
२३ कात्तिक ०७९, काठमाडौं ।उडिरहेको विमानको ककपिटमा नियमनकारी निकायको अनुमति नलिई भिडियो अन्तर्वार्ता दिएको अभियोगमा नेपाल वायुसेवा निगमले पाइलट विजय लामालाई उडानमा रोक (ग्राउन्डेड) लगाएको छ ।
वायुसेवा तथा उड्डयनकर्मीहरूको नियमनकारी निकाय नागरिक उड्डयन प्राधिकरणअन्तर्गत सिनामंगलमा रहेको फ्लाइट सेफ्टी स्ट्यान्डर्ड विभागको निर्देशनअनुसार निगमको अपरेसन विभागले पाइलट लामालाई आइतबारदेखि ग्राउन्डेड गरेको हो । विभागले लामालाई ग्राउन्डेड गरेको जानकारी बबरमहलमा रहेको प्राधिकरण र सिनामंगलमा रहेको विभागलाई पनि गराएको प्राधिकरणले जनाएको छ ।
‘उडान सञ्चालन नियमविपरीत उडिरहेको विमानमा भिडियोग्राफी गरेको उजुरीका आधारमा पाइलट लामालाई ग्राउन्डेड गरिएको हो,’ निगमको अपरेसन विभागले जारी गरेको कारबाहीपत्रमा लेखिएको छ । ५८ वर्ष उमेरहदले अवकास पाई हाल करार सेवामा निगमको वाइडबडी विमान उडाउँदै आइरहेका लामालाई दुई दिनभित्र लिखित स्पष्टीकरण बुझाउन भनिएको निगमका एक निर्देशकले बताए । उडिरहेको विमानको ककपिटमा भिडियो वा फोटोग्राफी गर्नुपूर्व महानिर्देशकबाट अनुमति लिनुपर्ने प्राधिकरणको नियममा छ ।







प्रतिक्रिया