६ कार्तिक २०८१, मंगलबार | Wed Oct 23 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

समाचार


जोशीले १२५ घण्टा पढेर गिनिज बुकमा नाम लेखाउने


११ श्रावण २०७६, शनिबार  

0
Shares


११ साउन ०७६, काठमाडौं । बझाङको जयपृथ्वी नगरपालिका वडा नम्बर–८ जोशीगाउँ स्थायी घर भई हाल काठमाडौंमा बस्दै आएका मुकेशराज जोशीले प्रतिष्ठित तथा सफल व्यक्तित्व र विभिन्न ईतिहासका किताबहरु लगातार १२५ घण्टासम्म पढेर ‘गिनिज बुक अफ वल्र्ड’मा नाम लेखाउने तयारी पूरा गरेको जानकारी दिउका छन् ।
शनिबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरेर सो बारेमा जानकारी गराईएको हो । जोशीले रेकर्डका लागि स्विकृति पाईसकेका छन् । उनले आगामी भदौ २३ गतेबाट पढ्न सुरु गर्नेछन् ।
अहिलेसम्म यो रेकर्ड नेपालकै दीपक शर्मा बजगाँईको नाममा कायम छ । बजगाँईले सन् २००८ मा लगातार ११३ घण्टा १५ मिनेट पढेर रेकर्ड राखेका थिए ।
जोशीको यो कार्यक्रमको आयोजकको रुपमा गिनिज ईभेन्ट्स नेपालले गर्नेछ भने सह–आयोजकको भूमिकामा गोल्डेन आइ डान्स सेन्टर रहनेछ । त्यस्तै, कार्यक्रम सफलताको लागि विभिन्न देशमा छरिएर रहेका नेपालीहरुबाट हौसलास्वरुप केही रकमपनि प्राप्त भैसकेको आयोजकले जनाएको छ । यो बीचमा उनले नेपाल सरकारका विभिन्न मन्त्री तथा सांसदहरुलाई पनि भेटिसकेका छन् । र, उनीहरुले पनि जोशीलाई आवश्यक सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् ।
कार्यक्रममा पूर्वमन्त्री तथा नेकपाका केन्द्रिय भानुभक्त जोशीले आफू उक्त किर्तीमानी कायम गर्नको लागि जोशीलाई जस्तोसुकै सहयोग गर्नपनि तयार रहेको विश्वास दिलाए । जोशीले किर्तीमानी राखेपछि बझाङको नाम विश्वसामू चिनिने भएकोले आफूहरुले यो कार्यक्रमलाई विशेष महत्व दिएको पनि उनको भनाई छ ।
त्यस्तै, रिपोर्टर्स क्लब नेपालका सभापति एवम् प्राईम टाईम्स टेलिभिजनका अध्यक्ष ऋषि धमलाले जोशीले उक्त किर्तीमानी कायम गर्नेमा आफू विश्वस्त रहेको सुनाए । उनले भने,‘उहाँको तयारी पनि राम्रो रहेको छ भन्ने कुरा मैले आयोजकबाट सुनेको छु । त्यसैले यो विद्यामा उहाँले किर्तीमानी कायम गर्नुहुन्छ । मैले यसअघि पनि यही मञ्चबाट गिनिज ईभेन्टस् नेपालबाट घोषित कार्यक्रमको पूर्वसन्ध्यामा किर्तीमानी कायम हुन्छ भनेर घोषणा गरेको थिएँ, र पछि ती सबै कार्यक्रमहरु सफल भए । अहिले पनि म जोशीले यो किर्तीमानी कायम गर्नुहुन्छ भनेर विश्वास दिलाउन चाहन्छु ।’
आफूले जोशीलाई यो कार्यक्रम सफल तुल्याउनको लागि मिडियामार्फत सकारात्मक सहयोग र सद्भाव पु¥याउने पनि धमलाले वचनबद्धता जनाए ।
कार्यक्रममा अनेरास्ववियुका केन्द्रिय अध्यक्ष ऐन महरले उक्त विद्या विद्यार्थी वर्गसँग सम्बन्धित भएकोले जोशीलाई सबै विद्यार्थी वर्गबाट आवश्यक सहयोग हुने विश्वास दिलाए । उनले भने,‘हामी सबै विद्यार्थी संगठनको तर्फबाट उहाँलाई यो कार्यक्रम सफल बनाउनको लागि सक्दो सहयोग गर्न तयार छौं । यो त हाम्रो लागि पनि गौरवको विषय हो ।’
कार्यक्रममा चर्चित कलाकार कमल गाउँलेले जोशीलाई सिँगो कलाकारिता क्षेत्रबाट सक्दो सहयोग हुने विश्वास दिलाए । जोशीलाई उक्त कार्यक्रम सफल तुल्याउनको लागि जोशी कार्यरत रोयल क्यासिनो नेपालले पनि सक्दो सहयोग गर्ने जनाएको छ ।
परशुराम जोशी र जालदेवी जोशीको कोखबाट वि.सं. २०५४ सालमा जन्मिएका जोशीको सानैदेखि विभिन्न किताबहरु पढिरहने बानी थियो । उनले जारी गरेको प्रेस विज्ञप्तीमा भनिएको छ,‘सानैदेखि किताबहरु पढ्ने बानी थियो, त्यसैले अहिले आएर यो विद्यामा रेकर्ड राख्ने आँट गरेको छु । यसमा तपाईहरुको साथ जोडदार रहन्छ भन्ने पनि मैले विश्वास लिएको छु ।’
युवापुस्तामा विदेश मोह बढिरहँदा नेपालमै केही सिर्जनशील बनौं भन्ने आफ्नो उद्देश्य रहेको पनि उनले सुनाएका छन् । उनले भनेका छन्,‘यसमा म उत्साहित पनि छु । नेपाललाई विश्वसामू चिनाउने यो मेरो अभियानमा मलाई आवश्यक सल्लाह तथा हौसलाको तपाईहरुबाट अपेक्षा गरेको छु।’ जोशी हाल काठमाडौंस्थित याक एण्ड यति होटलमा सञ्चालनमा रहेको ‘रोयल क्यासिनो’ मा कार्यरत छन् ।
गिनिज ईभेन्टस् नेपालका अध्यक्ष सन्तोष लामाले आफूहरुले यसअघिका सबै गिनिज बुक अफ वल्र्ड रेकर्डसम्बन्धीका कार्यक्रमहरु सफलताका साथ सम्पन्न गरिसकेकोले जोशीको उक्त कार्यक्रमपनि सफल हुने दाबी गरे ।
जोशीद्वारा जारी प्रेस विज्ञप्तीको वाचन भने गिनिज ईभेन्टस् नेपालका प्रबन्धक हरिचन्द्र लामाले गरेका थिए । आजको पत्रकार सम्मेलनको सञ्चालन भने अन्तर्राष्ट्रिय कराँते रेफ्री, जुम्बा ईन्स्ट्रक्टर सिर्जना अधिकारीले गरेकी थिईन् । अधिकारी गिनिज ईभेन्ट्स नेपालकी सदस्य पनि हुन् ।

प्रकाशित मिति : ११ श्रावण २०७६, शनिबार  ९ : ४२ बजे