
१५ चैत ०७८, काठमाडौं । पुल्लिक, जिमाला जस्ता प्राचिन वस्तु निकालिरहेको अवस्थामा खोटाङमा पाँच जना पक्राउ परेका छन् । खोटेहाङ गाउँपालिका(३ सावाकटहरेका दिलमान विकको बारी खनेर प्राचिन स्मारक चिजवस्तु (पुल्लीक, जिमाला) निकाल्दै गरेको अवस्थामा पाँचथरको फिदिम नगरपालिका–९ का डिल्लीप्रसाद आङदाम्बे, गोकुल आङ्दाम्बे, अशोक आङ्दाम्बे, झिलन आङ्देम्बे र झापा धाइजन गाउँपालिका–७ का सुनबहादुर चेम्जोङ पक्राउ परेका हुन् । प्राचिन स्मारक चिजवस्तु निकाल्दै गरेको गोप्य सूचनाको आधारमा इलाका प्रहरी कार्यालय खोटाङबजारबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय खोटाङका सूचना अधिकारी प्रहरी निरीक्षक सागर शाहले जानकारी दिए ।
उनीहरुको साथबाट प्रहरीले प्राचिन स्मारकसँग सम्वन्धित चिजवस्तु ४ थान पुल्लीक, टाँकजस्तो देखिने विभिन्न आकारको १२ थान र रातो रंगको युँ जस्तो देखिने धातु १ थान बरामद गरेको छ । प्राचिन स्मारकसँग सम्वन्धित चिजवस्तु खन्दै गरेको अवस्थामा पक्राउ परेका व्यक्तिलाई प्राचिन स्मारक संरक्षण ऐन कसूरमा जिल्ला अदालतबाट ५ दिनको म्याद थप अनुमति लिएर हिसासतमा राखेर अनुसन्धान थालिएको प्रहरीले जनाएको छ । महंगो मुल्यमा किनबेच हुने पुल्लिकका लागि जिल्लाका विभिन्न ठाउँमा उत्खनन गर्ने गरिएको छ । विशेषगरी पुराना चिहान खनेर प्राचिन स्मारकसँग सम्वन्धित चिजवस्तु निकाल्ने गरिएको पाइएको छ ।







प्रतिक्रिया