५ जेष्ठ २०८१, शनिबार | Sun May 19 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


सिराहामा भैंसी उपहार विवाद चर्कियो


१४ असार २०७६, शनिबार  

0
Shares

महेश सिंह महतो
१४ अषाढ ०७६, लाहान । प्रदेश २ सरकारले मधेस आन्दोलनका सहिद परिवार तथा घाइतेको लागि ‘भैंसी उपहार योजना’ का नाममा वितरण गर्दै आएको उन्नत जातको भैंसी पार्टीका कार्यकर्तालाई बाँडेको आरोप लाहानका स्थानीय युवाहरुले लगाएका छन् । भैंसी विवादले गर्दा शुक्रबार बेलुका स्थानीय युवाले सहिद पार्कमा कोणसभा गरि आन्दोलनको घोषणा गरेका छन् । उक्त कोणसभामा युवाहरूले प्रदेश २ का भूमि व्यवस्था तथा कृषि एवं सहकारी मन्त्री शैलेन्द्रप्रसाद साह बिरुद्ध चर्को नारावाजी गरे भने पुत्ला जलाउदा प्रहरीले हस्तक्षेप गरेको थियो ।
कोणसभालाई सम्बोधन गर्ने क्रममा युवा मन्च सिरहाका सचिव गोपाल रौनियारले भने,‘भैंसी उपहार हात पार्नेमा पहुँचवालाको हालीमुहाली भएको देखियो । वास्तविक सहिद तथा घाइतेका परिवार भने ट्वाल्ल परेर हेरिरहे । प्रेस मञ्चका केन्द्रिय सचिव बिरेन्द्र बिरु यादवले बाडिएको भैंसी फिर्ता गरि पुनः वास्तविक सहिद र घाईतेलाई पहिचान गरि नदिए अझ कडा आन्दोलन गर्ने वताए । युवा नेता मनोज यादवले प्रदेश सरकारको नियत ठिक नभएकोले आफ्नै पार्टीको नेता तथा कार्यकर्ताहरुलाई भैंसी बाडेको आरोप लगाए ।
बिहीबार लहानको पशुपति आदर्श माविको प्रांगणमा प्रदेश २ का भूमि व्यवस्था तथा कृषि एवं सहकारी मन्त्री शैलेन्द्रप्रसाद साहले वितरण गरेको उन्नत जातको भैंसी उपहार पाउनेमा पूर्वमन्त्री एवं समाजवादी पार्टीका नेता राजलाल यादव, उनका ज्वाइँ शिक्षक रमेश यादवलगायत रहेका थिए । पूर्वमन्त्री यादवले पहिलो मधेस आन्दोलनका पहिलो सहिद रमेश महतोको परिवारसँगै भैंसी लिएर भगवानपुर गाउँपालिकाको इनर्वा टोलमा रहेको आफ्नो घरमा पुर्याएका थिए । उपहार वितरणस्थलमा मन्त्री साह आउन ढिला भएपछि उनी र सहिद रमेशको परिवारले भैंसी छानेर घर लगेको बताइएको छ ।
भैंसी उपहार पाउनेमा समाजवादी पार्टीका नेता प्रयागलाल यादव पनि छन् । तेस्रो मधेस आन्दोलनका क्रममा सुरक्षकर्मीको प्रहारबाट घाइते भएको प्रमाणका आधारमा आफूले भैंसी पाएको उनले स्पष्ट पारे । उनका अनुसार सिरहामा तीनजना सहिद परिवार र १३ जना घाइते गरी १६ जनाले प्रदेश सरकारबाट उपहारस्वरूप भैंसी प्राप्त गरेका छन् । पहिलो मधेस आन्दोलनमा (२०६३ साल) सिरहामा पाँचजनाले ‘सहादत’ प्राप्त गरेको थिए । जसमध्ये रमेश महतो, प्रमोद सदाय र बेचन यादवका परिवारले बिहीबार भैंसी उपहार पाएका छन् । बाँकी मोहम्मद अनिश र विजय सहनीका परिवारले भने उपहार पाएनन् । प्रदेश सरकारले आह्वान गरेको दरखास्त नभरेकै कारण उहाँहरू उपहारबाट वञ्चित भएको मन्त्री साहले वताए । उनले भने, ‘अर्को आर्थिक वर्षमा दरखास्त भर्न लगाएर भैंसी दिन्छौं।’

लक्षित समूह वन्चित, पहुँचवालाकै हालीमुहाली
राष्ट्रिय जनता पार्टी (राजपा) का युवानेता विजय यादवले प्रदेश सरकारले ल्याएको भैंसी उपहार योजनाबाट सहिद परिवार नै वञ्चित हुनु विडम्बना भएको प्रतिक्रिया दिए । सहिद परिवारलाई सरकारी सुविधाबाट वञ्चित गरेर पहुँचवालाहरू लाभ लिन तँछाडमछाड गर्नु दुर्भाग्य भएको भन्दै उनले त्यसप्रति विरोध जनाए । उनले सहिद परिवारलाई लाभबाट वञ्चित गराएर पहुँचवालालाई वितरण गर्नु बेइमानी भएको भन्दै कार्यक्रम आयोजनास्थलमै मन्त्री साहप्रति आक्रोश पोखेका थिए । मन्त्री साहले प्रक्रिया पूरा नभएकाले केही सहिद परिवार लाभ लिनबाट छुट्न पुगेको र अर्को चरणमा समेट्ने प्रतिबद्धता व्यक्त गर्दै आक्रोशित यादवलाई थामथुम पारेका थिए ।

पहिलो, दोस्रो र तेस्रो मधेस आन्दोलनमा लहानबाट नेतृत्व गरेका कृष्णबहादुर यादवले मधेस आन्दोलनका क्रममा घाइते भएका धेरैलाई प्रदेश सरकारको भैंसी उपहार योजनाबाट वञ्चित गराएर पहुँच भएका र आफन्तजनलाई मात्र समेटेको भन्दै गुनासो व्यक्त गरे । मधेस आन्दोलनका नायकको पहिचानसमेत पाएका यादवले तेस्रो मधेस आन्दोलनका क्रममा घाइते भएपछि उपचारमा ५५ हजार रुपैयाँ व्यक्तिगत खर्च भएको तर कहींकतैबाट एक रुपैयाँ सहयोग नपाएको भन्दै असन्तुष्टि प्रकट गर े। ‘पहुँच हुनेहरूले आन्दोलनका घाइतेका नाममा संघर्ष समिति र सरकार दुवैतिरबाट लाभ लिए तर वास्तविक घाइतेहरू छुटे ।’ कार्यक्रमअन्तर्गत वितरण गरिएका भैंसी तीन वर्षसम्म बेच्न नपाइने व्यवस्था छ ।

यस वर्ष प्रक्रियामा छुट भएकालाई अर्को वर्ष भैंसी वितरण गरिने मन्त्री साहले जानकारी दिएका छन् । ‘हामीले चाहेर पनि सहिद र घाइते परिवारका लागि धेरै काम गर्न सकिरहेका छैनौं,’ उनले भने, ‘तर संघीयता प्राप्तिमा प्राण आहूति दिने सहिद परिवार र आफ्नो जीवनको पर्वाह नगरी आन्दोलनमा होमिँदा घाइते भएकाहरूको परिवारलाई सक्दो सहयोग गर्न प्रदेश सरकार प्रतिबद्ध छ ।’ मधेस आन्दोलनका सहिद परिवारलाई प्रदेश सरकारको पहिलो मन्त्रिपरिषद्को निर्णयबाट एक परिवार एक रोजगारका सन्दर्भमा हरेक सहिद परिवारलाई नियुक्तिपत्र दिइसकिएको र व्यवस्थापन पक्ष मिलाउने क्रममा रहेको मन्त्री साहले जानकारी दिए । प्रदेश सरकारले मधेस आन्दोलनका घाइते परिवारलाई क्रमिक रूपले आर्थिक सहयोग उपलब्ध गराइरहेको जानकारी दिए ।

प्रकाशित मिति : १४ असार २०७६, शनिबार  ११ : ०१ बजे