६ पुस २०८२, आइतबार | Mon Dec 22 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

समाचार


डेंगु परीक्षणको शुल्कमा एकरूपता कायम गरिने



२२ भदौं ०७९, काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले डेंगु परीक्षणको शुल्कमा एक रूपता कायम गर्ने भएको छ । सरकारी र निजी दुवै खालका स्वास्थ्य प्रयोगशालाले न्यूनतम चार सयदेखि तीन हजार चार सय रुपियाँसम्म लिने गरेका थिए ।

डेंगु परीक्षण गर्ने किट विभिन्न दातृ निकायले निःशुल्क दिने गरेको भएपनि सरकार मातहतकै निकायले महँगो शुल्क लिने गरेको पाएपछि मन्त्रालयले एकरुपता कायम गर्ने तयारी गरेको हो ।  तीन दिनदेखि एक साताभित्रमा डेंगुको शुल्क निर्धारण गर्ने मन्त्रालयको तयारी छ ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा समेत डेंगु परीक्षण शुल्क आठ सय रुपियाँ तोकेको छ । शहीद शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल र वीर अस्पतालले भने पाँच सय रुपियाँमा नै डेंगु परीक्षण गराउने गरेका छन् ।

त्रिवि शिक्षण अस्पतालले डेंगु परीक्षणको शुल्क ९ सय ६० रुपियाँ लिने गरेको छ । प्राइभेट क्लिनिकको हकमा एक हजार दुई सय लिने गरेको छ ।  यस्तै निजामती अस्पतालमा आठ सय, पाटन अस्पतालमा एक हजार पाँच सय, भक्तपुर अस्पतालमा ७५० र छ सय, वीर र टेकुले पाँच सय रुपियाँ लिने गरेका छन् । निजी प्रयोगशालातर्फ भने मनलागी शुल्क रहेको छ ।

देशभर ७७ मध्ये ७२ जिल्लामा डेंगु संक्रमण फैलिएको छ । २०६८ पुसयता हालसम्म देशभर ६ हजार २ सय ७ जनामा संक्रमण पुष्टि भइसकेको छ । सरकारको तथ्यांकअनुसार देशभर डेंगुबाट संक्रमित तीन जनाको मृत्यु भएको छ । हालसम्म बाग्मती, लुम्बिनी र प्रदेश १ मा डेंगु संक्रमण सबैभन्दा बढी देखिएको छ ।

प्रकाशित मिति : २२ भाद्र २०७९, बुधबार  २ : २८ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।