
१२ चैत्र ०७८, काठमाडौं । कपिलवस्तुका जनप्रतिनिधि र राजनैतिक दलका नेताहरूका इँटा उद्योगमा बालश्रमिक प्रयोग भएका छन् । जनप्रतिनिधि तथा नेताकै इँटा उद्योगमा बालश्रमिक देखिएपछि सरोकारवालाले स्थानीय संघ संस्था, जनप्रतिनिधि, पत्रकार, सामाजिक अभियन्तासहितको संलग्नतामा इँटा उद्योगमा अनुगमन थालेको छ । अनुगमनका क्रममा कपिलवस्तुको महाराजगन्ज र शिवराज नगरपालिकामा रहेका इँटा उद्योगहरूमा धेरै बालबालिका प्रयोग भएको फेला परेको छ ।
उद्योगमा कोही नयाँ व्यक्ति देखियो भने यस्ता बालबालिकालाई रोक्न लगाउने र अरू बेला व्यवसायिले काममा लगाउँदै आएका छन् । बालबालिकाहरू काँचो इँटा ओसार्ने, माटो बोक्ने, फ्रेममा राखेर इँटा बनाउने जस्ता काममा प्रयोग हुने गरेका छन् ।गत वर्ष दलित मानव अधिकार समितिले चारवटा पालिकामा गरेको सर्वेक्षणमा सात सय ५० भन्दा धेरै बालश्रमिक इँटा उद्योगमा कामदारको रूपमा फेला पारेको थियो ।
यस वर्ष त्यो संख्या घटेर पाँच सयको हाराहारीमा रहेको अध्यक्ष परियारले दावी छ । शिवराज, बुद्धभूमि, महाराजगन्ज, कृष्णनगर नगरपालिकाभित्रका इँटा उद्योगमा अनुगमन गरेको र बालश्रमिक धेरै फेला परेको दलित मानव अधिकार निगरानी समितिका अध्यक्ष मिना परियारले बताइन् । ‘महाराजगन्ज नगरपालिकाका जनप्रतिनिधिहरूले सञ्चालन गरेको इँटा उद्योगमै बालश्रमिक रहेका छन् । यता, शिवराज नगरपालिकामा गरेको अनुगमनमा राजनैतिक दलका नेता र उद्योग वाणिज्य महासङ्घका पदाधिकारी कै इँटा उद्योगमा बाल श्रमिक भेटिएको छ ।’
अनुगमनकर्ता तथा नेपाल पत्रकार महासङ्घ लुम्बिनी प्रदेश सदस्य चिन्ता परियारले भनिन् । अनुगमनका क्रममा महाराजगन्ज नगरपालिकाका उपमेयर सुभावती कुर्मीले इँटा उद्योगमा बालश्रम रोक्न नगरपालिकाले योजना अगाडि बढाउने बताइन् । उपमेयर कुर्मी आफै पनि इँटा उद्योगकी सञ्चालिका हुन् । उद्योगमा काम गर्ने भारतीय कामदारका बालबालिका विद्यालय नगई उद्योगमा काम गर्ने अवस्थामा भेटिएको थियो । केही नेपाली कामदारमा बालबालिका समेत बाल श्रमिक रहेका छन् ।







प्रतिक्रिया