काठमाडाैं ।
उच्च अदालत पाटन हेटौंडा इजलासले पत्रकार शालिकराम पुडासैनीको आत्महत्या प्रकरणमा धरौटीमा रिहा भएका कार्यक्रम प्रस्तोता रवि लामिछानेसहितको विषयमा भदौ २६ गते सुनुवाई हुुने जनाएको छ ।
पत्रकार शालिकराम पुडासैनीको आत्महत्या प्रकरणमा चितवन जिल्ला अदालतबाट धरौटीमा रिहा भएका लामिछने, पत्रकार युवराज कँडेल र अस्मिता भन्ने रुकु कार्कीलाई पुर्पक्षका लागि थुनामा राख्न माग गर्दे सरकारी वकिलको कार्यालयले सोमबार उच्च अदालतमा रिट दायर गरेको थियो ।
उक्त रिट माथि मंगलबार भएको सुनुवाइमा न्यायाधीश टेकराज नेपालको एकल इजलासले रविसमेतको निवेदन, सरकारी वकिल कार्यालयको निवेदन र चितवन जिल्ला अदालतले पठाएको प्रतिवेन साथ राखी पेश गर्न आदेश दिएको प्रवक्ता अमृत घिमिरेले जानकारी दिए । यो विषयमा भदौ २६ गते सुनुवाई हुने उनले बताए ।
यसअघि लामिछाने र कँडेलले चितवन जिल्ला अदालतले दिएको आदेश बदरको माग गर्दै उच्च अदालत पाटनको हेटौंडा इजलासमा निवेदन दिएका थिए ।
पत्रकार शालिकराम पुडासैनीको आत्महत्याको लागि दुरुत्साहन गरेको अभियोगमा जिल्ला अदालतले लामिछानेलाई ५ लाख र कँडेललाई ३ लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको थियो । अदालतको उक्त आदेश बेरीतको रहेको भन्दै बदरको माग लिएर लामिछाने र कँडेल उच्च अदालत पाटनको हेटौंडा इजलास पुगेका थिए ।
लामिछाने र कँडेलको निवेदनमा भएको सुनुवाइमा जिल्ला अदालत चितवनसँग भएको मुद्दासँग सम्वन्धित सक्कल मिसिल कागजात मगाउन उच्च अदालत पाटन हेटौंडा इजलासले भदौ १८ गते निर्देशन दिएको थियो ।
उच्च अदालत पाटन हेटौंडा इजलासका न्यायाधीश टेकराज नेपालकै एकल इजलासले चितवन जिल्ला अदालतबाट सम्पूर्ण विवरण खुलाई आदेशसँग सम्वन्धित सक्कल मिसिल कागजात समेत साथै राखी प्रतिवेदन माग्नु भन्ने आदेश दिएका थिए । चितवन जिल्ला अदालतबाट सबै कागजात र प्रतिवेदन आइसकेको प्रवक्ता घिमिरेले जानकारी दिए ।
प्रतिक्रिया