१३ पुस २०८२, आइतबार | Sun Dec 28 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

समाचार


पशुपति मैत्री धर्मशालाका विषयमा छानबिन गर्न समिति गठन



२४ पुस ०७८, काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेको निर्देशनमा मन्त्रालयले पशुपति क्षेत्र विकास कोषका कोषाध्यक्ष नारायणप्रसाद सुवेदीको संयोजकत्वमा एक छानबिन समिति गठन गरेको छ ।
नेपाल–भारत पशुपति मैत्री धर्मशाला सम्बन्धमा छानबिनका लागि उक्त समिति गठन गरिएको हो । पाँच सदस्यीय उक्त समितिका सदस्यमा परिषद सदस्य आशा पाण्डे, विश्वकरण जयन तथा देवीप्रसाद बराल रहनुभएको छ भने मन्त्रालयका लेखा उपसचिव सदस्यसचिव रहेका छन् ।
उक्त समितिलार्ई सात दिनभित्रमा प्रतिवेदन पेश गर्न निर्देशन दिइएको छ । पशुपति मैत्री धर्मशालालार्ई होटेलका रूपमा सञ्चालन गरिएको भन्ने आरोप लागेपछि त्यसको सत्य तथ्य छानबिनका लागि उक्त समिति गठन गरिएको पशुपति क्षेत्र विकास कोषका कार्यकारी निर्देशक डा घनश्याम खतिवडाले जानकारी दिएका छन् ।
उक्त धर्मशालालार्ई पशुपति क्षेत्र विकास कोषले होटेल आनन्द प्रालि (बतास समूह) लार्ई भाडामा दिएको थियो । उक्त समूहले पशुपति मैत्री धर्मशालालाई होटलका रूपमा सञ्चालन गरेको तथा तीर्थालु एवं धार्मिक पर्यटकसँग मनपरी भाडा लिने गरेको आरोप लागेको छ ।

धर्मशालाका विषयमा छानबिनका लागि युवा सङ्घ नेपालको टोलीले पनि मन्त्री आलेलार्ई आज शुक्रबार ज्ञापनपत्र दिएको छ । “मित्र राष्ट्र भारतले पशुपति दर्शनमा आउने तीर्थालु तथा धार्मिक पर्यटकको सुविधाका लागि निर्माण गरेको धर्मशाला व्यावसायिक प्रयोजनका लागि भाडामा दिनु लज्जास्पद विषय हो” उक्त विज्ञप्तिमा उल्लेख छ । ज्ञापनपत्र ग्रहण गर्दै मन्त्री आलेले नेपाल सरकारको मिचिएका जमिनदेखि अधिग्रहण गरिएका सम्पूर्ण संरचना सबै फिर्ता गरिने आश्वासन दिएका थिए ।

 

प्रकाशित मिति : २४ पुस २०७८, शनिबार  ७ : ४५ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।