेको जानकारी दिएका छन् । जिल्ला निर्वाचन कार्यालयले चाँगुनारायण, मध्यपुर थिमि र सूर्यविनायक नगरपालिकामा सञ्चालन गरिएको अभियानमा एक हजार ३ सय २८ पुरुष र एक हजार २ सय २ महिलाले नाम दर्ता गराएका छन् । भक्तपुर नगरपालिकाको हकमा जिल्ला प्रशासन र जिल्ला निर्वाचन कार्यालयमा आएर नाम दर्ता गराउन आह्वान गरिएको थियो ।
अभियानअन्तर्गत सूर्यविनायकमा महिला २ सय ६४ र पुरुष ३ सय ३९, मध्यपुर थिमिमा महिला १ सय ७३ र पुरुष १ सय ७८, चाँगुनारायणमा महिला ३ सय ३२ र पुरुष ३ सय ८७ तथा भक्तपुर जिल्ला प्रशासन तथा जिल्ला निर्वाचन कार्यालयमा आएर ४ सय २४ पुरुष र ४३३ महिलाले नाम दर्ता गराएका थिए । नगरपालिकास्तरमा अभियान सम्पन्न भए पनि नाम दर्ता गर्न छुटेकाको हकमा जिल्ला प्रशासन वा जिल्ला निर्वाचनमा दर्ता गराउन सकिने सूचना अधिकारी जिसीले जानकारी दिएका छन् ।







प्रतिक्रिया