महेश सिंह
२३ भदौं, सिरहा । सिरहाको गोलबजार नगरपालिकामा ९ जना डेंगुका बिरामी फेला परेका छन् । उनीहरूमध्ये स्थानीय मेयर देवनाथ साहकै घरका चार बिरामी छन् । बिरामीको काठमाडौं, धरान र विराटनगरमा उपचार भइरहेको छ । डेंगुको प्रकोप देखिएपछि नगरपालिकाले लामखुट्टे नियन्त्रणका लागि औषधि छर्किन थालेको छ ।
नगरपालिकाका स्वास्थ्य शाखा संयोजक पवन पंजियारका अनुसार वडा नम्बर ४ का ७ जना र वडा ३ का २ जनामा डेंगु संक्रमण देखिएको हो । डेंगु संक्रमण फैलिन नदिन औषधि छर्ने र बच्नेबारे प्रचार प्रसार थालिसकेको उनले जानकारी गराए । ‘लामखुट्टे नियन्त्रण अभियान चलाउने क्रममा औषधि छर्ने काम हुन सकेको थिएन,’ मेयर साहले भने, ‘डेंगु सक्रमित देखिएपछि तत्कालै स्वास्थ्य शाखालाई नियन्त्रण गर्ने योजना बनाउन निर्देशन गरेको छु।’ नगरको सम्वेदनशील क्षेत्रमा ‘फोबिङ्ग’ ९ औषधी छर्ने र डेँगुबाट बच्ने सन्देशमूलक सूचना सम्पे्रषण सुरु भइसकेको उनले बताए । डेँगु रोगका लामखुट्टे सफा र स्थिर पानीमा बस्ने भएकोले त्यस्ता ठाउँहरूलाई पहिचान गरी नष्ट गर्नुपर्ने स्वास्थ्य संयोजक पंजियारले बताए । घर वरपर फालिएको खाली बोतल, गाडी तथा मोटरसाइकलका टायर, कुलर, गमला जस्ता ठाउँहरूमा पानी जम्न नदिन आग्रह गरिएको उनले बताए ।
प्रतिक्रिया