१३ पुस २०८२, आइतबार | Sun Dec 28 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

समाचार


एकैदिन १५ शिक्षक, विद्यार्थीसहित ४५ जनामा कोरोना पुष्टि



२२ पुस ०७८, तुलसीपुर । दाङको तुलसीपुरमा एकैदिन ४५ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । तीमध्ये २६ शिक्षक तथा विद्यार्थी रहेका छन् । बिहीबार मात्रै सेन्टर मावि तुलसीपुरका शिक्षक र विद्यार्थी गरी १५ जना तथा गुरुजजुर मावि तुलसीपुरका ११ शिक्षक र विद्यार्थीमा कोरोना सङ्क्रमण पुष्टि भएको हो ।
तुलसीपुर उपमहानगरपालिकाका कोभिड–१९ स्थानीय स्रोत व्यक्ति विमल केसीका अनुसार आज २५ महिला र २० पुरुषमा कोरोना सङ्क्रमण पुष्टि भएको हो । सङ्क्रमित हुनेमा १३ देखि ५९ वर्ष उमेर समूहका व्यक्ति रहेका छन् । एक सय ४२ जनाको स्वाब परीक्षण गर्दा ४५ मा कोरोना पुष्टि भएको हो ।
योसँगै तुलसीपुरमा पछिल्लो चार दिनयता ८४ जनामा सङ्क्रमण पुष्टि भएको छ । उनीहरुलाई ओमिक्रोन सङ्क्रमण भएको हो वा होइन् भनी परीक्षणका लागि टेकुमा स्वाब सङ्कलन गरी पठाइएको छ । कोरोना देखिएपछि गुरुजजुर माविलाई पुस २७ गतेसम्म बन्दसमेत गरिएको छ ।
आज दुई वटा विद्यालयका विद्यार्थी तथा शिक्षकमा सङ्क्रमण पुष्टि भएसँगै पाँच वटा विद्यालयमा कोरोनाको सङ्क्रमण देखिएको छ । यसअघि तुलसीपुर–८ स्थित अस्वारा मावि, तुलसीपुर– ६ स्थित राप्ती बाल एकाडेमी र जनता संस्कृत माविका विद्यार्थी तथा शिक्षकमा कोरोना देखिएको हो । केसीका अनुसार अस्वारामा तीन सुस्तश्रवण विद्यार्थी, छ अन्य विद्यार्थी तथा पाँच शिक्षकमा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।
त्यस्तै राप्ती बाल एकेडेमीमा अध्ययनरत दुई विद्यार्थी र जनता संस्कृत माविका एक शिक्षिकामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । विद्यार्थी तथा शिक्षकमा कोरोना देखिएपछि अस्वारा माविलाई एक हप्ताका लागि बन्द गरिएको छ । पछिल्लो समय शिक्षक र विद्यार्थीमा कोरोना सङ्क्रमण देखिएको भन्दै यसका लागि सचेत हुन आवश्यक रहेको केसीले बताएका छन् । “विद्यार्थी र शिक्षकमा नै कोरोना देखिएको छ”, उनले भने, “यसले स्थिति भयावह ल्याउन सक्छ, त्यसैले सचेतना फैलाउन आवश्यक छ ।”
विद्यालयमा नै बढी देखिएकाले केही समयका लागि विद्यालय बन्द गर्ने अवस्था आउनसक्ने उनको भनाइ थियो । उनका अनुसार प्रायः कोही भारतबाट आएका हुन्, भने कोही पोखरा, काठमाडौँलगायतका स्थानमा ‘टुर’ गएका रहेका छन् । उनीहरुमा घाँटी दुख्ने, ज्वरो आउने, जिउ दुख्ने समस्या देखिने गरेको छ । प्रायः भेरोसेल, कोभिसिल्ड खोप लगाएकालाई नै सङ्क्रमण देखिएको र लक्षण पनि देखिने गरेको छ ।

 

प्रकाशित मिति : २२ पुस २०७८, बिहिबार  ८ : ४२ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।