१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

समाचार


‘हामी फेरि आन्दोलनमा जुटेका छौं’


१९ जेष्ठ २०७६, आइतबार  

0
Shares


१९ जेठ ०७६,काठमाडौं । थरुहट थारुवान राष्ट्रिय सम्मेलन तयारी समितिले शान्तिपूर्ण थरुहट आन्दोलनका क्रममा टीकापुर घट्नापश्चात षड्यन्त्रपूर्वक विभिन्न अभियोगमा झुठा मुद्दा लगाई फसाँईएका थरुहट राजबन्दीहरुलाई सरकारले मुद्दा फिर्ता, खारेजी तथा आममाफी गरी बन्दीहरुलाई निःशर्त रिहाई गर्नुपर्ने माग गरेको छ ।
समितिले आइतबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै यस्तो माग गरेको हो । समितिले टीकापुर घट्नाबारे सत्य, तथ्य छानबिन गर्नका लागि तात्कालिन नेपाल सरकारले पूर्व न्यायाधीश गिरिश चन्द्र लाल दास नेतृत्वको न्यायिक समिति, सर्वदलीय संसदीय समिति र राष्ट्रिय मानवअधिकार आयोगको प्रतिवेदनहरु तुरुन्त सार्वजनिक गर्नुपर्ने पनि माग राखेको छ ।
कार्यक्रममा थरुहट नेता लक्ष्मण थारुले आफू ४२ महिना लामो जेल जीवनपछि पहिलोपटक मिडियामा आएको सुनाउँदै आफूहरु फेरि मर्न तयार भएर शान्तिपूर्ण आन्दोलनमा जुटेको बताए ।
उनले भने,‘हामीलाई झुठा मुद्दा लगाएर ४२ महिनासम्म जेल राखियो, अझैपनि हाम्रा धेरै साथीहरु जेलमै छन् । अब हामी फेरि मर्न तयार भएर शान्तिपूर्ण आन्दोलनमा जुटेका छौं ।’ उनले आफूहरुले न्याय र अधिकार नपाएको गुनासो पोखे । उनले भने,‘हामीलाई राज्यबाट जहिलेपनि हेप्ने काम भयो । सरकारले भ्रष्टाचारीलाई कारबाही गर्दैन्, तर झुठा मुद्दा लगाएर यो देशका २५ लाख थारुहरुलाई तर्साउने काम गरेको छ ।’
उनले आफूहरुको घर, पसलमा आगो लगाईएको र उल्टै राज्यबाट झुठा मुद्दा खेप्नु परेको पीडा पनि पोखे । त्यस्तै, उनले टीकापुर घट्नाबारे लाल आयोगको प्रतिवेदन तुरुन्त सार्वजनिक गर्न माग गरे । उनले आफूहरुले कुनैपनि हालतमा ७ वटा प्रदेश नमान्ने घोषणा गरे । उनले थपे,‘अखण्ड सुदुर पश्चिम माग्नेले त्यही पाए, मधेश प्रदेश माग्नेले पनि पाए, किराँतहरुले पाउँदैछन्, हामी थारुहरुले किन नपाउने ?’ आगामी भदौ ७ गतेबाट देशभरिका पाँच लाख थारुहरु उतारेर सम्मेलन गर्ने पनि थारुको भनाई छ ।
कार्यक्रममा थरुहट थारुवान राष्ट्रिय सम्मेलन तयारी समितिका संयोजक मिनराज चौधरीले नेपालमा रहेका सबै क्षेत्रका वर्ग, समूदायका मागहरु पूरा गर्नुपर्नेमा जोड दिए । उनले आफूहरुले उठाएका जायज मागहरु समयमै सम्बोधन गर्नुपर्ने पनि माग गरे ।
त्यस्तै, समितिले थरुहट आन्दोनलको क्रममा दुःखद् टीकापुर घट्नापश्चात् २०७२ भदौ ८ गते निशेधाज्ञा कफ्यू लागेकै समय थारुहरुको घर, पसल तथा व्यवसायिक केन्द्रहरुमा गरिएको आगजनी, लुटपाट, डाँकाचोरी गर्ने तथा संलग्न अपराधीहरुलाई तुरुन्त पक्राउ गरि कानूनबमोजिम कडाभन्दा कडा कारबाही गर्नुपर्नेपनि माग गरेको छ ।
समितिले अघि सारेका मागहरुमा थुरुहट संयुक्त संघर्ष समिति र नेपाल सरकारबीच मिति २०६५ चैत्र १ गते भएको ६ बुँदे सम्झौता र थारु संयुक्त संघर्ष समितिबीच मिति २०८९ जेष्ठ १० गते गरिएको १० बुँदे सम्झौताको अक्षरशः अविलम्ब कार्यान्वयन गर्नुपर्ने, विशुद्ध संविधानको अन्तरवस्तुमा पहिचानसहितको नामाङक, सीमांकन एवम् अधिकारका लागि संघर्ष समितिको १३ बुँदे माग मुद्दाहरु अविलम्ब पूरा गर्नुपर्ने, संघीय निजामति कर्मचारी विद्येयक संशोधन गर्नुपर्ने, लोकसेवाको विज्ञापन संविधानको मूल मर्म भावना विपरित भएको हुनाले क्लष्टर अनुसार जातिय जनसंख्याको आधारमा अनुपात मिलाई समावेश आरक्षणको कोटा सुनिश्चितता गर्नुपर्ने, आदिवासी थारु समूदायको राष्ट्रिय पर्व ‘माघ’ (माघे संक्रान्तिं लगायत आदिवासी जनजातिका ल्होसार उभौली, उद्यौली आदि लगायत राष्ट्रिय सांस्कृतिक पर्वहरुमा राष्ट्रिय रुपमा सार्वजनिक विदा गरिनुपर्ने र राना थारुहरुको छुट्टै भेष भुषा, संस्कार, संस्कृति एवं पहिचान रहेको हुनाले आदिवासीको रुपमा छुट्टै सुचिकृत गरिनुपर्ने रहेका छन् ।
आफूहरुले अघि सारेको माग पूरा नभए चरणवद्ध रुपमा संघर्षमा उत्रिनेपनि समितिले घोषणा गरेको छ । समितिले आगामी साउन २० गतेसम्म केन्द्र, प्रदेश, जिल्ला, क्षेत्र, नगर, गाउा वडासम्म तयारी समिति तथा आन्दोलनका लागि विभिन्न उपसमितिहरु गठन तथा पुःनगठन गरि सोको विस्तृत विवरण केन्द्रीय तयारी समितिमा पठाई सक्नुपर्ने, प्रचारात्मक अभियान (पत्रकार सम्मेलन, अपिल, पोष्टर, पर्चा, भित्तेलेखन, माईकिङ, तुल, ब्यानर, साईनबोर्ड, झुण्ड्याउने, राख्ने, विभिन्न मिडियाहरुमा लेख रचना, अन्तर्वार्ता) निरन्तरता दिने, प्रतिनिधि तथा प्रदेश सभामा थारु सांसदहरुबाट माग मुद्दा सम्बोधनका लागि सरकारको ध्यानाकर्षण गराउँदै संसदमा बोल्न दबाब सृजना गर्ने,, २०७६ भदौ ७ गते बृहत राष्ट्रिय भेला टिकापुर कैलालीमा थरुहट थारुवान राष्ट्रिय सम्मेलन भव्य रुपमा गर्ने, २०७६ असोज ३ गते थारु, थरुहट, आदिवासी जनजाति, मधेशी, मुस्लिम विरोधी संविधानमा रहेका व्यवस्थाका धाराहरु जलाउने एवम् कालो दिनको रुपमा विरोध गर्दै देशव्यापी सशक्त मनाउने र २०७६ असोज ३ गते थरुहट युथ फोर्सको राष्ट्रिय सम्मेलन गर्ने रहेका छन् ।
समितिले समग्र आन्दोलनको समिक्षा एवम् विश्लेषण गरि आगामी संघर्षको बाटो तय गर्नको लागि देशै भरिका थरुहट नेता, अभियन्ता, पत्रकार, पेशाकर्मी, महिला, युवा, विद्यार्थी, संघ संस्थाको प्रतिनिधिहरुको सक्रिया सहभागितामा यही जेठ १८ गते काठमाडौंमा ‘थरुहट थारुवान राष्ट्रिय सम्मेलन तयारी समितिको’ भेला पनि सम्पन्न गरेको जानकारी दिएको छ । समितिले जारी गरेको विज्ञप्तीमामार्फत सरकारले आफूहरुको माग मुद्दाहरु हालसम्म पनि सम्बोधन नगरेको हुनाले थरुहट आन्दोलनलाई निरन्तरता दिँदै भावी संघर्षका कार्यक्रमहरु तय गर्नको लागि कैलालीको टिकापुरमा थरुहट थारुवान राष्ट्रिय सम्मेलन गर्ने निर्णय गरेको समितिका संयोजक मिनराज चौधरीले जानकारी दिए ।

प्रकाशित मिति : १९ जेष्ठ २०७६, आइतबार  १० : ३७ बजे