गोली लागेका पञ्च घले घाइते भएमा उपचार गर्न मिल्छ भनेर अमृतले चौकीसम्म बोकेर ल्याएको र घटनामा आफूले बोकेको बन्दुकको गोली लाग्न पुगेको स्वीकार गरेका छन्
१० बैशाख । नुवाकोटमा शिकार खेल्न जाँदा साथीले बोकेको बन्दुक पड्कदा एक युवकको मृत्यु भएको छ । प्रहरीका अनुसार नुवाकोटको म्यागङ गाउँपालिका ४ किम्ताङको जङ्गलमा सिकार गर्न गएका पञ्च घलेको मृत्यु भएको हो । शनिबार राति जङ्गलमा सिकार गर्न गएका ३० वर्षीय घलेको सोही स्थानका अमृत तामाङले बोकेका भरुवा बन्दुक पड्केर गोली लाग्दा मृत्यु भएको बताइएको छ ।
जिल्ला प्रहरी कार्यालय नुवाकोटका प्रवक्ता प्रहरी नायब उपरीक्षक खगेन्द्रबहादुर खड्काका अनुसार किम्ताङको जङ्गलमा अमृतले बोकेको बन्दुक उनी लड्ने क्रममा पड्कँदा उनको पछाडि रहेका घलेको छातीमा गोली लागी मृत्यु भएको हो ।
उनले घटनापछि शव र बन्दुक बोकेर अमृत तामाङ तीन घण्टाको पैदल दूरीमा रहेको प्रहरी चौकी किम्ताङमा आज बिहान आइपुगेका हुन् । “साथी–साथी एकापसमा मिलेर भरुवा जङ्गलमा सिकार गर्न गएको समयमा अमृतले बोकेको बन्दुक पड्कँदा पञ्चको मृत्यु भएको प्रारम्भिक अनुसन्धानमा देखिएको छ”, प्रहरी नायब उपरीक्षक खड्काले भने , “गोली लागेका पञ्च घले घाइते भएमा उपचार गर्न मिल्छ भनेर अमृतले चौकीसम्म बोकेर ल्याएको र घटनामा आफूले बोकेको बन्दुकको गोली लाग्न पुगेको स्वीकार गरेका छन् ।”
घटनामा संलग्न रहेका अमृतलाई ज्यानसम्बन्धी कसुर (हत्या) र हातहतियार तथा खरखजानासम्बन्धीको अभियोगमा कारबाही गर्ने नुवाकोट प्रहरीले जनाएको छ ।







प्रतिक्रिया