
२७ साउन ०७६, काठमाडौं । भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले नेपालको आर्थिक वृद्धिमा डेढ सय देशहरुलाई पछाडि पार्दै अगाडि बढेको दाबी गरेका छन् ।
रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै उनले भने,‘आर्थिक समृद्धिमा हामी विश्वका १७० देशलाई पछि पार्दै टप पोजिशनमा आएका छौैं । आज हामी अन्तर्राष्ट्रिय पत्रपत्रिकाका हेरौं, विकासित देशहरुले यो डेढ वर्षभित्रमा जति राम्रो गरिरहेका छन्, त्यसको टप स्थानमा आज नेपाल पुगेको छ ।’
मन्त्री महासेठले भौतिक पूर्वाधारलगायतका विकास निर्माणका काम पनि रेकर्ड नै ब्रेक गर्ने गरि काम भएको सुनाए । उनले भने,‘प्रधानमन्त्री केपी शर्मा ओलीको निर्देशनअनुसार नै मैले काम गरिरहेको छु । हामी दश वर्षभित्र १५ हजार किलोमिटर नयाँ सडक बनाउँछौं । त्यस्तै २८ सय किलोमिटरको रेलमार्गले जोड्छौं ।’
उनले विद्युतीय रेलमार्ग निर्माणको कामपनि धमाधम भैरहेको बताए । उनले भने,‘पूर्व–पश्चिम विद्युतीय रेलमार्गको काम हामी तीन वर्षभित्र सम्पन्न गरिसक्छौं । अहिले डिपिआर त सम्पन्न नै भैसकेको छ । हामीले रेलमार्गको निर्माणमा पनि फड्को मारेका छौं ।’ मन्त्री महासेठले सडकको अवस्थामा पनि धेरै राम्रो काम भैरहेको सुनाए ।
उनले काठमाडौंको बाटो, घाटो, धुलोलगायतका अवस्थामा पनि पहिलेभन्दा अहिले सुधार आएको दाबी गरे । उनले थपे,‘कलंकी–नागढुंगा सडक, चावहिल–साँखु सडकका कारण हामी आलोचनाको शिकार भयौं । तर, अब हामी द्रुत गतिमा काम गरिरहेका छौं । खानेपानीको कारण सडक बनाउन अप्ठ्यारो भएको थियो । तर, हामीले अहिले खानेपानीको कामपनि आफैं गर्नेगरि बोलपत्र आह्वान गर्न लागेका छौं । यो आर्थिक मसान्तभित्रै सबै काम सम्पन्न गरिसक्छौं ।’
प्रतिक्रिया