६ पुस २०८२, आइतबार | Sun Dec 21 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


मित्रराष्ट्रसँगको सम्बन्ध थप विस्तार भएको छ : परराष्ट्रमन्त्री   



१३ असार ०७९, काठमाडौं ।  परराष्ट्रमन्त्री डा नारायण खड्काले वर्तमान सरकार गठन भएपछि मित्रराष्ट्रसँगको सम्बन्ध थप विस्तारित भएको बताएका  छन् ।
राष्ट्रियसभाको आजको बैठकमा आगामी आर्थिक वर्षको विनियोजन विधेयकका सम्बन्धमा परराष्ट्र मन्त्रालयका सम्बन्धित शीर्षकमाथि सांसदहरुले उठाउनुभएको प्रश्नको जवाफमा प्रधानमन्त्री शेरबहादुर देउवाको विभिन्न देशको भ्रमण तथा मित्रराष्ट्रका सरकार प्रमुखको नेपाल भ्रमणले सम्बन्ध थप प्रगाढ र विस्तारित भएको बताए ।
द्विपक्षीय भ्रमणको आदानप्रदानले सम्बन्ध थप विस्तारित भएको तथा नेपालको सार्वभौमसत्ता, अखण्डतामा कुनै पनि आँच आउन नदिइएको मन्त्री डा खड्काले स्पष्ट गरे ।
उनले कालापानी, लिपुलेक, लिम्पियाधुरालगायतका नेपाल–भारतका बीचमा नसुल्झिएका सीमा समस्या समाधानका लागि सरकारले निरन्तर प्रयास गरिहेको परराष्ट्रमन्त्रीले जानकारी दिए ।
सीमा क्षेत्रमा निर्माण गरिएका भौतिक पूर्वाधारका कारण नेपाली भूमि डुबानमा पर्ने अवस्थाको अन्त्यका लागिसमेत सरकारले स्पष्ट दृष्टिकोणका साथ भारत सरकारलाई आग्रह गरिसकिएको उनको भनाइ छ ।
कोरोनाका कारण चीनमा अध्ययन गरिरहेका विद्यार्थीलाई सहजरुपमा अध्ययन गर्न जान दिनका लागिसमेत सरकारले कूटनीतिक प्रयास गरेको र त्यसमा सफलता हासिल हुने क्रममा रहेको बताए ।
वैदेशिक रोजगारीलाई थप व्यवस्थित र मर्यादित बनाउन सरकारले प्रयास गरिरहेको परराष्ट्रमन्त्रीले सदनलाई जानकारी दिए ।
यस्तै अफगानिस्तानमा मानवीय सहयोगका लागि पनि सरकारले प्रयास गरेको उनको भनाइ छ । मन्त्रालय र मातहतका निकायबाट प्रवाह हुने सेवालाई प्रभावकारी र जनमैत्री बनाउन पहल गरिरहेको जानकारी पनि उनले दिए ।
राहदानी विभाग र कन्सुलर सेवालाई थप सेवाग्राहीमैत्री बनाइएको र भ्रष्टाचारमा शून्य सहनशीलताको नीति अवलम्बन गरिएको बताए । सरकारले पहिलो पटक प्रा यदुनाथ खनाल प्रवचन शृङ्खला सुरु गरेको जानकारी दिँदै उनले केही दिन पहिले सो शृङ्खलाको पहिलो सत्र सम्पन्न भएको बताए ।

प्रकाशित मिति : १३ असार २०७९, सोमबार  १ : २५ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।